अभिभाकीय गुण, क्षमता र भूमिकाः छोराछोरीहरूलाई असल र सफल बनाउने सूत्र

अभिभाकीय गुण, क्षमता र भूमिकाः छोराछोरीहरूलाई असल र सफल बनाउने सूत्र

राजकुमार महर्जन  |  दृष्टिकोण  |  चैत्र ३, २०७६

आज पनि मलाई तपाईंसँग अनौपचारिक कुराकानीमै रम्न मन लाग्यो । तपाईंको पूर्ण साथ पाउने आशाका साथ मेरा कुराहरू राख्ने अनुमति चाहन्छु । 

अघिल्लो हप्ता हामीले छोराछोरीहरूप्रति तपाईंका सपना, इच्छा वा चाहनासँगै उनीहरूको इच्छा, चाहना र क्षमताका बारेमा खुलेर छलफल गर्‍यौं । तपाईंका छोराछोरीहरूसँग लुकेर बसेका प्रतिभा वा क्षमता पो छन् कि ? त्यसका लागि उनीहरूलाई सूक्ष्म ढंगले निरीक्षण नगरी संभव नहुने भएकाले कम्तीमा एक हप्ता उनीहरूको नजिक रहेर या नरहेर, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अध्ययन गरी तिनको टिपोट गर्ने शर्तमा हामी छुटेका थियौँ । आशा छ, तपाईंले ती सबै कामहरू भ्याइसक्नुभएको हुनुपर्छ । 

अघिल्लो हप्ता तपाईंले बोक्नुभएको कापी, कलम आज पनि साथमै छ नि है ! यदि छ भने आउनुहोस् फेरि अघि बढौँ । अबको पालो वर्तमानमा उनीहरूको शिक्षाको स्तर, उनीहरूले सिक्दै गरेका सीपहरू, उनीहरूको सोच र कार्यशैलीको वास्तविक मापन गर्ने । के तपाईंले सपनामा देख्नुभएको छोराछोरीहरूको स्तर वास्तविक छोराछोरीहरूको स्तरसँग मेल खान्छ ? खान्छ भने केके कुरामा खान्छ ? खाँदैन भने केके कुराको अपुग छ ? 

छोराछोरीहरूको वर्तमान अवस्था र भविष्यमा तपाईले पुर्‍याउन चाहेको स्थानबीच दूरी कति छ ? यहीँनेर थाहा लाग्नेछ, अब तपाईंले कुन दिशा वा कति लामो दूरीको यात्रा तय गर्नुपर्ने हुन्छ । यहीँबाट पत्ता लाग्नेछ, सन्तानप्रति तपाईंको जिम्मेवारी केके हुन् ? यहीँबाट थाहा लाग्नेछ, तपाईंको अभिभावकीय गुण, क्षमता र भूमिका । 

तल दिइएको तालिका राम्ररी अध्ययन गरी त्यसले मागेका कुराहरू भर्नुहोस् है ! तपाईंसँग फेरि पनि अनुरोध छ, एउटा तह पार नगरी अर्को तहमा फड्को नमार्नुहोस् । त्यसैले हतार नगरीकन तलको तालिकालाई पूरा गर्नुहोस् । यदि त्यो तालिका अपूरो छ या त्यसमा केही कुरा थप्नु छ भने मज्जाले थप्न सक्नुहुन्छ ।

तपाईंले आफ्ना छोराछोरीहरूलाई कति समय दिनुभएको छ ? उनीहरू सँगै हुँदा के कस्ता क्रियाकलापहरू गर्नुहुन्छ ? उनीहरूसँग के कस्ता विषयमा कुराकानी गर्नुहुन्छ ? तपाईं खुसी हुँदा के गर्नुहुन्छ र रिसाउँदा के गर्नुहुन्छ ? यी कुराहरूको हेक्का राख्दै गर्नुहोस् किनकि यावत् विषयमा छलफल गर्न म छिट्टै तपाईंसँग प्रस्तुत हुनेछु । 

माथिको तालिका भर्दै गर्दा यो कुरा कदापि नभुल्नुहोस् कि तपाईंले चाहेको क्षेत्र, सीप र क्षमता विकासमा तपाईंको नानीमा अन्तरनिहित सीप, क्षमता र उनको भित्री चाहनासँग मेल खान्छ कि खाँदैन ? उनीहरूसँग लुकेको प्रतिभा वा क्षमतासँग मेल खान्छ या खाँदैन ?

