पर्वतारोहण सङ्घद्वारा १७६ वटा हिमालहरूको व्यवस्थापनको जिम्मा दिन पूनः आग्रह

पर्वतारोहण सङ्घद्वारा १७६ वटा हिमालहरूको व्यवस्थापनको जिम्मा दिन पूनः आग्रह

लोकसंवाद संवाददाता  |  पर्यटन  |  फाल्गुन २९, २०७६

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पर्वतीय पर्यटनको मुख्य अङ्गको रूपमा रहेको हामीसँग रहेका हिमालहरूलाई कसरी बचाउने भन्ने अभियानमा जुट्नु पर्ने बेला आएको बताउनुभएको छ । 

उपरोक्त कुरा मन्त्री गुरुङले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)द्वारा बिहीबार काठमाडौँमा आयोजना गरेको पर्वतारोहणसँग सम्बन्धित विभिन्न तालिमहरूमा सहभागीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै बताउनु भएको हो । 

समय अनुकूल सङ्घले प्रदान गर्ने तालिमको पाठ्यक्रम परिवर्तन गर्दै लैजानु पर्ने बताउनु हुँदै मन्त्री गुरुङले हिमाललाई कसरी बचाउने भन्ने विषयलाई पाठ्यक्रममै समावेश गर्न पनि आग्रह गर्नुभएको थियो  ।

त्यस अवसरमा मन्त्री गुरुङले कोरोना भाइरसलाई तेस्रो विश्व युद्धको संज्ञा दिँदै त्यसलाई जित्न आत्मविश्वासका साथ अघि बढ्न सबैलाई आग्रह समेत गर्नुभयो । सोही अवसरमा मन्त्री गुरुङले सङ्घले उठाएका आवाजहरूलाई नीतिगत व्यवस्था गर्ने सवालमा आफू सदैव सकारात्मक तरिकाले सहयोग गर्ने पक्षमा रहेको बताउनु भएको थियो । 

सो कार्यक्रममा पर्यटन विभागका निर्देशक मिरा आचार्यले यो वर्षको पर्वतारोहण गतिविधिलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने बारे सरोकारवाला निकायहरूसँग विभिन्न चरणमा छलफल भइरहेको बताउनुभयो । कोरोना भाइरसको आतङ्कको बिचमा विदेशी पर्यटकलाई कसरी नेपालमा आकर्षित गर्ने तथा नेपाल घुम्न आउने पर्यटकले के के फलो अप गर्ने भन्ने कुरा केही दिनभित्रै सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताउँदै निर्देशक आचार्यले त्यसलाई सम्बन्धित सबैले आआफ्नो ठाउँबाट कार्यान्वयन गरेर कारोनाबाट उत्पन्न समस्याको सामना गर्नुपर्ने बताउनुभयो ।

निर्देशक आचार्यले माउन्टेन गाइडलाई सरकारले आधिकारिक परिचयपत्र दिने तयारी गरिरहेको जानकारी पनि दिनुभयो । अहिले उत्पन्न समस्याको समाधानका लागि सबै पक्षले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा उहाँको जोड रहेको थियो । त्यस क्रममा निर्देशक आचार्यले सङ्घले बद्लिँदो समय अनुसार आरोही, सरदार, शेर्पा लगायतले के कस्ता मापदण्डहरू पुरा गर्नुपर्ने हो सो का बारेमा तय गर्दै कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभयो । निर्देशक आचार्यले हिमाल आरोहणमा संलग्न व्यक्तिहरूको पद अनुसारको ज्ञान, सीप र तौरतरिका प्रदान गर्ने किसिमका तालिम प्याकेजहरू तय गरी उपलब्ध गराउन पनि सङ्घलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनको क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आइरहेको सङ्घले जानकारी दिनुहुँदै सङ्घले सरकारसँग मिलेरै यस क्षेत्रको दिगो विकासका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

