‘बूढा के हो !, सुर्ती खाएजस्तो छ त, हात गह्नाउँछ त हँ ?’
दुई औँला दिऊँ कि पूरै पञ्जाः बरु त नमस्कार !

  ‘बूढा के हो !, सुर्ती खाएजस्तो छ त, हात गह्नाउँछ त हँ ?’ 

अफिसबाट घर आइपुग्नासाथ श्रीमतीले शंकाको झटारोले प्रहार गरिन् । म पनि के कम भनिदिएँ– ‘आजभोलिको जमानामा जाँड, रक्सी, चुरोट, यसो माछा–मासु नखाने साधुका कोही साथीभाइ हुन्छन् त ? यसो ठूलाबडाका छेउमा बस्दा यसो एक खिली खैनी बाँडेर खायो भने जागिरसागिरका बारेमा कुरा गर्न पाइन्छ । गफ गर्ने, मनका कुरा खोल्ने ठाउँ पाइन्छ ! सम्बन्ध गहिरो हुन्छ क्या !’ 
    
‘नचाहिने कुरा गर्नुहुन्छ, जागिरका लागि भनेर कोही कुलतमा फस्छ र ! बरु जागिरै किन चाहियो ?’, श्रीमतीको आवाजमा आक्रोशको आभा देखिन्थ्यो । वास्तवमा यो मेरो मजाक मात्र थियो । हाँसोमजाक मात्र । 

दुई औँला दिऊँ कि पूरै पञ्जा !

भोलिपल्ट अफिस जान बाटामा जाँदै गर्दा एक जना परिचित भेटिए । बिहानै नुहाइधुवाइ, कपालमा चट्ट तेल लगाइएको, कोरिएको, दाह्री काटिइएको, सुन्दर व्यक्तित्वको झलक स्पष्टै देखिन्छ ।

‘ओहो ! सर गुडमर्निङ !’ 

तर जम्लाहात थियो । हात जोडेपछि त ‘नमस्कार’ भन्नुपर्ने होइन ? म सोचमा परेँ अनि मैले भनेँ– ‘नमस्कार !’
    
हँसिलो मान्छे । छोटो भेटको गफैगफमा उनले गोजीबाट सुर्तीको प्याकेट निकाले, जसको खोलमा अङ्कित चित्र अनि सुर्ती निर्माण व्यवसायमा गजबको विरोधाभास झल्किन्छ । म अर्को सोचमा थिएँ । उनले आफ्नो दायाँ हातको बूढी औँला र चोरी औँलाले अलिकति सुर्तीलाई च्यापेर बायाँ हातमा राखे साथमा अलिकति चुना मिसाए । 

गफ र काम दुवै एकसाथ । एकछिन चोरी औँलाले मज्जाले माडेपछि मेरो अघि धुलो पर्ला कि भनेर अर्कापट्टि हात तन्काए । दायाँ हातको पञ्जाले फ्याट–फ्याट धुलो उडाए । दुई औँलाले ओठमा खैनी च्याप्दै मात्र के थिए, अर्का एक जना मित्र टुप्लुक्क आइपुगे । उनले त्यही जूठो आफ्नो दायाँ हातलाई यसो टक्टक्याएर ती आगन्तुकतिर तेस्र्याए । त्यसपछि मैले पनि नवआगन्तुकतिर हात लम्काउनै पर्‍यो । थाहा भयो, अब मेरो हात पनि उत्तिकै सुर्तीको दुर्गन्धले दुर्गन्धित भएछ । 

नमस्ते गर्नु चाकडी गर्नु हो ? सानाले ठूलालाई अभिभावदन गर्छन् । सावधानीपूर्वक संस्कारयुक्त प्रणाम गर्छन् तर प्रत्युत्तर आउँछ– एउटा हात बल्लतल्ल यसो कुमभन्दा माथितिर उठाइदिन्छन् । संस्कार ! नमस्ते संस्कार । नमस्ते संस्कृति मार्नेलाई नमस्ते अनि हाम्रो लोकलाई किन यति धेरै बोझिलो, झन्झटिलो, गहु्रँगो भयो हाम्रो संस्कृति ? पीडा हुनुपर्ने होइन र ! 

