कोरोनाका कारण सिप्यान क्रिकेट अवार्ड स्थगित

कोरोनाका कारण सिप्यान क्रिकेट अवार्ड स्थगित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २, २०७६

काठमाडौँ । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको ‘सिप्यान क्रिकेट अवार्ड’ तत्कालको लागि स्थगित गरेकाे छ । कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड कार्यक्रम स्थगन गरिएको सिप्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाली क्रिकेट खेलाडीको प्रदर्शन र खेल कौशललाई मूल्याङ्कन गरी पुरस्कृत गर्दै लैजाने लक्ष्य लिएको उक्त अवार्ड यही चैत २१ गते वितरण गर्ने तय भएको थियो ।   विभिन्न पाँच विधामा प्रदान गरिने अवार्डमा वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान, उत्कृष्ट क्षण र लाइफटाइम्स अचिभमेन्ट अवार्ड प्रदान गर्ने तयारी थियो ।

वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले जनही एक लाख ३२ हजार रूपैयाँ र अन्य विधाको खेलाडीले ६६ हजार रूपैयाँ प्रदान गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले जानकारी दिनुभयो । उहाँले अनुकूल परिस्थिति सिर्जना हुने वित्तिकै अवार्डको नयाँ मिति सार्वजनिक गर्ने बताउनुभयो ।