तामाङ समुदायमा  प्रचलित २५ लोकबाजा र प्रयोगको सन्दर्भ
फाल्गुन ३०, २०७६

तामाङ समुदायमा जन्म, सांस्कृतिक उत्सवदेखि मृत्यु संस्कारसम्म विभिन्न खाले बाजाहरूको प्रयोग गर्ने गारेकको पाइन्छ ।  यस आलेखमा तामाङ समुदायमा  प्रचलित रहेका २५ लोकबाजाको बारेमा यसको निर्माणदेखि कुन सन्दर्भमा कुन बाजको प्रयोग गरिन्छ भन्ने विषयमा छोटो जानकारी दिने कोसिस गरिएको छ । कतिपय बाजहरू नयाँ पुस्ताको लागि अनौठो लाग्ने पनि हुन सक्दछन् ।  

१. डम्वा

कोइरालो जातको रुखको काठको पातलो फलेकलाई गोलो घेरो बनाई घोरलको छाला टाँगी ३२ वटा बाँसको किला ठोकी यस बाजा .को निर्माण गरिन्छ । तामाङ समुदाय को यो बाजाको शिर भागमा डाँफे चराको मूर्ति राख्ने चलन रहेको छ । कतैकतै यसलाई डम्फु  भन्ने चलन छ । तामाङ आदि पुरुष पेङ दोर्जेले यो बाजा बनाएको भनिए तापनि रोल्मो घुमङ छोई अनुसार तत्कालीन प्रसिद्ध थाङ्का चित्रकार गराम खाइबाले बनाएको विश्वास गरिन्छ । तामाङ आदि पुरुष पेङदोर्जे नभएर पिवाङ दोर्जे वा पिहुङ दोर्जे हुन सक्छन् । किनकि तामाङ जातिका दुई वटा बाजा यो नामसँग मिल्दोजुल्दो रहेको  छ । बर्तमानमा पनि मुरली बजाउनेलाई मुरली धर डम्फुm बजाउनेलाई डम्फुरे माइला आदि भन्ने चलन चल्ती रहेको पाइन्छ । तामाङ ताम्बा गीतमा यो बाजा अनिवार्य रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ  । 

२. च्योदर

यो बाजा ठुलो डमरुजस्तो हुन्छ । लामाहरूले मन्त्र उच्चारण गर्दा बिस्तारै सुस्त गतिमा यो बजा  बजाउने चलन छ  । यो धार्मिक बाजा हो । खयर जातको काठ तथा मृगको छालाबाट बनेको र दुई वटा तुनामा रिट्ठा बाँधिएको हुन्छ । 

३. तामाङ घ्यालीङ 

यो बाजा तामाङहरूको मौलिक बाजा पनि हो । यो बाजा तामाङहरूको विभिन्न सांस्कृतिक उत्सवदेखि मृत्यु संस्कारमा समेत प्रयोग  चलन रहेको छ । यो सुर बाजा हो । यो बाजा फुकेर बजाइन्छ । यो बाजा बजाउँदा जोर घ्यालीङ एकैसाथ बजाउनुपर्दछ । 

४. थुन्दर

 यो बाजा लामाहरूको विशेष पूजाआजामा प्रयोगमा ल्याउने बाजा हो । घ्याङ तथा गुम्बामा लामाहरूले विशेष पूजाआजा गर्दा तथा साधना गर्दा सहायक लामाहरूलाई निर्देशन दिनुपर्दा यसको प्रयोग गर्ने गर्दछन् । मन्त्र उच्चारण गर्दा पनि यो बाजा लगातार बजिरहेको हुन्छ । यो झन्डै सानो आकारको डमरु जस्तै देखिन्छ ।  

५. तामाङ टुङना

सिर भागमा घोडाको मूर्ति कुँदेर बनाइने टुङना नरम जातको गुराँसको काठबाट निर्माण गरिन्छ ।  यो बाजा सैलुङ भेगमा प्रचलित रहेको छ।  यसमा ४ वटा तार राखिएको हुन्छ ।  तारलाई नख्खिले कोट्याएर बजाइन्छ । यो तामाङ समुदायको बाजका रूपमा परिचित छ ।  यो बाजाको शिरमा ३ प्रकारका चित्र कुँदिएको हुन्छ । 