अफिसतिर लम्कँदै गर्दाको अवस्थादेखिका विभिन्न घटनाले जिस्क्याउँदै गर्दा अर्का सहकर्मीका कोठा नजिकै पुगियो । मित्रले माथिल्लो तलको बार्दलीबाट सँगै जान इसारा गरेपछि सहमति जनाउँदै उनकैतिर लुसुक्क पसेँ । उनी यसो मुढामा बसेर हतारहतार मोजा लाएर जुत्ता पोलिस गर्दै रहेछन् । म ठ्याक्क पुगेँ । उनले सप्रेम मोजा लगाएर जुत्ता पोलिस गर्दै गर्दाको आफ्नो हातलाई निहुरेरै मतिर तेस्र्याएपछि मैले ‘नाइँ फोहोर छ’ भन्न सक्ने अवस्था पनि भएन । 
    
अफिस परिसरका हावा, वातावरण सबैले हाई हेलो गर्दै थिए । तिनले चाहिँ हात पसारेनन् । तिनका हातमा सिँगानका पाप्रा थिएनन् । बाटामा जति साथी भेटिन्थे, हामी दुवै जना उत्तिकै खुसीयालीमा हात मिलाउँदै अघि सर्‍यौँ । कोही गुट्का–पान मुखमा राखेर बोल्दै गर्दा हात टक्टक्याएर त कोही यसो पाइन्टमा पुसेर हात मिलाउने गर्थे । 

म पाइलैपिच्छेको गन्तव्य खोतलिने गन्तव्यमा भुलक्कड भएँ । बाटोको धुलोले पाइन्टलाई धुलाम्मे बनाएकाले हामीले धुलो टक्टक्याउँदै मात्र के थियौँ, अर्का अनन्य मित्रले हातको इसारामा हात स्पर्शको अपेक्षा गरिसकेका रहेछन् । साथैमा अर्का मित्र आफू कानमा फोनतिर तल्लीन भई कुरामा मग्न भए पनि अलिकति हाँसेर उतैको कुरामा समर्थन थप्दै आफ्नो हातलाई चाहिँ मतिर नै लम्याइरहेका थिए । एकैछिनमा एउटा फोन नम्बर टिप्नुपर्ने भएछ । कान र कुममा मोबाइल च्यापेर बोल्दै गर्दा अर्का उनका मित्र आइपुगेछन् । नम्बर टिप्दै गर्दा हात खाली नभएर सायद, उनले कलम समातेका दुई औँला तिनीतिर सारे । उनले हात मिलाएको विधि पुर्‍याए । म निरुत्तरित । सोच मग्न थिएँ । 

बाटाभरिका मित्रसँग कतै हात उठाउने, मिलाउने त कतै हातका इसारामा मुखमा खिस्स हाँसेको देखेर नेपालमा जति मौलिक खुसी भएको देश अरू छैनभैँ लाग्यो । अचानक फलासे नामका मित्र बाटामा टुप्लुक्क भेट भए । एउटा हातमा केही सामानसहित झोला झुन्ड्याएका उनी अर्को हातमा मोबाइल च्याप्दै गर्दा चार औँलाको सहारामा मोबाइल थमाएर दुई औँलाले मलाई हातको स्पर्श गरिदिए । 

म सोचमा परेँ, अब दुई औँला दिऊँ कि पूरै पञ्जाले हात मिलाऊँ ? मैले हत्तपत्त भनेँ– ‘नमस्कार हजुर !’ यतिकैमा अर्का मित्र चर्पीबाट बाहिर निस्किए । 

हात चिसो रहेछ, यसो आफ्नो हातको नारी मतिर थमाउँदै भने– ‘मेरो हात चिसो छ ।’ त्यहाँ पनि विधि पुग्यो । कति कठोर नियम । हात चाहिँ मिलाउनै पर्ने रे ! मलाई लाग्यो– नमस्कार भनौँ न !
    
पशुपतितिर जाने काम पर्‍यो । कोही ‘प्रणाम’, कोही ‘शिव ! शिव !!’ कोही ‘नमस्ते’, ‘राधे–राधे’ इत्यादि । कोही हात मिलाउँथे त कोही टाउका माथि राखेर हात जोड्थे भने कोही शिर नमाएर निहुरिन्थे । त्यो दृश्य पनि गजबकै भयो । 
    
मलाई चासो भयो । के हो नमस्ते कि, नमस्कार कि ? अनि किन हाम्रा मान्छे नमस्कार गर्दा रहेछन् ? सायद तिनलाई पहिल्यै थाहा थियो कि त ! सायद कोरोना भाइरसको जगजगीको नरसंहारको पूर्वानुमान हुँदो हो । रमाइलो होली पर्वमा भेला हुने भीडमा डराउनुपर्ने कत्रो भय बनिदियो ! 

