सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ३, २०७६

काठमाडौं । धनुषा, सहिदनगर नगरपालिका–१ कमला बाँध छड्कीस्थित सडकमा ना.४ त ७५८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक धनुषा कमला नगरपालिका–७ सिंग्याहीमडान बस्ने २२ वर्षीय संजिव महराको घटनास्थलमै मृत्यु भएको छ । 
    
सर्लाही, बाग्मती नगरपालिका–७ तुफानपुरस्थित बाग्मती खोलामा ना.२ त ९९८९ नम्बरको ट्याक्टरबाट खसेर आइतबार साँझ सोही ठाउँ बस्ने ३२ वर्षीय रामपुजन सहनीको मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 
    
कञ्चनपुर, भिमदत्त नगरपालिका–१० भुजेलास्थित सडकमा म.१ त १११० नम्बरको ट्याक्टर र म.२ प १११२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका डिमुवा बस्ने ३४ वर्षीय खगेन्द्र जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पताल हुँदै भारतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ ३४ वर्षीय हरिदत्त जोशीको उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।      
    
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।