लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु

लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७६

तुलसीपुर । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आफ्नो गाउँपालिकाअन्तर्गत सो राजमार्गभित्र पर्ने घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिनुभयो ।

सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गर्दा पनि सम्बन्धित घरधनीले अटेर गरेपछि गाउँपालिका आफैंले टहरा हटाउन शुरु गरेको उहाँले बताउनुभयो । ‘हामीले हुलाकी राजमार्गअन्तर्गत सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गरेका थियौँ’, अध्यक्ष यादवले भन्नुभयो, ‘तर अटेर गरेपछि गाउँपालिकाले डोजर चलाएर हटाउन शुरु गरेका हौं ।

अहिले सडक विस्तारको काम अघि बढिसकेको जनाइएको छ । ‘घर टहराले गर्दा राजमार्ग विस्तारमा समस्या हुँदै आएको थियो’, उहाँले भन्नुभयो, ‘अहिले भने टहरा हटाएपछि राजमार्ग विस्तारमा सहज हुँदै गएको छ ।’
 
जग्गाको मुआब्जा पाएर पनि केहीले घरको मुआब्जा पाउनुपर्छ भन्ने माग राखेकाले पनि यस्तो समस्या आएको थियो । केहीले जग्गा बैंकमा राखेर ऋण लिएकाले पनि मालपोत कार्यालयले जग्गा रोक्का गरेको छ । त्यही कारणले पनि केहीलाई मुआब्जा वितरणमा पनि समस्या हुँदै आएको अध्यक्ष यादवले बताउनुभयो ।

सडक निर्माण गर्दा लमहीदेखि कोइलावाससम्मै धेरै समस्या भएको सडक निर्माण कम्पनी कालीका कुमार जेभीका प्रतिनिधि राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । धेरैजसो स्थानमा स्थानीयको अवरोधका कारण निर्माण कार्य ढिलाइ भएको उहाँले बताउनुभयो । ‘अहिले दाङ खण्डमा निर्माणको काम पूरा गर्ने समय सकिनै लागेको छ, उहाँले भन्नुभयो, ‘स्थानीयकै अवरोधकै कारण सडक निर्माण ढिला हुँदै गएको छ ।’