भारतसँग सीमा जोडिएका पाँच नाका बन्द

भारतसँग सीमा जोडिएका पाँच नाका बन्द

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन ३०, २०७६

बैतडी । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका बैतडीका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् ।   

डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएको जनाइएको छ । भाइरसको पूर्वसतर्कता अपनाउन ती नाकामा आवतजावत बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । जिल्लाका भारतसँग सीमा जोडिएका चार नाकामा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) सञ्चालनमा तयारी गरिएको छ । मुख्य नाकाका रुपमा रहेको झुलाघाटमा यही फागुन १० गतेदेखि कक्ष सञ्चालनमा रहेको छ ।  तल्लोस्वराडमा रहेका अन्य चार नाकामा तत्काल कक्ष सञ्चालन गर्ने निर्णय भएको  हो । 

झुलाघाटमा दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरुपमा सहायता कक्ष स्थापना गर्न लागेका हुन् । डुङ्गाबाट आवतजावत हुने तल्लोस्वराडमा चार घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाको बैठकले पञ्चेश्वरको रोलघाट, डिम्बरघाट र विनायक घाट तथा शिवनाथको नागार्जुन घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्ट लगायतको सरोकारवाला सम्मिलित बैठकले हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो । 

हेल्थ डेस्कमा उपकरण अभाव 

तल्लोस्वराडका घाटमा कक्ष स्थापना गर्ने निर्णय भए पनि तत्काल उपकरणको भने अभाव भएको छ । सो कक्षमा आवश्यकपर्ने उपकरण अभाव हुँदा सहायता कक्षमा स्वास्थ्य परीक्षणको काम नहुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिनुभयो 

ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण नहुँदा सहायता कक्षमा जाँजको काम हुँँदैन उहाँले भन्नुभयो, ‘ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण पुग्न एक हप्ता लाग्छ ।’ तत्कालका लागि स्वास्थ्यकर्मीले हेल्थ डेस्कबाट परामर्श सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।