 सरकारसँग आरोहणका लागि खुला भई हालसम्म आरोहण नभएका तर प्रचुर सम्भावना बोकेका ५८०० देखि ६५०० मिटरसम्म उचाइका १७६ वटा हिमालहरूको पनि व्यवस्थापन जिम्माको माग बारम्बार गरिरहेको बताउनुहुँदै अध्यक्ष लामाले यसतर्फ सरकारले सकरात्मक तरिकाले लिई व्यवस्थापनको जिम्मा दिन पूनः आग्रह गर्नुभयो ।

त्यस क्रममा अध्यक्ष लामाले हिमाल आरोहण गर्दा ज्यान गुमाएका परिवार, घाइते भएका आरोही र यससँग संलग्न व्यक्तिहरूको यथोचित व्यवस्थाका लागि पहल गरिदिन मन्त्री गुरुङसँग आग्रह पनि गर्नु भयो । 

त्यस अवसरमा सङ्घका तालिम संयोजक तुलसिंह गुरुङले तालिमहरूको औचित्यमाथि प्रकाश पार्नुहुँदै हिमाल आरोहणसँग संलग्न व्यक्तिहरूको बिमा रकम अहिलेको सन्दर्भमा कम भएकोले यसलाई समयानुकूल वृद्धि गरिनु पर्ने बताउनुभयो । 

सो कार्यक्रममा विभिन्न चार वटा विद्याको पर्वतारोहण तालिम लिएका प्रशिक्षार्थीहरूलाई सर्टिफिकेट वितरण गरियो । जसमध्ये गत ६ डिसेम्बर २०१९ देखि २२ जनवरी २०२० सम्म काठमाडौँ र लाङटाङमा सञ्चालित २८औँ एडभान्स माउन्टेनरिङ कोर्समा सहभागी २६ जना प्रशिक्षार्थीहरूलाई सर्टिफिकेट प्रदान गरियो ।

त्यस्तै सर्टिफिकेट पाउनेमा ३१ डिसेम्बर २०१९ देखि १९ जनवरी २०२० सम्म काठमाडौँ र लाङटाङमा सञ्चालित हाई माउन्टेन रेस्क्यू ट्रेनिङ (एचएमआरटी)मा १५ जना प्रशिक्षार्थी रहेका छन् । त्यसै गरी ९ देखि २१ जनवरी २०२० मा काठमाडौँ र सोलुखुम्बुको पिके पिकमा सञ्चालित माउन्टेन लिडर कोर्स (कम्पोनेन्ट २)मा सहभागी १३ जना प्रशिक्षार्थी तथा २० जनवरी देखि ९ फेब्रुअरी २०२० मा काठमाडौँ र सोलुखुम्बुको पिके पिकमा सञ्चालित माउन्टेन लिडर कोर्स (कम्पोनेन्ट–३) तालिममा सहभागी ११ जना प्रशिक्षार्थीहरूलाई सर्टिफिकेट प्रदान गरिएको हो ।

यसैबिच, नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले पर्वतारोहण तालिमलाई थप प्रभावकारी बनाउनका लागि नेपाल माउन्टेन इन्स्पेक्टर एसोसिएसन (एनएमआईए) सँग सम्झौता गरेको छ । बिहीबार लाजिम्पाटको हिमालय होटेलमा आयोजित एक समारोहबिच भएको सम्झौता पत्रमा एनएमएका कार्यवाहक महासचिव टीकाराम गुरुङ र एनएमआइएको तर्फबाट महासचिव छिरिङ पाण्डु भोटेले हस्ताक्षर गर्नुभएको हो ।

त्यस्तै एनएमएले दोलखाको रोलवालिङ क्षेत्रको हिमाल आरोहण व्यवस्थापन तथा प्रवर्द्धनका लागि माउन्टेन एभरेस्ट समिटर्स क्लब रोलवालिङसँग पनि सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा एनएमएको तर्फबाट अध्यक्ष सन्तवीर लामा र क्लबका तर्फबाट अध्यक्ष दावाछिरी शेर्पाले हस्ताक्षर गर्नुभएको छ ।

सङ्घका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यवाहक महासचिव टीकाराम गुरुङले गर्नु भएको थियो ।