कञ्चनपुरमा सञ्चालन भएकाे नेपाल–भारत मैत्री बस सेवा पनि बन्द

कञ्चनपुरमा सञ्चालन भएकाे नेपाल–भारत मैत्री बस सेवा पनि बन्द

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २, २०७६

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताउनुभयो ।
 
‘जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय प्रदेश सरकारको पत्रको जानकारी दिँदै बस सेवा रोक्न भनिएपछि बस सेवा बन्द गरेका छौँ’, उहाँले भन्नुभयो । अर्को आदेश नआउँदासम्म बस सेवा रोकिएको उहाँले बताउनुभयो । महाकाली यातायातले नयाँदिल्ली, देहरादुनलगायतका क्षेत्रमा नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ । महाकाली, पवनदूतलगायतका आधा दर्जन बढी नेपाल–भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका छन् ।