मणिमय मालाको धागो , 'म' र सर्वतत्वको मित्र ब्रम्हसूत्र

मणिमय मालाको धागो , 'म' र सर्वतत्वको मित्र ब्रम्हसूत्र

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  चैत्र १, २०७६

अपरेयमित स्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
 जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ।। ५ ।।

अन्वय र अर्थ – महाबाहो = हे महाबाहो ! इयं = यो आठ भागमा विभक्त प्रकृति, अपरा = जड हुनाले निकृष्ट, अशुद्ध, अनर्थकरी र संसार बन्धनको कारण रूप हो, तु = किन्तु, इतः = यस उपर्युक्त प्रकृति भन्दा, अन्यां = भिन्न, मे = मेरो, जीवभूतां = जीवस्वरूपा, प्राण धारणका लागि निमित्त बनेकी, प्रकृतिं = विशुद्ध प्रकृतिलाई, परां = प्रकृष्ट, विद्धि = जान, यया = चैतन्य क्षेत्रज्ञ स्वरूप प्रकृतिद्वारा, इदं = यो सम्पूर्ण, जगत् = संसार, धार्यते = धारण गरिन्छ ।

भावार्थ – हे महाबाहो ! यो अपरा प्रकृति हो, परन्तु यो भन्दा स्वतन्त्र मेरो जुन जीवरूप एक प्रकृति छ, जसले यस जगतलाई धारण गर्दछ, त्यसलाई परा प्रकृति भनेर जान ।

विशिष्टार्थ – जुन प्रकृति आठ अंशमा विभक्त छ त्यो जड हो, अतः त्यो अशुद्ध छ, अनर्थकारी र संसार बन्धनको कारण रूप हो, त्यसैले त्यो निकृष्ट छ । परन्तु जुन प्रकृति चेतन, जीवस्वरूप र प्राण धारणको कारण हो, जुन ब्रम्हरन्ध्रदेखि मूलधारसम्म ब्रम्हनाडीमा रहेर शरीररूप जगतलाई धारण गर्नका लागि जगद्धात्री नाम लिएको छ सोही चैतन्य प्रकृति नै परा (श्रेष्ठ) हो । वास्तवमा प्रकृति दुई छन् – (१) पराप्रकृति (२) अर्को अपराप्रकृति । परा– चैतन्य प्रकृति, अपरा– जड प्रकृति,अपरा क्षेत्र, परा क्षेत्रज्ञ, क्षेत्रको धाता, अतएव परा श्रेष्ठ हो, अपरा निकृष्ट हो । साधक अव यी सबैलाई निजवोधरूप अपरोक्ष ज्ञानले आप्mनो शरीरभित्र प्रत्यक्ष गर्दछन् ।

पानी आफ्नाे  कारण तेजको सहयोगले ठोस, तरल र वाष्प आकार धारण गरेर तीन हुन्छ वस्तुतः तीन हैन, केवल अवस्था भेद मात्र हो, त्यस्तै माया पनि निज कारण परमेश्वरको सहयोगले नाना तत्वमा परिणत हुन्छ । पुनः जस्तो जल तेजबाट उत्पन्न हुनका लागि तेज विना अरू केही छैन, एउटै मात्र छ, केवल तेजको रूपान्तर मात्र हो, त्यस्तै माया पनि ब्रम्हविना अरू केही हैन ।

    एतद् योनीनि भूतानि सर्वाणीत्युपधारय ।
    अहं कृत्स्नस्य जगतः प्रभवः प्रलय स्तथा ।। ६ ।।

अन्वय र अर्थ – सर्वाणि = सम्पूर्ण, भूतानि = स्थावर जङ्गम प्राणीहरू, एतद्योनीनि = क्षेत्र र क्षत्रका रूप परा र अपरा यी दुबै प्रकृति नै जसका उत्पतिका कारण छन्, इति = त्यस्तो, उपाधारय = जान, (अतः) अहं = म, कृत्स्नस्य = समस्त, गतः =जगत्को, प्रभवः = उत्पत्ति, तथा = त्यस्तै, प्रलयः = संहारको कारण हुँ ।