इबोला पशुबाट सर्ने भए पनि कोरोनाचाहिँ मानिसका लागि रहेछ क्यार ! डक्टरहरूले त संक्रमित मान्छेबाट स्वाइन फ्लु, बर्ड फ्लुदेखि निमोनिया, झाडापखाला, हैजा, टाइफाइट, हेपाटाइटिस ए, हेपाटाइटिस ई, क्षयरोग, पोलियो, आउँ, जियार्डियासिस थुप्रै सरुवा रोग सर्नबाट रोकथाम हुने त रहेछ नि ! 

आखिर भाइरस, ब्याक्टेरिया, प्रोटोजोवा, फङ्गस आदिलाई हात मिलाउँदा सँगै सारिन्छ भने त ‘नमस्कार हजुर’ भने नै राम्रो होला नि ! ‘नमस्कार’को शैली प्रिय र वैज्ञानिक पो रहेछ त । आखिर ह्यान्डसेक, हक, म्वाइँभन्दा कैयौँ गुणा उत्तम रहेछ नमस्कार । मौसमी रोगको सिकारबाट जोगिने भएकैले हाम्रा पुर्खाले नमस्कारलाई स्वास्थ्यको दृष्टिले अपनाएछन् । 

असल र सम्मानित शान्ति र आदर्शको बोधले अपनाएका हुनन् अर्थात् शान्ति र धैर्यताको सूचक मानेर अपनाएछन् अनि हामी आज थम्ब, स्विच, टेलिफोन, विद्युतीय हाजिरी, किबोर्ड आदिलाई साझा प्रयोग गर्दा पनि त ब्याक्टेरिया र किटाणुको आदानप्रदान गर्ने रहेछौँ भने वैज्ञानिक भनेर मात्र नहुने पनि त रहेछ । 

हाम्रो नमस्कारः राम्रो संस्कार !

इजराइलका प्रधानमन्त्री नेतन्याहुले यस अघि नै प्रेस सम्मेलनका माझ नमस्कार संस्कारलाई अनुसरण गर्न भनेका थिए । अहिले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले समकक्षीसँग नमस्तेद्वारा अभिवादन गर्ने घोषणा गरेछन् । लन्डनमा प्रिन्स चाल्र्सदेखि नेदरल्यान्डका राजा विलियम अलेक्जेन्डर, जर्मनीका गृहमन्त्री लगायतले कोरोनाबाट बच्न भन्दै ‘नमस्ते’ अभियानले विश्वव्यापीकरण हुने अवसर पाइसकेको छ । अब कुइरो छालाले अनुसरण गरेको कुराप्रति त हामीलाई चासो हुनु स्वाभाविक नै हो ।

अन्यथा नहोस्– कोरोनाले आज मान्छेलाई प्राकृतिक जीवन, ग्रामीण बसोवास अनि स्वच्छताको सन्देशका साथमा मानिसभन्दा प्रकृति बलियो हुन्छ भन्ने पाठ पनि पढाउँदै छ क्यारे !

आहा ! अलिकति शिर नमाएर, प्रेम र सद्भावको मीठो अभिवादन । दुवै हात जोडिएको । शानदार । सायद विदेशतिर झुन्ड्याउने सामग्री धेरै बोक्नुपरेकाले एउटा हात खालि हुँदा हात मिलाउने शैली चम्क्यो होला अनि नेपालतिर लम्क्यो होला । हामी त अचानक नमस्कार शैलीको पारखी बनौँ, बनौँ लाग्यो । किनकि मेरा हजुरबालाई ‘हग’ भन्यो भने सायद चर्पीतिर पठाउनुहुँदो हो । मजाक मात्र त होइन नि हजुर ! उहाँलाई हात मिलाउनुको कुनै अर्थ र निरर्थकता दुवै थाहा छैन । 
    
अचानक एक मित्र भेटिए । मैले भनेँ– नमस्कार । उनले भने– ‘अरे, साथी, साथीमा पनि यत्रो औपचारिकता किन ?’ 

