हिमपातका कारण विद्युत्का पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध

हिमपातका कारण विद्युत्का पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ३, २०७६

रूकुम । तीनदिन लगातार परेको वर्षा र हिमपातका कारण रूकुम जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–२ मा विद्युत् सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि लगातार परेको हिमपातका कारण वडामा रहेको झालुङ घारीखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको २२ किलोवाट क्षमताको विद्युत् सेवा अवरुद्ध भएको हो ।

हिमपातका कारण विद्युत्का पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको पुथाउत्तरगङ्गा गाउँकार्यपालिका सदस्य जीताराम कामीले जानकारी दिनुभयो । हिउँका कारण वडाभित्रका झण्डै २० देखि २५ वटासम्म विद्युत्का पोल ढलेकाले शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्युत्का तारमा अत्यधिक हिउँ जम्मा भई पोलले थेक्न नसक्दा पोल ढलेका हुन् ।

विद्युत् सेवा अवरुद्ध हुँदा वडाका पेल्मा, यमाखार, भलारलुङ, हिम, घुइवाङ र जिगावाङका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन विद्युत् पोल गाड्न करिब एक हप्ता लाग्ने बताइएको छ ।