गुम्दै गएको विवेकको राजनीति

गुम्दै गएको विवेकको राजनीति

तीर्थ प्रसाईं  |  दृष्टिकोण  |  चैत्र ३, २०७६

भोट र राजनीतिक फाइदाका लागि मान्छे कतिसम्म गिर्न सक्छ ?

एक जना रौतहटका मित्रले चुनावलगत्तै एउटा सनसनीखेज समाचार सुनाएका थिए, मधुरो स्वरमा !

उनको स्वर र सुनाउने तरिकाले नै धेरै कुरा भनिरहेको थियो ।

उनले सुनाएको एपिसोडअनुसार रौतहटमा एक नेताले चुनावकै अघिल्लो साँझ गाउँका सबै परिवारलाई निम्ता गरे, गाउँका हरेक घरमुलीलाई नेताकहाँ भोज छ भनेर बोलाइयो । उनीहरूलाई थालमा चिउरा र सख्खर थमाइयो, सबै मख्ख परे । 

तर, उनीहरूको खुसी धेरैबेर टिकेन, चिउरा खाइसक्दा उनीहरू सशस्त्र गुण्डाहरूको घेरामा थिए । त्यसपछि उनीहरूको हात पछाडि लगेर तिनलाई बाँधियो र तिनलाई रातभर नेताकै कम्पाउण्डमा राखियो ।

भोलिपल्ट सबैका घर परिवारलाई बोलाइयो र सबैले उक्त नेतालाई भोट नहाले सबैलाई मारिदिने धम्की दिइयो ।

गाउँभरको भोट तिनै नेताले पाए, साँझ सबैले आफूलाई भोट हाले भन्ने यकिन भएपछि मात्र उनीहरूलाई डोरी खोलेर छोडियो । 

ती नेता थिए- मोहम्मद अफताब आलम । अहिले उनी इँटाभट्टामा हालेर मान्छे नै जलाएको आरोपमा पक्राउ परिसकेपछि त्यस्ता झिना मसिना र ज्यान नमारेका, धम्की र बल प्रयोगले भोट ल्याएका कथा त्यसै लोप भए, त्यो हुनु सामान्य पनि हो ।

जनमत दिएर जनताले अनुमोदन गरेका व्यक्तिहरूलाई जुनसुकै आरोप लागेको भए तापनि मुक्त गर्नुपर्छ किनभने जनमत भनेको जनमत हो भनेको पनि सुनिन्छ । तर, जनमत कसरी आएको छ, जनमत के हो भन्ने कुरामा तिनले कहिले गम्भीर भएर सोचेका हुँदैनन् । प्रजातन्त्रमा जनमतको प्रकृति कस्तो हुनुपर्छ भनेर मान्छेले सोचेको, मूल्यांकन गरेको नै देखिन्न ।

हरेक कार्यकर्ताले यो घटनाबाट अर्को भयानक चित्र देख्न सक्नुपर्छ, दलका लागि लड्दा र ज्यान दिँदा रतन तिरुवाको परिवार दलका लागि नेपाली नै थियो, रतनका बुबा महान् शहीद थिए, आज उनलाई दलसँग चित्त नबुझ्नासाथ उनी कथित भए । भोलि यही हविगत वीरबहादुरहरूको पनि हो । हरेक दलप्रति आशा र विश्वास गर्ने कार्यकर्ताको हो । 

जनमत भनेर नेताकै पछि लाग्ने शक्तिपूजामा मान्छे लागेको पाइन्छ, उसको शक्ति के र कति, कसरी भन्ने कुरामा र त्यसमा आफ्नो भूमिका के र कति भन्नेमा जनता स्वयं अनभिज्ञ बसिदिन्छ, फलत: नेताहरू झनै थेत्तरा र जनतालाई उपयोग गर्ने किसिमका हुन्छन् । जनताको भोटले नेतालाई ताकत दिन्छ, त्यही ताकत प्रयोग गरेर नेताले फेरिफेरि पनि भोट लिन्छ ।

दलीय संरचना भनेका नेताका कर्तुत अनुमोदन गर्ने थलो हुन् र कार्यकर्ता भनेका त्यसलाई सुनिश्चित गर्ने औजार ।

यो नेताको कार्यकर्ता उपयोग र कार्यकर्ताको नेताका लागि उपयोग भइदिने र ससाना काम बनाउने दासत्व मुलुकका लागि घातक छ, त्यसले मान्छेलाई उपयोगका लागि विभाजन गरेर हेर्छ र मान्छेलाई मान्छे गन्दैन  । 

