यस वर्षकाे गैँडा गणना चैत १० बाट शुरू

यस वर्षकाे गैँडा गणना चैत १० बाट शुरू

लोकसंवाद संवाददाता  |  पर्यटन  |  चैत्र ३, २०७६

चितवन । यही चैत १० गतेदेखि गैँडा गणना हुने भएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले यस वर्षको गैंडा गणनाको आवश्यक तयारी शुरु गरेको जनाएको छ ।

गैंडा गणनाकोलागि चैत ७ र ८ गते सौराहामा तालीम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिनुभयो । तालीममा निकुञ्जका कर्मचारी, हात्तीसार, राष्ट्रिय प्रकृति संरक्षण कोषका १०० को सहभागिता रहने उहाँले बताउनुभयो ।

संरक्षण अधिकृत उप्रेतीका अनुसार चितवनसँगै पसार्, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा  गणना गरिने छ । 
गैँडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ । गर्मी बढेपछि हात्ती थाक्ने भएकाले चैत महिनाभित्रै गैँडा गणना गर्नु राम्रो मानिन्छ । नेपालमा सन् १९९४ ,२०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटाकासहित ६४५ गैँडा थिए । चितवन सहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको वासस्थान छ ।

पछिल्लो गैँडा गणनाको दोस्रो वर्ष सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा यहाँका गैँडा स्थानान्तरण गरिएको थियो । यसले पनि गैँडाको सङ्ख्या वृद्धि हुनसक्ने अनुमान गरिएको छ । सन् २०१५ को गणनापछि चोरी शिकारबाट मर्ने गैँडाको सङ्ख्या नगन्य छ । प्राकृतिक कारणले मर्नेको सङ्ख्या भने उकालो लागिरहेको छ ।

गैँडा गणना गर्न चैत महिना राम्रो हुने बताइएको छ ।