कोरोना संन्त्रासः तनहुँको बेलचौतारामा आइसोलेसन कक्ष, आँबुखैरेनीमा सहायता कक्ष

कोरोना संन्त्रासः तनहुँको बेलचौतारामा आइसोलेसन कक्ष, आँबुखैरेनीमा सहायता कक्ष

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र ३, २०७६

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको जनाएकाे  छ ।

अस्पतालमा २० श्ययाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । 'अस्पतालको भवनभित्र एउटा कोठामा आइसोलेसन कक्ष निर्माण भइरहेको छ', उहाँले भन्नुभयो, 'केही दिनभित्रै सबै काम सकिन्छ ।'

सो कक्षमा सो भाइरसका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइने निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारीस्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको बताइएको छ ।

गण्डकी प्रदेश सरकारले यहाँसहित पोखराका पाँच अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ । पोखराका चार अस्पतालमा ७० श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक अस्पतालमा ३० र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० श्ययाको आइसोलेसन कक्ष स्थापना भएको बताइएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका –४ स्थित पुलजीपमा कोभिड–१९ परीक्षण गर्न  आइतबार स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको

छ । 

सहायता कक्षबाट कोरोना भाइरसविरुद्ध सचेतनामूलक सन्देश प्रवाह गरिने र साबुनपानीले हात धुने तरिका सिकाइने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । सहायता कक्षमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ ।  'पृथ्वीराजमार्ग हुँदै दैनिक सयौँको सङ्ख्यामा सर्वसाधारण गण्डकी प्रदेश प्रवेश गर्ने गर्दछन्', उहाँले भन्नुभयो, 'सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्ने उपायबारे सहायता कक्षबाट सचेतना प्रदान गरिनेछ । 'उक्त सहायता कक्षको  गाउँपालिकाका अध्यक्ष थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, योजना अधिकृत बुद्धिप्रसाद भुसाललगायतले अवलोकन गर्नुभएको थियो । 

जिल्लाका विभिन्न स्थानीय तहले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । कोरोना भाइरस स्वासप्रश्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुने स्थानीय तहले आह्वान गरेका छन् ।

नियमितरुपमा साबुनपानीले हात धुन, खोक्दा, हाछ्युँ गर्दा नाक र मुख ढाक्न, ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।