पहिरोले क्षतिग्रस्त विद्युत् गृह एक वर्षदेखि मर्मत भएन

पहिरोले क्षतिग्रस्त विद्युत् गृह एक वर्षदेखि मर्मत भएन

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ३, २०७६

रुकुम । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका– ८ मा रहेको जमाखोला लघुजल विद्युत् गृह एक वर्षदेखि मर्मत भएको छैन । गत वर्ष असोज ३० गते आएको पहिरोले सो गृहलाई क्षति पु¥याएको थियो । क्षति भएको लामो समयसम्म  मर्मत हुन नसकेको उपभोक्ताले गुनासो गरेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको दुई करोड १३ लाख रुपैयाँ र स्थानीयको श्रमदान गरी झण्डै चार करोड रुपैयाँको लगानीमा सो गृहको २०७२ माघ २६ गते निर्माण सम्पन्न भएको थियो । उपभोक्ताले तीन वर्ष मात्र विद्युत् बाल्न पाएका थिए ।९० किलोवाट क्षमता रहेको सो आयोजनाबाट सिस्ने गाउँपालिका वडा नम्बर ७, ८ र रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–छिङका गरी करिब ९२६ घरधुरी लाभान्वित भएका थिए ।

ठूलो लगानीमा निर्माण गरिएको विद्युत् आयोजना डेढ वर्षदेखि बन्द हुँदासम्म मर्मततर्फ उपभोक्ता समिति तथा स्थानीय सरकार कसैको ध्यान जान सकेको छैन । अहिले उक्त क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् जडान गरिए पनि धेरै विद्युत् भार कटौती हुने गरेको स्थानीयको गुनासो छ । जामाखोला लघुजल विद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले पर्याप्त बजेटको अभावमा मर्मत गर्न नसकिएको र स्थानीय सरकारका साथै अन्य कुनै निकायले वास्ता नगरेको बताउनुभयो ।

आयोजनामा प्रयोग भएका समान अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् ।