खोटाङ

खोटाङ

टङ्क भट्टराई  |  साहित्य  |  चैत्र १, २०७६

हरेक रात खोकिलामा घाम च्यापेर सुते पनि
शिरमाथिको नीलाम्य आकाशमा 
धेरै ताराका बिउहरू उमारेको छ खोटाङले ।

खोटाङ कहिलेकाहीँ
तावा खोलाका तरेलीहरूमा खेल्दै
लौरे भञ्ज्याङमा आस्थाको लौरो गाडेर 
मेरुङ डाँडामा मयुरपंखी सपना उमार्छ
चिलिम ढुंंगामा लट्टे झाँक्रीसँग बसेर हुक्का तान्दै
भविष्यको जोखाना हेर्छ ।

खोटाङले साप्सुमा धेरै सपनाहरू बगायो
सुङ्देलको पहिरोमा पुरिए धेरै मनहरू
सेल्मेको कुहिरोमा हराए कोइलीका मधुर धूनहरू
दिखुवाको बाढीमा बगे बग्ररेल्ती वर्तमानहरू
भुम्जुको चुलीबाट चिलझैँ उडे आशाका चङ्गाहरू

फुत्तफुत्त बगरमा निक्लिएर
थुप्रैचोटि आन्दोलन गरे राखोलाका माछाहरूले
एउटा सुन जस्तो बिहानी ल्याउन साखोलाले 
बगरमा झुलायो सुन जस्ता धानका बाला ।

हो, 
सबैले देख्न खोजेको
सबैले छुन खोजेको
र, भविष्यको गर्भमा छट्पटाइरहेको 
त्यो स्वर्णिम उज्यालो आउने आशामा
उहिल्यैदेखि नाचेको नाच्यै छ
सफेद सुन्दर परीझैँँ धिप्लुङ झरना
राता गुराँसका बोटमा लुकामारी खेल्दै
वनचरीसँग जुहारी खेल्दै छ चखेवा भञ्ज्याङ
हिमाली आभाले मसक्क हुँदै
दुलहीझैँ सिँगारिएको छ सिलिचुङ डाँडो
कति मगमग छ यो माटो
कति मीठो छ यो बतास
जहाँ,
लैकु अर्थात् ह्यामुगङ्गामा नुहाएर बलराम
पापको प्रायश्चित गरिरहेछन्
हरे घर्तीका साथ सेतो धोती फेरेर जयपति थानी
साप्सु किनारामा पूजा–पाठ गरिरहेछन्
नर्कटे डाँडोमा बिजुवा बिजुविनीलाई हुइलुङ हान्न लगाएर
आफू भने राता माछासँग हर्दम खेलिरहेछ बराह पोखरी
समृद्धिका पाइला पछ्याउँदै– तुवाचुङमा
खाँडी बुनिरहेछन्– तोयामा खियामा ।

आफ्नै रचनाको जादूले
आफैँ मख्ख परिरहेछ– ईश्वर
लाग्छ,
प्रकृतिको जम्मै माधुर्य यहीँँ पोखिएको त होइन ?

आनन्दै–आनन्दको यो दिव्य धाममा 
पारि बसेरीको जुरे थुम्का हेर्दै
उपरखुट्टी लगाएर सिलोक भनिरहेछ तारे पहरो
रूपाकोटको शिरफूल लगाएर दिक्तेल बजार
छड्के नजरले हेरिरहेछ ट्याम्केलाई
लोचाका धुपी सल्लामा सैसैला खेल्दै
लोकभाका सुसेलिरहेछ नुनथला
सातकन्ने भगवतीको आराधना गर्दै
तपस्यारत भएर गजधम्म बसेको छ मझुवागढी
बसाहाथानतिर सप्पै अँध्यारो मिल्काएर
आफू भने पूर्वको ज्योति स्वरूप चम्किरहेछ हलेसी
हजारौँ हातहरूले ढाल्न खोजे पनि 
एउटा अटल विश्वास बोकेर उभिएकै छ सुत्केरी ढुङ्गो ।

खोटाङ साँच्चै खोटाङेको मनमा छ छैन ?
सोधे हुन्छ–
हरियो पछ्यौरी ओढेर लहरै उभिएका नागबेली पहाडसँग
जिन्दगीसँग हार खाएर घाट झर्दै गरेका बस्तीसँग
होइन भने
आफ्नै थलो छोडेर सारसका हाँच जस्तै
किन ?
बर्सेनि मधेस झर्छन् मान्छेका ताँतीहरू
दुःखका पन्तुरा बोकेर बगेको बग्यै छ दूधकोसी
आफ्नै छालहरू दाउमा राखेर जुवा खेल्दै छ टुवा खोलो
युगका व्यथाहरू अझै पौडिरहेछन् साल्पा पोखरीमा ।

सायद
आफ्नै माटोको नाममा गद्दार गरे धेरैले 
सात पुस्ता अघाएर पनि  
अझै लाम्टा चुस्दै छन् लामकीराहरू
शक्ति र स्वार्थको मन्त्र जपेर लाज पचाउँदै
दिनहुँजसो रङ फेर्दै छन् छेपाराहरू
आफ्नै सन्तान पनि के भन्नु ?

सुम्सुम्याउने बहानामा 
अझै आन्द्राभुँडी लुछ्न छोडेनन् ब्वाँसाहरूले ।

खबरदार !
रोक्न नखोज समृद्धिको बाटो
छेक्न नखोज समयको गति ।

अब, 
क्रमशः व्युँझदै छन् जन्ते ढुंंगाका जन्तीहरू
आफ्नै चिहान खनेर उठ्दै छन् राँकेभूतहरू
खोटाङतिर फर्केर यस्तो सूर्य जन्माउँदै छ टेम्के
जसले रातको अँध्यारो समुद्र खर्लप्पै निलेर
उज्यालै–उज्यालो मात्र बाँड्दै छ ।

सुन ए खोटाङे हो !
शताब्दी पुरानो निद्रा उघारेर
अब यहीँबाट सुरु हुन्छ 
एउटा अखण्ड उज्यालोका यात्राा ।