यो मेकानिज्म सकेसम्म नेपालीले नै गन्न दिँदैन, सामाजिक न्याय र विवेक सकिन्छ, समाज विषाक्त बन्दै जान्छ ।
केही ताजा समाचारको आधारमा यसलाई मनन् गरौँ ।

एपिसोड- १

केही दिनअघि सुमन महताराको गुल्मीको एउटा रिपोर्ट पढेको थिएँ । रिपोर्टअनुसार गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर- ४ सेउघा ठाँटीपोखराका बेलबहादुर खत्रीले आफू कांग्रेस भएकै कारण वडाले जस्तापाता नदिएको गुनासो गरेका छन् । नेपाल सरकारले स्थानीय तहसँग समन्वय गरी खरका छाना भएका गरिब परिवारलाई जस्तापाता दिएर खरको छानामुक्त बनाउने भने पनि सेउघा ठाँटीपोखराका खत्रीलाई यो कार्यक्रमले अझै छुन सकेको छैन । 

'लगातार तीन वर्षसम्म जस्तापाताकै लागि वडा कार्यालय धाएँ । पहिल्यै जस्तापाताले छाएका छिमेकीले पनि फेरि जस्तापाता पाए तर मलाई अहिलेसम्म मिलेन’, खत्रीले भने । उनले थपे, ‘मलाई कांग्रेस भएकै कारण जस्तापाता दिएनन् । खरले छाएको एक तले घरमा पाँच जनाको परिवार बस्दै आएको छु ।’

त्यति मात्र होइन, सेउघाकी बेली गौतमलाई पनि जस्तापाताको कार्यक्रमले अझै छुन सकेको छैन । उनी अहिले ८० वर्षकी भइन् । खरकै छानामुनि बेली गौतमका ४५ वर्ष बिते । उनी बारम्बार वडा कार्यालय धाउँदा पनि कसैले आफ्नो गुनासो नसुनिदिएको बताउँछिन् । गौतमले आफू वडा कार्यालमा जाँदा वडाध्यक्षले उल्टै गाली गरेर पठाएको गुनासोसमेत गरिन् ।

गौतमले आफूलाई कहाँ बस्छेस् , तँ बस्ने खोलामा हो र !  तँ हाम्रो मान्छे होइन, तँलाई कसरी जस्तापाता दिऊँ भनेर गालीसमेत गरेको हामीसँग गुनासो पोखिन् । 

पानी आउँदा नछेक्ने खरले छाएको घरमा बसेकी ८० वर्षीया गौतमले आफूमाथि राजनिति भएको भन्दै आफू कांग्रेस भएकै कारण जस्तापाता नपाएको गुनासो गरिन् ।

अझ अचम्मको कुरा के छ भने पहिल्यै जस्तापाताले नै छाएको घरमा पनि वडाले फेरि जस्तापाता दिएको छ । वडाध्यक्ष विजय मरासिनीले आफूलाई निर्वाचनमा सहयोग गरेको भन्दै मनपरी हिसाबले सिफारिसविना नै जस्तापाताको दुरूपयोग गरेको रेसुङ्गा नगरपालिका वडा नम्बर- ४ का छाया सरकार प्रमुख लीलाधर आचार्यले बताएका छन् । (स्रोत: समय हब)

राजनीतिले मान्छेलाई कसरी विवेकहीन पशु र अनागरिकको दर्जामा झार्दै लगेको छ भन्ने कुरा यो रिपोर्टले देखाउँछ । आखिर किन र कसका लागि राजनीति गर्ने ? राजनीतिक दल नेताहरूका भोट झार्ने मेकानिज्म र लुटका अखडा अनि कार्यकर्ता तिनलाई सहयोग गर्ने विवेकहीन औजार मात्र हुन् ?