६. जरुङ्गे

जरुङ्गे एक बित्ता देखि मुडि हातसम्म लामो ढुङग्रे बाँसको ढुङ्ग्रोका एकापट्टिको भाग छालाले मोडेर देब्रे काखीमा च्यापी दाहिने हातले ठोकी ताल दिएर बजाइने बाजा हो । यो दक्षिण धादिङका तामाङ समुदायमा प्रचलित छ । यसमा एका पट्टी छाला तन्काई ठोक्नलाई बाँसकै किला र चोया प्रयोग गरेर निर्माण  गरिन्छ ।

७. लावा

तामाङहरूले बजाउने यो स्याङ बाजा ताल बाजा अन्तर्गत पर्दछ । झट्ट हेर्दा उल्टो डबका जस्तो देखिने यो बाजा बजाउन हल्लाउनु पर्छ । हाल यो बाजा ज्यादै कम प्रचलनमा रहेको पाइन्छ । यसको रालो चौँरीको सिङ वा हाडबाट बनाइन्छ । 

तामाको पातलो पाताबाट बनाइने यो बाजा ज्यादै लामो हुने गर्छ । यो झन्डै झन्डै ५ देखि ९ हातसम्म लामो हुन्छ । यो बाजा ठुला ठुला गुम्बामा लामा गुरुहरूले मुखले फुकेर बजाउने गर्दछन् । यो बाजा बजाउनलाई धेरै अभ्यास गर्नु पर्दछ । ओठ तथा जिब्रोको सन्तुलनले यसलाई विभिन्न मन्त्रको छन्दहरूमा बजाउनु सक्नु पर्ने हुन्छ ।  यो बाजा तीनदेखि पाँच खण्डसम्म विभाजन भएको हुन्छ । 

८. पिहुङ

यो बाजा रसुवा, सिन्धुपाल्चोकतिरका तामाङ समुदायमा प्रचलित रहेको छ । । सुर बाजा अन्तर्गत पर्ने यो बाजा मुखले फुकेर बजाइन्छ । मिठो स्वर आउने यो बाजा तामाबाट बन्दछ । कतैकतै गोठालाहरूले मालिङ्गोको पनि बनाई बजाउने गर्दछन् । तामाको भन्दा मालिङ्गोको बाजा पुरानो हो । 

९. पिवाङ

यो बाजा उच्च हिमाली भेगमा बस्ने तामाङ समुदायले बजाउने बाजा हो । रसुवा तथा सिन्धुपाल्चोकको हिमाली भेगमा यो बाजा पाइन्छ । गुराँसको काठबाट यो बाजा बनाइन्छ । यसको तार कस्ने तोक (मुर्रा) भोज पत्रको बनाइन्छ । यस बाजामा २ वटा तथा नाचमा प्रयोग गरिने यो बाजा बजाउनकोलागि २ वटा तारको बिचमा धनुले रेट्नु पर्दछ । धनो घोडाको पुच्छरबाट बनाइन्छ  र  बजाउँदा रौं चिप्लन्छ भनेर गोब्रे सल्लोको खोटो लगाउने चलन चल्ती रहेको छ ।

१०. भाँटे मादल्

यो सिन्धुपाल्चोकका तामाङहरूले बजाउने बाजा हो । भालु बाँसका दुवै आँख्लालाई नफोडीकन बाँसको  एक गिँडबाट यस बाजाको निर्माण गरिन्छ । भण्डै विचभागमा ४ अङ्गुल लामो र १ अङ्गुल चौडाइको प्वाल पारी त्यसमा प्वाल भन्दा माथि केही लामो बाँसको फलक वा तडि राखी छेउ छेउबाट त्यही बाँसकै तार निकाली त्यस तडिलाई अड्याई यो बाजा बनाइन्छ । यो तालबाजा विभिन्न सेलो, झ्याउरे तथा ख्याली तालहरूमा बजाइने चलन रहेको छ । 