भावार्थ – यी दुबै प्रकृतिबाट नै समस्त भूतहरूको उत्पत्ति जान । यसकारण म नै समस्त जगतको सृष्टि तथा संहारको कारण हुँ ।

विशिष्टार्थ – परमेश्वरका जड र चैतन्य रूप अपरा तथा परा नामले यी दुई शक्ति वा प्रकृति छन् जसलाई साधकले स्वरूप ज्ञानले प्रत्यक्ष गर्दछन्, यी दुबैबाट नै सर्वभूत उत्पन्न भएका छन् । यी दुई प्रकृति दिन रात परस्पर मिल्दै नाना जीवहरूको सृष्टि गरिरहेका छन् । जस्तो पानी परेको बेला जोरले पानीमा परेर वायु नाना अंशमा विभक्त भएर पातलो आवरणले ढाकिएको साना साना फोकाहरूको रूपमा परिणत हुन्छ, चैतन्य प्रकृति पनि त्यस्तै जडको आवरणले ढाकिएर नाना प्रकारको जीवमूर्ति धारण गर्दछ । जड प्रकृति देहरूपमा परिणत हुन्छ र चैतन्य प्रकृति देह भित्र प्रवेश गरेर भोक्तारूपले स्वकर्मद्वारा त्यसलाई धारण गर्दछ । अतः यी दुबै प्रकृति नै सर्व भूतहरूको योनि वा कारण हुन् । किन्तु प्रकृतिको कारण परमेश्वर हुनुहुन्छ, अतः परमेश्वर नै समस्त जगत्को कारण हुनुहुन्छ । उहाँ नै सर्व शक्तिका कारण हुनुहुन्छ, परमेश्वरबाट नै यस जगत्को उत्पत्ति भएको छ, त्यसैले उहाँ जगत्का प्रभव हुनुहुन्छ, उहाँबाट नै जगतको लय (विश्राम) हुन्छ, त्यसकारण उहाँ जगतका संहर्ता पनि हुनुहुन्छ ।

    मत्तः परतरं नान्यत् किञ्चिदस्ति धनञ्जय ।
    मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव ।। ७ ।।

अन्वय र अर्थ – धनञ्जय = हे धनञ्जय ! मत्तः = म परमेश्वरभन्दा, परतरं = श्रेष्ठ, अन्यत् = अरू, किञ्चित् = जगत्को स्थिति र संहारमा स्वतन्त्र कारण, न अस्ति = छैन, इदं = यो प्रत्यक्ष भएको, सर्वं = जगत्, मयि = पमेश्वरमा, सूत्रे = धागोमा, मणिगणा = मणिहरू, इव = जस्तै, प्रोतं = उनिएको छ ।

भावार्थ – हे धनञ्जय ? यस परिदृश्यमान जगत्मा म भन्दा श्रेष्ठ अरू कोही छैन । मालाको धागोमा उनिएका मणिहरू जस्तै ममा यो समस्त जगत् उनिएको छ ।

