‘जिन्दगीका यात्राहरूमा’ गीतकाे सिर्जना, अरुण थापा र मेरो अनूभूति
फाल्गुन २९, २०७६

कुनै पनि गीत सिर्जनामा मानिसहरूको जीवनका भोगाइ, दुःख, सुख र अनुभूतिको प्रभाव परेको हुन्छ । यस्ता सिर्जनामा उमेर र वातावरणको त झनै प्रभाव नपर्ने कुरा नै भएन । मेरा एक दर्जनभन्दा बढी रेकर्ड भएका गीतहरूमा पनि यस्तै परिवेश, उमेर र वातावरणको अवश्य नै प्रभाव परेको छ ।

मैले झण्डै तीन दशकअघि सिर्जना गरी रेकर्ड भएको र लोकप्रियतासमेत हासिल गरेको ‘जिन्दगीका यात्राहरूमा हिंड्दै जाँदा, जिन्दगी नै छोटिएको थाहा भएन’ बोलको गीतमा पनि केही कुराहरूको प्रभाव परेको छ । यो गीतलाई गायक अरुण थापाले गाउनुभएको छ भने संगीतकार दिनेश सुब्बाले संगीत भर्नुभएको छ ।

यो गीत सिर्जनामा मैले हिँडेका भिर पहराहरूको अमिट प्रभाव रहेको छ । खोटाङ जिल्लाको दक्षिण भेग अहिले पनि राम्ररी मोटरबाटो पुग्न नसेको ठाउँ हो । राष्ट्रिय सडक सञ्जाल राजमार्गसँग जोडिन नसकेको ठाउँ हो । देशमा संघीयताको प्रयोग भएपछि विकासका प्रयास भने भइरहेका छन् ।

काठमाडौंबाट खोटाङ घर (अहिले खोटेहाङ गाउँपालिका) जानलाई आधिसरो मान्छेहरूले उदयपुर जिल्लालाई टेकेर नै तराई वा काठामाडौं आउजाउ गर्नुपर्ने अवस्था थियो । मैले पनि यसरी नै उदयपुरकोे बेल्टारबाट आउजाउ गर्दा सुघाचरी, छुइलाको भिर, थाकिमको भिर, चमेरे भिरलगायतका भिरहरू छिचोलेको छु ।

उदयपुरकै गाईघाटबाट घर जाँदा अँधेरीखोला, छाम्लिंगका भिरहरूमा जीवनलाई ओहोरदोहोर गराएको पनि करिब चार दशक बितिसकेको छ । मेरो गाउँमा अहिले कच्ची सडक पुगेको छ । नुनतेल बोक्न कच्ची सडकमा कुद्ने मोटरले केही सुविधा पक्कै दिएको छ । अन्यथा जता गए पनिन सातु-चामल बोकेर बास बस्दै हिँड्नुको विकल्प थिएन । भरियाले भारी बोकेर बर्खाका लागि नुन-भुटुन जोहो गर्नुपर्ने बाध्यता थियो ।

यी यात्राहरूको वासमा दूधकोसी सुसाउँथ्यो । ढाक्रेहरूले बाटो कटनीका लागि गीत गाउँथे । उस्तै, मेरो जीवनको लयभित्र कताकता यी सुन्दर प्राकृतिक वातावारणले गीत लेख्ने अवचेतन छाया दिएछन् क्यार सायद ।

जब स्टुडियोमा गीत रेकर्ड गर्न सबै उपस्थित भयौँ, अरुणले त एक क्वार्टर भोड्का एकै पल्टमा सिध्याउनुभयो अनि गीत गाउन स्टुडियोभित्र जानुभयो । बेजोडले गाउनुभयो अरुणले बरु बाद्यबादकहरूले ताल छाडेर होला रिटेक भयो तर उहाँले गाउने ताल छाड्नुभएन । हामी त छक्क पर्‍यौँ ! 

एक दिन काठमाडौंस्थित डिल्लीबजारमा भूपाल राईको पसलमा संगीतकार दिनेश सुब्बासँग भेटघाटको अवसर जुट्यो  । त्यहाँ गीत, संगीतका बारेमा चर्चा भयो । गीत लेख्ने विषयमा छलफल भएपछि मैले एउटा गीत लेख्ने निधो भयो  । यसरी तयार भएको गीतमा अरुण थापाको स्वरमा रेकर्ड गर्नेसम्मको सल्लाह त्यही भेटघाटमा तय भयो ।  

वैशाखको घाम चर्को थियो । घरमा आएर तुरुन्त गीत लेख्न बसेँ । जब म खेख्न बसेँ, तिनै पहाड, छिचोलेका भिर र तरेका खोलाहरू मेरो मन मस्तिष्कमा छाप बनेर आए । गीत लेखुन्जेल तिनै लामो समयसम्म हिँडेका ओराली र उकाली बाटो र खोलाहरूको यदामा रमाइरहेँ । 

जीवनमा कि त दुःखको कि सुखको याद आउँदोरहेछ । सानो छँदा कतिपल्ट जीवनलाई जितेर यो अप्ठ्यारो बाटो हिँडेँ भन्ने अनूभूति हुने रहेछ । यसरी मैले पहिलो रेकर्ड भएको गीत तयार पारेँ । यसरी तयार पारेको गीत यस्तो थियो ।

