पिपरा गाउँपालिकामा बजेट हिनामिना गरेको आरोपमा पक्राउ

पिपरा गाउँपालिकामा बजेट हिनामिना गरेको आरोपमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन २९, २०७६

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा डेढ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’को एक करोड ६१ लाख ७६ हजार रुपैयाँ रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । पक्राउ परेका तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक रहेका छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेर आज सञ्चारकर्मीलाई जानकारी गराइएको हो ।  

पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाई बैंकमा जम्मा नगरी एक करोड ६१ लाख ७६ हजार आठ सय ६० रुपैयाँ हिनामिना गरेको देखिएको छ । सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रबन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीका आधारमा ती दुवैमाथि बैंकिङ कसुर मुद्दामा कारवाही भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । यसका अलावा त्यत्रो ठूलो रकम हिनामिनामा ती दुईजनाको मात्रै हात नरहेको आशङ्का गर्दै वित्तीय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि उच्च निगरानी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।