आफ्नो नाक कोट्याउँदै गरेको हात लगत्तै मतिर तेस्र्याए । म पनि अकमक्क परेँ अनि म के ठूलो भइटोपल्ने त ! हाम्रा अध्यात्मले एक आत्माले अर्को आत्मालाई प्रणाम गर्ने अर्थबोध गराए । हामीलाई यो पुरातनवादी र रुढिवादी लाग्यो । हामी आज आधुनिकताको बडप्पनमा जिउन चाहन्छौँ । हामीलाई नमस्ते भन्दै गर्दा होस् या हात मिलाउँदै गर्दा पनि हातै मिलाउने आदत बसिसक्यो । हामी बडो बडप्पनमा नाकका पोहोरा पैmलाउँछौँ । ‘मसँग फलाना... नेताले पनि हात मिलाएका छन् !’
    
आफ्नोपन छाड्नुहुँदैन भन्ने बुद्धि हामीमा सबैमा छ, जान्दछौँ पनि तर अर्काको पद्धति अपनाउँदा मपाइँत्व छाँट्न पाउने अर्को भूत पनि चढेकै छ । यही भूतले खर्लप्प खाँदा हामी अर्काकोलाई राम्रो भन्छौँ अनि जन्मदिन होइन ‘बर्थ डे’ मनाउँछौँ । केक काट्छौँ तर मन्दिरमा, घरमा आमाबाबालाई सम्झने काम होओस्, अहँ मान्दैनौँ । ‘पुरानो सिस्टम हुन्छ नि’ भन्नेहरूको निष्कर्षपश्चात् मद्यपान गर्ने होटलको कोठा चुनिन्छ ।
    
वेदसम्म पुगेर नमस्ते र नमस्कारलाई खोतल्दा ‘नमस्ते रुद्रमन्वय...’ भन्ने मन्त्रसम्म पुग्न सकिने रहेछ । ‘नमस्कार’लाई पनि ‘नमः आकार’को रूपमा बोध गरिँदो रहेछ । तर, देव–देवीको स्तुति, अभिवादनमा चाहिँ हात मिलाउने साहस गरेका रहेनछौँ । 

आफूभन्दा ठूला मानिससँग अभिभावदन गर्न नजान्ने असभ्य संस्कारको रोगबाट हामी आज त निकै बिरामी भइसक्यौँ । अब यी आदर्श गफ पनि हुनलाई हुटिट्याउँले आकाश छाँट्ने कुरा भइदेलान् भन्ने पीडाले पनि सताउँछ । नमस्कारलाई पनि धर्म र आर्य समाजको पहिचान भनेर आफ्नोपनाबाट गलहत्याएर अर्काको अँगाल्दा अलिकति पनि चिसो मान्दैनौँ । 

आफ्नोलाई घृणा र पराईको अन्धानुकरण गर्दै छौँ । घातक कर्म हो भनेर जान्दाजान्दै पनि अँगाल्दै छौँ, छोड्नुपर्छ भन्दाभन्दै पनि बोकेर हिँडिरहेका छौँ । अर्काकहाँ गएर भाँडा माझ्छौँ तर घरको कोठेबारी खन्न लाज हुन्छ हामीलाई ।
    
ताप्लेजुङका लिम्बू मित्रसँगको भेटमा मलाई ‘सेवारो’ सुन्ने रहर थियो तर उनले अनायासै भनिदिए– ‘गुड आफ्टरनुन साथी !’ र, पसारे उनको हात मतिर । आखिर मैले मात्र चाहेर भयो र ? लोकले अर्कैको थिति चोरिसक्यो । त्यसमै रत्तिइसक्यो ।
    
त्यसो भए आफ्नो गरिमा फाल्नुलाई सभ्यता र परिवर्तन भन्ने त ? नेताजीले नोकरलाई नमस्कार गरे भने, हात मिलाए भने उनको इज्जत घट्छ । त्यसैले उनी आफू सरहकासँग मात्र हात मिलाउँछन् क्यार ! आफू उपरकासँग अलिक वरबाट लम्किएर थोरै निहुरेर हात मिलाउने रहेछन् । 

वामपन्थीहरू पञ्जालाई बेस्सरी कस्दै झट्कारेर हात मिलाउँछन्, समाजवादी दम्भ राखेर हात मिलाउँछन् । कसैलाई ‘कमरेड’, कसैलाई ‘जय नेपाल !’ सायद आआफ्नै पेवा शब्द जस्ता । सबैका आआफ्नै जेजस्ता ढाँचा भए पनि हात मिलाउने संस्कारचाहिँ साझा नै हो । कसैद्वारा नअपनाइएको भन्ने छँदै छैन । भोट माग्न घरमा आउँदा नमस्कार गर्ने नेताजी पार्टी अफिसमा आफू जाँदा हातलाई बेस्सरी कसेर मिलाउँछन् । 
    