यो समस्या एउटा मात्र दलको होइन, दलहरूको सोच्ने तरिका र नियतको हो- कांग्रेसले वा अर्को दलले चुनाव जितेको भए त्यसले अर्को दलको भनिएको व्यक्तिलाई त्यस्तै व्यवहार गर्थ्यो । मुख्य कुरो नेपालका नेता, कार्यकर्ता र दल नै यस्तै मानसिकतामा हुर्केका छन् । यिनीहरू नेपाल र नेपाली भन्ने भाषामा, जनसेवा भन्ने भाषामा सोच्न जान्दैनन्, भोट भन्ने भाषामा सोच्ने गर्छन्, जसले यिनीहरूलाई मान्छेभन्दा तल, पशुको दर्जामा गिराएको छ ।

एपिसोड- २

गत फागुन १८ गते पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा शहीद परिवारको नभएको भन्दै नेकपा जुम्लाले विज्ञप्ति जारी गर्‍यो । त्यस विज्ञप्तिले रतनलाई ‘कथित रतन तिरुवा’ भन्यो, विप्लव समूहको अराजनीतिक गतिविधिमा लागेको भन्यो, शहीद परिवारको होइन नै भन्यो तर त्यसको केही दिनपछि अपराध महाशाखाले उनी शहीद परिवारको सदस्य भएको स्पष्ट पार्‍यो । एसएसपी सहकुल थापाको संयोजकत्वमा गठित छानबिन समितिले रतन तिरुवाका बुबा सुरक्षाकर्मीको कारबाहीमा मारिएको निष्कर्ष निकालेको हो ।

यस घटनामा तत्काल विज्ञप्ति जारी गर्ने जुम्ला नेकपाका वीरबहादुर कुँवरको विवेक नेताको गुलामीमा घाँस चर्न गएको प्रष्ट देखिन्छ । संभव हुन्थ्यो भने नेताको बचाउका लागि वीरबहादुर जस्ता कार्यकर्ताले रतन तिरुवाहरूलाई नेपाली नै होइन भन्न पनि बेर लगाउँदैनन् भन्ने प्रष्ट देखिन्छ ।

तर, हरेक कार्यकर्ताले यो घटनाबाट अर्को भयानक चित्र देख्न सक्नुपर्छ, दलका लागि लड्दा र ज्यान दिँदा रतन तिरुवाको परिवार दलका लागि नेपाली नै थियो, रतनका बुबा महान् शहीद थिए, आज उनलाई दलसँग चित्त नबुझ्नासाथ उनी कथित भए । भोलि यही हविगत वीरबहादुरहरूको पनि हो । हरेक दलप्रति आशा र विश्वास गर्ने कार्यकर्ताको हो । 

उनीहरू आज दलको र नेताका विवेकअनुसार चलुन्जेल मात्र मान्छे गनिएका छन्, उनीहरूको कथित बन्ने दिन धेरै छैन । उनीहरू नेतासँग चित्त नबुझ्नासाथ कथित बन्छन्, गैरजिल्लावासी बन्छन् । संभवत: गैरनेपाली र अनागरिक बन्छन् । दल नामका जनता नचिन्ने दोकानहरू ग्राहक हेर्दै व्यापार गरिरहन्छन्, आफ्नै फाइदाका लागि काम गरिरहन्छन् ।

यी एपिसोडहरूले नेपालको कस्तो चित्र देखाउँछन् ?

यी एपिसोडहरूले प्रजातन्त्रको कस्तो चित्र देखाउँछन् ?

यी एपिसोडहरूले राजनीतिको कस्तो चित्र देखाउँछन् ?

जनता तथा कार्यकर्ता दुवै नेताको उपयोगको वस्तु होइनन् । तिनको विवेक लिलाम गरिएको छैन ? राजनीतिक दलहरू जनताको राजनीति गर्दै छन् ?

यस्ता घटनाहरूबाट माथि निस्कने र राजनीतिलाई सङ्लो र जनताका लागि गरिने कार्य बनाउने दायित्व जनता तथा कार्यकर्ताको हो । जबसम्म कार्यकर्ताहरूले विवेकपूर्ण राजनीति नगरेर, तथ्य र स्थानीयताको आधारमा राजनीति नगरेर नेताको गुलामीमा जीवन अर्पण गरिरहन्छन्, हामीले भनेर मात्र राजनीति सुध्रनेवाला छैन ।

मुलुकमा जनता जति जागे पनि राजनीतिक दल नामका अखडाले तिनलाई कथित बनाउँछन्, दलइतरका मान्छेलाई मान्छे देख्दैनन्, दलले तिनको फाइदाका लागि राजनीति गरेको होइन ।

हो, अबको समय जनताको आन्दोलनको होइन, कार्यकर्ताहरूको आन्दोलनको हो, गुलामी अन्त्यका लागि हो ।

कार्यकर्ता महोदय, तपाईं मान्छेमा नबदलिने र आफ्नो विवेकशील हैसियतका लागि आन्दोलन नगर्ने हो भने केही समयमा नै तपाईं कथित बन्ने दिन आउनेछ, याद गर्नुहोला ।