जिन्दगीका यात्राहरूमा हिँड्दै जाँदा
जिन्दगी नै ठोकिएको थाहा भएन
हृदयका इच्छाहरूलाई किच्दै जाँदा
उकालीमा घाम डुबेको थाहा भएन

दोभानपारि अँधेरीमा जिन्दगीलाई कहिले बिसाई हेरेँ
मनको भारी टेकाएर खोलासँगै सुसाई हेरेँ
धेरैधैरै घामपानीमा जिन्दगीलाई कहिले डोहोर्‍याई हिडेँ
खुसी पाउने झूटो आशामा कहिले आफैँ रमाई हेरेँ ।

यो गीत तयार भएपछि दिनेश सुब्बासँग बसेर संगीत भर्ने तय गरियो । यसरी गीत तयार भयो । अब दिनेश सुब्बा र मलाई त्यसबेला अरुण थापालाई खोज्ने चटारो थपिएको थियो ।

अरुण थापालाई खोज्न निकै गाह्रो भयो । त्यतिबेला अरुणको पिलिक्क भेटिने फेरि उति नै खेर बजारमा हराउने बानी थियो । यसरी हराउनु कारण थियो- उहाँलाई रक्सी नभई नहुने । नामुद गायक अरुणलाई रक्सी नभई बाँच्न नसक्ने जस्तै भइसकेको थियो । जसोतसो खोजी गरी गीत रेकर्डको चाँजोपाँजो मिलायौँ ।

जब स्टुडियोमा गीत रेकर्ड गर्न सबै उपस्थित भयौँ, अरुणले त एक क्वार्टर भोड्का एकै पल्टमा सिध्याउनुभयो अनि गीत गाउन स्टुडियोभित्र जानुभयो । बेजोडले गाउनुभयो अरुणले बरु बाद्यबादकहरूले ताल छाडेर होला रिटेक भयो तर उहाँले गाउने ताल छाड्नुभएन । हामी त छक्क पर्‍यौँ ! 

तुरुन्त अरुणले फेरि अर्को भोड्का लिनुभयो ।

उता, म भने हर्षले शिखर चुमिरहेको थिएँ । मेरो जीवनको गीत गाउने धोको त्यस दिनबाट रचनाकार भएर पूरा गरेको थिएँ । केही हप्तापछि रेडियो नेपालमा यो गीत बज्न थाल्यो । अनौठो र मीठो स्वरका मालिक अरुण थापासँगको भेट मेरो जीवनमा महत्त्वपूर्ण र स्मरणीय रह्यो र रहिरहेको छ ।

पछिल्लो समयमा अरुणलाई भेट्न झन कठिन हुँदै गयो ।भेट्नासाथ साथीलाई रक्सी किन्न बाध्य पार्ने बानी थियो । दुनियाँको प्रिय गायक, आफ्नो प्रिय मित्रले यसरी नपिए हुन्थ्यो भन्ने मेरो सद्भाव मनमा सधैँ रहन्थ्यो । तर, भेटमा यो कहिल्यै लागू भएन  । 

एक दिन त पुतलीसडकमा म र  मेरी श्रीमती सँगै हिँड्दै थियौँ, अरुणजीसंँग जम्काभेट भयो । मैले अरुणको कुरा नसुन्ने बुझेर होला अरुणले मेरी श्रीमतीलाई ‘भाउजू, थोरै लिने मन छ’ भन्नुभयो । मैले हुँदैन भनेँ तर मेरी श्रीमतीले अरुणजीको मीठो आग्रहलाई नाइँनास्ती गर्न मानिनन् र मैले पनि हुन्छ भन्न बाध्य भएँ ।

म घुम्दै एक दिन रेडियो नेपाल पुगेको थिएँ । महान् गायक अरुण थापा सिरियस बिरामी हुनुहुन्छ भन्ने थाहा पाएँ, अर्का प्रसिद्ध लोक तथा आधुनिक संगीतकार राम थापाबाट ।

हामी दुवै जना अरुण थापालाई भेट्न मेरो मोटरबाइकमा सिंहदरबार निस्कन लागेका थियौँ । अचानक राम थापाले नजाऔँ भन्ने राय प्रकट गर्नुभयो । यो रायको सन्देश थियो- कतै फेरि हामी साथीलाई रक्सी पिलाउन त जाँदै छैनौँ ! त्यसबेलासम्ममा हामी अरुणजीलाई त्यसरी हेर्न थालिसकेका रहेछौँ ।

हामी गएनौँ । आज मलाई लागिरहेको छ– त्यसबेला ठूलो भूल भएछ । केही दिनमा नै खबर आयो- अरुणजी हामीबीच रहनुभएन । 

त्यस दिन भेट्न जान नसकेकामा थुकथुकी मान्दै हामीले शोक मनायौँ ।

पछि अरुणजीको सम्झनामा म्युजिक नेपालले क्यासेट निकाल्यो- त्यस क्यासेटको नाम नै त्यही मैले रचना गरेको गीत ‘जिन्दगीका यात्राहरूमा’ राखेर । तीन दशक अगाडि रेकर्ड भएको यो गीत आज सबैका प्रिय गायक अरुण थापाप्रति भावपूर्ण समर्पित गर्छु ।

इच्छुक मित्रहरूले युट्युबमा सर्च गरेर र यहाँ पनि सुन्न सक्नुहुनेछ ।