अधिकांश अभिभावकहरूले यहीँनेर गल्ती गर्ने गर्छन् । सन्तानको इच्छा, चाहना र क्षमतालाई नजरअन्दाज गर्दै अफ्नै कुरा लाद्न खोज्दा ठूलाठूला दुर्घटनाहरू हुने गरेका तथ्यहरू सार्वजनिक भइरहेका छन् । तसर्थ ध्यान दिनुपर्ने कुरा यो छ कि भुइँको टिप्न खोज्दा खल्तीको नझरोस् ।

माथिको तालिका भर्नुभयो ? यदि भर्नुभयो भने एक–दुई दिन अझै राम्ररी अध्ययन गरी त्यसलाई अन्तिम रूप दिनुहोस् । यदि भर्नुभएको छैन वा यति धेरै प्रश्नको जवाफ पाउन सक्नुभएन भने आजै बेलुका तपाईंको काखमा मस्त निदाएको तपाईंको नानीको अनुहार एक पटक राम्ररी नियाल्नुसहोेस् । नियालिरहनुहोस् ।

यदि तपाईंका छोराछोरी काखे बालबालिका होइनन् भने पनि निदाइरहेका उनीहरूलाई हेर्नुहोस् । तपाईंको भरोसा र विश्वासमा आफ्नो ज्यान सुम्पेर निदाएको तपाईंको नानीको अनुहारभित्र तपाईंका सबै जिज्ञासाहरूका जवाफ अवश्य पनि भेटिनेछन् । 

यदि तपाईंसँग सबै जवाफ अहिल्यै छ जस्तो लाग्छ भने अझ अगाडि बढौँ है त ! अब फेरि एक पटक लेख्ने कष्ट गर्नुहोस्, तपाईंले सपनामा देख्नुभएको जस्तै असल, सफल र स्वस्थ सन्तान  हुर्काउन तपाईं आज र अहिल्यैदेखि केके काम गर्नुहुनेछ ? उनीहरूको चौतर्फी विकासका लागि तपाईंका प्रत्यक्ष, परोक्ष योगदानहरू केके हुनेछन् ?

यो कुरा कदापि नबिर्सनुहोस् कि तपाईंले वर्तमानमा आफ्ना छोराछोरीहरूलाई गर्ने गरेको व्यवहार, उनीहरूलाई प्रदान गरिरहनुभएको साथ, सहयोग, शिक्षा, सुविधा र उत्प्रेरणाले नै उनीहरूलको सफलता उन्मुख यात्राको तय गर्छ । धेरै अभिभावकहरूको मुखबाट सुन्ने गरेको छु, ‘पढ्नेले जहाँ पनि पढ्छ, नपढ्नेले कहीँ पनि पढ्दैन । सबै काम हामीले गर्नुपर्ने भए तीनलाई स्कुल कलेज किन पठाउने ? स्कुलले भनेजति पैसा तिरेको छु । उनीहरूलाई कुनै कुराको कमी हुन दिएको छैन’ आदि इत्यादि । यदि त्यस्तो सोच्नुहुन्छ भने तपाईंले निकै ठूलो गल्ती गर्दै हुनुहुन्छ । 

पैसाले धेरै कुरा किन्न सकिएला तर तपाईंको साथ, सहयोग र माया किन्न सकिन्न । छोराछोरीहरूको भावनात्मक आवश्यकता पूर्ति गर्न सक्ने वस्तु संसारको कुनै पनि बजारमा खरिद गर्न सकिँदैन । ती कुराहरू केवल तपाईसँग छन् । ती के हुन् र कसरी हुन्छ भन्ने विषयमा तपाईंसँग पछि नै चर्चा गर्नेछु । आजलाई मेरो यति आग्रहलाई मानिदिनुहोस् है !

मेरा कुराले तपाईंलाई पट्यार लागेको त छैन नि ! यति लामो समयसम्म यसै बस्नुभयो, त्यसै बस्नुभयो, अब अन्तिम एक पटक दुःख दिन चाहन्छु । झिँझो नमान्नुहोस् है ! 

तपाईंले आफ्ना छोराछोरीहरूलाई कति समय दिनुभएको छ ? उनीहरू सँगै हुँदा के कस्ता क्रियाकलापहरू गर्नुहुन्छ ? उनीहरूसँग के कस्ता विषयमा कुराकानी गर्नुहुन्छ ? तपाईं खुसी हुँदा के गर्नुहुन्छ र रिसाउँदा के गर्नुहुन्छ ? यी कुराहरूको हेक्का राख्दै गर्नुहोस् किनकि यावत् विषयमा छलफल गर्न म छिट्टै तपाईंसँग प्रस्तुत हुनेछु । 

अहिलेलाई यति मात्र गरिदिनुहोस् कि आफ्ना छोेराछोरीहरूलाई तपाईंले चाहेजस्तै र उनीहरूले मन पराएजस्तै व्यक्तित्व निर्माण गर्न माथि तपाईंले लेख्नुभएका विभिन्न क्रियाकलापहरूलाई दैनिक, हप्तामा, महिनामा वा वर्षमा केके र कहिले सम्पन्न गर्नुपर्ने हो, त्यसको तालिका बनाई सोहीअनुरूप कार्य अघि बढेको छ या छैन भन्ने विषयमा नियमित रूपमा आफैँलाई जाँच गर्नुहोस् । काम भएको छ भने त्यसको प्रभाव मूल्यांकन गरी त्यसको निरन्तरता दिने हो या अर्कै केही गर्नुपर्ने हो, निर्णय लिनुहोस् ।

अन्त्यमा, मेरा कुराले तापाईंलाई कुनै प्रकारको चोट पुर्‍याएको छ भने क्षमाप्रार्थी छु । यदि तपाईंलाई एउटै मात्र कुराले छोएको छ भने कृपया आफन्त र साथीभाइलाई शेयर गरिदिनुहुन अनुरोध गर्दै अजलाई बिदा माग्न चाहन्छु ।