कर्णालीमा राष्ट्रियस्तरको क्रिकेट हुने

कर्णालीमा राष्ट्रियस्तरको क्रिकेट हुने
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी वैशाखमा गर्न लागिएको राष्ट्रियस्तरको क्रिकेट खेलबारे जानकारी दिँदै कर्णाली क्रिकेट एकेडेमीका पदाधिकारी । तस्बिर : शुरबहादुर सिंह/रासस

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २०, २०७५

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रियस्तरको क्रिकेट खेल हुने भएको छ । 

कर्णाली क्रिकेट एकेडेमीले आज यहाँ पत्रकार सम्मेलनमार्फत्  आगामी वैशाख १२–२१ गतेसम्म कर्णाली प्रिमियर लिग दोस्रो संस्करणको टी–ट्वान्टी राष्ट्रिय प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । यस वर्ष प्रदेशस्तरमै सर्वाधिक धनराशीको क्रिकेट खेल प्रतियोगिता गरिने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिनुभयो । 

‘वीरेन्द्रनगरस्थित रंगशाला खेलको आयोजना हुनेछ,’ अध्यक्ष शाहीले भन्नुभयो, ‘प्रतियोगितामा देशका आठ प्रतिष्ठित क्लबको सहभागिता रहनेछ ।’ खासगरी कर्णाली प्रदेशलाई राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनाउन, राष्ट्रिय खेलाडी उत्पादन गर्न, एकेडेमी तथा कर्णाली प्रिमियर लिगको संस्थागतका साथै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले खेलको आयोजना गरिएको उहाँले बताउनुभयो । 

सो प्रतियोगिताका लागि ६० लाख रूपैयाँ बजेट तर्जुमा गरिएको प्रतियोगिताका संयोजक रेशमबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक टिममा दुईजना विदेशी खेलाडी सहभागी गराउन पाइनेछ । खेलमा अफिसियलसहित १५० खेलाडीको सहभागिता हुने आयोजकले जनाएको खबर राससमा छ ।