तर, अनायास एक जना विदेशीले आएर भनोस्– ‘होइन, अब नमस्कार गर ।’ त्यसपछि हामी उसको कुरालाई पक्कै वाह ! वाह ! भन्नेछौँ । हामीलाई सात्विक र सत्य विचार हो भन्ने भाव भित्री हृदयबाट एक्कासि पलाउँछ । बाहिरचाहिँ विरोध, भित्री समर्थनको युद्ध गर्ने संक्रमणका रोगी हामी । तब त संसारले जे गर्छ, त्यही गर्ने अन्धो अठोट हुन्छ । 

जब श्रद्धा हुन्छ, तब त नमस्कार हुन्छ । आफूभन्दा पाका, अग्रज, उच्च ओहोदाका या त विपरीत लिंगीलाई प्रायः नमस्कार गरिने रहेछ । त्यसो भन्दै गर्दा यो खानदानी संस्कार पनि त रहेछ, जसले ठूलाठूला सभा वा भेटमा प्रयोग गर्छन् तर सर्वहारा वर्गको पनि हो किनकि सामान्य मान्छेले हात मिलाउँदैन, नमस्कार नै गर्छ । नमस्कार त समावेशी पनि पो रहेछ । 
    
अफिसबाट घर फर्कंदै गर्दा एक जना युवा विद्यार्थी मलाई देखेपछि अर्कातिर फर्केर यसो छेलिँदै तर्किन चाहेको देखेँ । मैले बुझेँ– उनले मसँग हात मिलाउन मिल्दैन थियो क्यारे ! म ठूलो, उनी साना मान्छेमा त नमस्कार गर्ने आदतै छैन अनि त उनले नमस्कार गर्नुभन्दा भाग्नुलाई ठूलो हो भनेर किन नमानून् ! 

यो वर्गको अर्कै लहर छ । महिलासँग पनि यसो हात मिलाए स्पर्श गर्ने भाव होला क्यार ! हुँदाहुँदा कुम जोडेर, ओठ जोडेर अरू केके हो– केवल कुइरो रङ हुने र अंग्रेजी बोल्नेले गरेको सिको गर्ने सोचका हामी आधुनिक भइटोपल्ने मान्छे न रहेछौँ । 

अझ पहिला त भेट्दा मात्र नमस्कार हुन्थ्यो, अहिले छुट्दा पनि हात पसार्नै पर्ने बाध्यता छ । भाषणमा पनि नमस्कार या नमस्ते राम्रो हुन्थ्यो होला तर अहिले त ‘गुड मर्निङ’ भन्यो अनि फेरि घडी हेर्‍यो । 

‘ओहो ! आफ्टरनुन भइसकेछ, सरी है!’– सच्याउनुपर्ने भयो । आखिर नमस्कार या त नमस्तेका लागि त समयको यत्रो घेराबन्दी रहेनछ त ! 
    
नमस्कार र नमस्ते दुवै हाम्रा संस्कारयुक्त शब्द रहेछन् । एक जना ‘नमस्ते’ अभियानका अभियन्ता रामकृष्ण चालिसेसँग त्रिविमा भेट भयो । मैले पनि हात पसारेँ तर उहाँले मलाई नमस्कारको प्रत्युत्तर दिनुभयो । मलाई गर्व लाग्यो– यो खडेरीमा एउटा कुवा भेटेको अनुभूति भयो । 

त्यसो भए, नमस्ते गर्नु चाकडी गर्नु हो ? सानाले ठूलालाई अभिभावदन गर्छन् । सावधानीपूर्वक संस्कारयुक्त प्रणाम गर्छन् तर प्रत्युत्तर आउँछ– एउटा हात बल्लतल्ल यसो कुमभन्दा माथितिर उठाइदिन्छन् । संस्कार ! नमस्ते संस्कार । नमस्ते संस्कृति मार्नेलाई नमस्ते अनि हाम्रो लोकलाई किन यति धेरै बोझिलो, झन्झटिलो, गहु्रँगो भयो हाम्रो संस्कृति ? पीडा हुनुपर्ने होइन र ! 

अनि माया लागेर आउँछ– हे सत्यवादी, सुन्दर नमस्कार ! अब तिमी ‘बिचरा नमस्कार’ तिमी कति तिरस्कृत भएछौ किनकि तिमी त धार्मिक गणनाभित्र सूचीकृत भइदियौ नि त है ! विडम्बना !