११. ध्वनी पात्र

यो काँसबाट बनेको हुन्छ । यो बाजा बौद्ध भिक्षुहरूले दान माग्ने पात्र पनि हो । यसलाई तामाङ समाजमा विभिन्न प्रकारका नशा सम्बन्धी रोग निको पार्न कान, हात तथा शिरमा विशेष विधिले राखी आरोग्य मन्त्रोच्चारण सहित भैषज्य गुरुको आराधना सहित विभिन्न गतिमा बजाएमा रोग निको हुन्छ । कतैकतै तुङलाई यसभित्र राखी केही जडिबुडि सहित पानी हालेर रातभर राखी सो पानी बिहान सेवन गरेमा पेट सम्बन्धी अनेक रोगहरूको निदान हुन्छ भनेर भनिन्छ । 

१२. डिल्बु

 डिल्बु एक प्रकारको घण्ट हो । यो बाजा काँसबाट बनेको हुन्छ । पञ्च धातु वा अष्ट धातुबाट पनि पहिले डिल्बु बनाइन्थ्यो । यो बाजा तामाङ समुदायमा प्रचलित रहेको छ । यसको आफ्नै प्रतिकात्मक अर्थ समेत रहेको छ । शिर भागको बज्रलाई पुरुषको प्रतीक र घण्टलाई स्त्रीको प्रतीकको  बुझ्ने गरिन्छ । अनेकौँ कलात्मक बौद्ध पद्धतिका बुट्टाहरूले यसलाई कलात्मक बनाइन्छ । सबैजसो तामाङ पूजाआजामा यो बाजा अनिवार्य बजाइन्छ । बजाउँदा घोप्टो पारेर तथा उत्तानो पारेर बजाउने यसका विशेष विधिहरू रहेका छन् । 

१३. तुङ
यो बाजा तामाङ जातिमा प्रचलित छ । विभिन्न बौद्ध मन्त्र वा अन्य अनुष्ठान सामाग्रीको चित्र वा बुट्टाहरू कुँदेर यो बाजा कलात्मक बनाइएको हुन्छ । लामा गुरुहरूले घ्याङ तथा गुम्बाहरूमा पूजा पाठ गर्दा बजाउने यो तुङ बजाउँदा स्वर भाग भुईँपट्टि पारेर एकोहोरो बजाउने गरिन्छ ।

१४. घंघला माला

यो तामाङ झाँक्रीहरूको बाजा हो । घंघला चरेसको फूलबाट बनेको हुन्छ । यो भर्खर मन्त्र सिक्न थालेका झाँक्रीहरूले दोकाँधे बनाई जिउमा भिर्दछन् । घंघला भिरि काम्दै धामी झाँक्रीले उपचार तथा देवी देवतालाई फलाक्ने गरिएको पाइन्छ ।  

१५. घण्टी माला

यो बाजा विभिन्न आकारका घण्टीहरू जडिएको बाजा हो । डोरी वा कपडाको फित्तामा  घण्टी उनी सिद्धि प्राप्त झाँक्रीहरूले दोकाँधे बनाई भिर्दछन् । घण्टीको स्वरसँगै भाँक्रिको काम्ने तरिका फरक–फरक हुन्छ । आफ्नो अभीष्ट प्राप्तिको लागी देवी देवताको आव्हान गरी स्वस्ति शान्ति तथा ग्रह दशा काट्ने काम पनि यिनै धामी झाँक्रीबाट गरिन्छ ।

१६. गोङगप

यो तामाङ समुदायको  बाजा हो । यो बाजा मुखमा च्यापेर बजाइन्छ । हाल यो बाजा लोप भैसकेको अनुमान छ । यो फलामबाट बनाइन्छ । यो त्रिशूल आकारको बाजा हो । यसलाई बजाउँदा बिचको जिब्रीलाई चोर औलाले कोट्याएर झङ्कार निकाली जिब्रो र मुखको सन्तुलनले विभिन्न स्वर र तालहरू निकालिन्छ । 

१७. ग्यापुङ

यो बाजा काँसबाट बनेको हुन्छ । तामाङ इष्टदेव देवीको प्रार्थना गर्दा यो बाजा विभिन्न तालमा बजाइन्छ 

