शिवजी, कामदेव र आम्रपाली

शिवजी,  कामदेव र आम्रपाली

नेत्र आचार्य  |  जीवनदर्शन  |  फाल्गुन २०, २०७५

वर्षौंसम्म शिवजी ध्यानमा बसिरहे । झरी, बादल, आँधी केही नभनी ध्यानमा लीन भइरहे । सृष्टि स्थितिमा बाधा पर्ने भयो । ब्रह्माको आज्ञा अनुसार कामदेव त्यहाँ पुगे र ध्यानस्थ शिवजीलाई ताकेर पुष्पवाण प्रहार गरे । शिवजीको ध्यान भङ्ग भयो, क्रोधले उनका आँखा धपक्क बले । तेस्रो नेत्रबाट आगोको ज्वाला निस्कियो र कामदेवलाई भष्म गरिदियो ।

तेस्रो नेत्र अर्थात् आज्ञा चक्रबाट कसरी आगो निस्कियो, ध्यानस्थ शिवजी कसरी क्रोधित भए रु चेतना आज्ञा चक्रमा हुँदा त द्वैत भाव मेटिन्छ अर्थात् असल-खराब, मेरो -तेरो भाव विलीन हुन्छ ।

म अन्दाज गर्छु कथाको प्रतीकात्मक अर्थ अर्कै हुनुपर्छ । शिवजीको तेस्रो आँखाबाट आगो निस्केको होइन केही अर्थोकै निस्केको हो । शिवजीले आँखा खोल्दा कामलाई पनि राम देखे । जसरी बुद्धका आँखामा आम्रपाली एउटा फूलको थुँगा देखिएकी थिइन्, शिवजीका लागि कामको अस्तित्व रहेन । कामदेव मानो भष्म भए । मनमा वासना छ भने सबैतिर काम देखिन्छ, छैन भने सर्वत्र राम देखिन्छ ।

'न हि स्वात्मारामं विषयमृगतृष्णा भ्रमयति ।'

 नेत्र आचार्यकाे फेसबुक वालबाट