विशिष्टार्थ – परमेश्वर  'एकमेवाद्वितीयम्' अर्थात् ऊ एक मात्र छ, दुई छैन । उसको शक्तिको नाम माया हो । उहाँको माया जब प्रभुमा लीन हुन्छे अर्थात् त्यसको विकास हुन सक्दैन तब त्यो ब्रम्ह र जब मायाको विकास हुन्छ तब मात्र त्यो परमेश्वर बन्छ । परमेश्वरको यो माया त्रिगुणमयी छ । यस मायाको विकास हुनासाथ यसले दुई रूप धारण गर्दछे – एक रूपले चैतन्य रूपिणी र एकरूपले जडरूपिणी । पछि तीन गुणको विकारमा जड चैतन्यको घात प्रतिघात गर्दै उत्थान–स्थिति – पतन तीन क्रियाहरू चलिरहन्छन् । ती तीन क्रियाहरूद्वारानै जगत्को सृष्टि–स्थिति–लय प्रारम्भ हुन्छ ।  जगत्का साथै जीवनको पनि सृष्टि–स्थिति लय प्रारम्भ हुन्छ । अव परमेश्वर एक भएर पनि उहाँलाई दुई भावले हेरिन्छ,  बास्तवमा यस्तो हैन, त्यो त मायाको भ्रम हो । जस्तै – पानी आफ्नाे  कारण तेजको सहयोगले ठोस, तरल र वाष्प आकार धारण गरेर तीन हुन्छ वस्तुतः तीन हैन, केवल अवस्था भेद मात्र हो, त्यस्तै माया पनि निज कारण परमेश्वरको सहयोगले नाना तत्वमा परिणत हुन्छ । पुनः जस्तो जल तेजबाट उत्पन्न हुनका लागि तेज विना अरू केही छैन, एउटै मात्र छ, केवल तेजको रूपान्तर मात्र हो, त्यस्तै माया पनि ब्रम्हविना अरू केही हैन । अतः एक रस तत्वमा नै ठोस, तरल, वाष्प यी तीनरूप जस्तै एक ब्रम्हमा नै जगत्का नानारूप प्रतिभात छन् । अतः यस श्लोकमा  'सूत्रे मणिगणा इव' यस उपमाद्वारा धागो र मणिको प्रभेद देखाएर परमेश्वरको द्वैतभाव ग्रहण हुँदैन, मायाद्वारा जगत्लाई आँखाले बहु देख्छ भनेर नै मणि र धागो दुबै पृथक् पदार्थको उल्लेख गरेर उपमा मात्र दिइएको हो । यस उपमाको अरू पनि सार्थकता छ । परमेश्वर परमात्मा जो  'म' रूपले जगत्लाई धारण गर्नु भएको छ, यस उपमाद्वारा त्यही कुरा संझाइएको छ । एउटा माला उन्न एउटा धागो चाहिन्छ, धागोलाई मणिभित्र प्रवेश गराउनु पर्छ, पछि जसै त्यही धागो जसको आश्रय लिएर मणिहरू सबै परस्पर आवद्ध भएर माला नाम धारण गर्दछन् त्यो धागो पनि फेरि देखिदैन अथवा त्यही धागो मणिहरूको माला बन्नमा एकमात्र आश्रय वा कारण हो त्यसलाई छोडेर अरू कुनै दोस्रो कारण छैन, जगत् पनि ठीक त्यस्तै नै छ । जड र चैतन्यको संयोगले एक एक मणिरूप यी जुन असंख्य जीव छन्, यी असंख्य जीवहरू भित्र एक 'म' वर्तमान छ । यस 'म' को अस्तित्व आफै आफै सबैले सम्झेका छन्, तर कसैले देख्न पाउंदैन । मणिमय मालाको धागो जस्तै जगत्को एक मात्र आश्रय 'म' हुँ ।यसलाई अब साधकले प्रत्यक्ष गरेर देख्दछन् – 'म' भन्दा श्रेष्ठ अरू केही छैन, अद्वारा नै जगत् प्रपञ्चको उत्पत्ति र नाश हुन्छ, 'म' नै परम कारण हो । वास्तवमा 'म' नै आत्मा, सहस्रारदेखि मूलाधारसम्म सुषुम्ना भित्र ब्रम्हाकाशमा यसको स्वरूप विकास हुन्छ, अतः यो सर्वतत्वको मित्र ब्रम्हसूत्र रूपले वर्तमान छ । यस ब्रम्हसूत्रमा नै तत्वसमूह उत्पन्न तथा अवस्थित  छ ।

  रसोऽहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः ।
   प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु ।। ८ ।।

क्रमशः

याे पनि 

द्वितीय 'अहं', परमात्माले दिएको  'अहं'  र अद्वैतभाव

अभ्यास के हो ? वैराग्य के हो ?

योग भ्रष्टका प्रकार र लाभकाे अन्तरसम्बन्ध

चित्त शुद्धि भएर पनि ध्यान विना मुक्ति असम्भव

मनुष्यहरूको ज्ञान, भक्ति र सिद्धि प्राप्तीकाे बाटो