१८. झाँक्री ढ्याङ्ग्रो

ढ्याङ्ग्रो प्रचलित र प्रख्यात लोकबाजा हो । यो बाजा विशेष गरेर झारफुक र उपचार गर्दा प्रयोग गरिन्छ । मृत्यु संस्कार र पूजामा पनि बजाइने यो बाजा बेतको लौराले हानेर बजाइन्छ । दुबैतर्फ टम्म मिलाएर छाला कसिएको हुन्छ । ढ्याङ्ग्रोको बप्द र किलको एकै रूपमा बनेको हुन्छ । 

१९. काङलिङ    

 यो बाजा ज्यादै पुरानो र अतिनै महत्त्वपूर्ण बाजा हो । यो मानिसको नली खुट्टाको हाडबाट बन्दछ । यो बाजा तन्त्र साधनामा पूर्णता पाएको वा सिद्धि प्राप्त तान्त्रिकहरुले मात्र प्रयोग गर्दछ र हाड पनि सिद्ध प्राप्त तान्त्रिकहरूकै मात्र प्रयोग गरिन्छ । यो लामाहरूले पूजा तथा झाँक्रीहरूले साधनाको काम वा उपचारको काम गर्दा समेत प्रयोग गर्ने गर्दछन् ।

२०. कलिङ     

कलिङ ताल बाजा समूह अन्तरगत पर्दछ । यो बाजा सिन्धुपाल्चोक र आसपासका क्षेत्रमा बजाइन्छ । यो बाजा छालाले मोडेको र ठूलोआकारको हुन्छ । बजाउँदा ज्यादै ठुलो स्वर आउने हुन्छ ।

२१. खाङी

यो तामाङ समुदायको ठुलो ताल बाजा हो । यो बाजा प्रायः गरेर ठुला गुम्बाहरूमा मात्र पाइन्छ । यसको भित्री भागमा विभिन्न यन्त्र, भोद्राक्ष, रिट्ठा तान्त्रिक विधिद्वारा स्थापित गरिएको हुन्छ । यसको दुवै भागमा छालाले मारिएको हुन्छ । एकातर्फको छाला पातलो हुन्छ जसबाट तिखो स्वर निस्कन्छ भने अर्कोतर्फ बाक्लो हुन्छ जसबाट मोटो स्वर निस्कन्छ । बजाउँदा सर्पकार गजो प्रयोग गरिन्छ । सो गजोको टुप्पोमा कपडा बाँधिएको हुन्छ । यसको समात्ने भागमा किलाय वा बज्रको आकार कुँदिएको हुन्छ । 

२२. सिनडुङ


सिनडुङ बाजा ताल बाजा समूह अन्तर्गत पर्दछ । यो बाजा छालाले मोडेर बनाएको हुन्छ । विभिन्न चाड पर्व तथा उत्सवहरूमा यो बाजा तामाङहरूले बजाउने गर्दछन् । 

२३.स्याङ

तामाङहरूले बजाउने यो स्याङ बाजा ताल बाजा अन्तर्गत पर्दछ । झट्ट हेर्दा उल्टो डबका जस्तो देखिने यो बाजा बजाउन हल्लाउनु पर्छ । हाल यो बाजा ज्यादै कम प्रचलनमा रहेको पाइन्छ । यसको रालो चौँरीको सिङ वा हाडबाट बनाइन्छ । 

२४. तामाको काङलिङ

यो बाजा ज्यादै पुरानो र अति नै महत्त्वपूर्ण बाजा हो । तामाबाट बन्दछ । यो लामाहरूले पूजा तथा झाँक्रीहरूले साधनाको काम वा उपचारको काम गर्दा समेत प्रयोग गर्ने गर्दछन् ।

२५. चौँरी घण्ट

हिमाली भेगका तामाङ जातिमा प्रचलित यो बाजा काँसबाट बनेको हुन्छ । यो चौँरीको घाँटीमा झुन्डाइने बाजा हो । चौँरीको हिँडाइको तालमा यो बाजा बज्दछ । 


लेखक- नेपाली लोक बाजा संग्रहालय संस्थापक हुनुहुन्छ