भत्ता रकम भुक्तानीको सहज व्यवस्थापन गर्न नसक्दा वृद्धवृद्धालाई सास्ती

भत्ता रकम भुक्तानीको सहज व्यवस्थापन गर्न नसक्दा वृद्धवृद्धालाई सास्ती

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र ३, २०७६

धनगढी । कृषि विकास बैंक, बैकिङ कार्यालय धनगढीमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको भत्ता रकम बुझ्नेको केही दिन यता भीड लागेपछि सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ ।

भीडका कारण भुक्तानी लिन असहज भई सेवाग्राहीलाई सास्ती भएको हो । ‘दिनभरी लाइनमा बसेर भुक्तानी लिनु पर्दा आफू बिरामी परिएला जस्तो भयो’, बैकिङ कार्यालयमा भेटिनु भएकी धनगढी उपमहानगरपालिका–२ की लक्ष्मीदेवी साउदले भन्नुभयो । सेवाग्राहीको भीडले बैंकका अन्य सेवासमेत प्रभावित भएका छन् । बैंकमा भत्ता बुझ्नेको भीड लागेपछि केही दिनदेखि रकम निक्षेप गर्न नपाएर फर्किनु परेको अन्य सेवाग्राहीले गुनासो गरेका छन् । 

बैंकका प्रबन्धक जगदीश पन्तले भत्ता बुझ्न आउनेको भीडका कारण बैंकका अन्य सेवा प्रभावित भइरहेको स्वीकार गर्दै कार्यालय समय बाहिर अपराह्न ५ बजेसम्म काम गरेर भए पनि सेवाग्राहीलाई सेवा प्रदान गर्नुपरेको बताउनुभयो । भीडका कारण आइतबार बैंकको काउण्टरका तीन ढोकामध्ये दुई ढोकामा चुकुल लगाएर वृद्धवृद्धा, एकल महिला, अशक्त व्यक्तिलगायतलाई भत्ता रकम भुक्तानी दिनुपरेको थियो ।

बैंकले भत्ता रकम भुक्तानीको सहज व्यवस्थापन गर्न नसक्दा वृद्धवृद्धा, अशक्तले निकै सास्ती खेपिरहेको देखिएको बैंकका अर्का सेवाग्राही मनिस जोशीले गुनासो गर्नुभयो । ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्गता भएकालगाएतका नागरिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता रकम उपलब्ध गराउने गरेको छ । 

‘धनगढी उपमहानगरपालिका कार्यालयले भत्ता पाउनेको रकम निकासा गरी पठाएकाले भत्ता लिनेको भीड लागेको हो’, प्रबन्धक पन्तले भन्नुभयो, ‘उपमहानगर क्षेत्रका वडाको हिसाबमा यस्तो रकम सम्बन्धितलाई भुक्तानी दिइरहेका छौँ ।’उपमहानगरपालिका कार्यालयका प्रवक्ता सन्तोष मुडभरीले आगामी आर्थिक वर्षदेखि प्रत्येक वडा नजिकमा रहेका बैंकमार्फत सामाजिक सुरक्षाको भत्ता रकम भुक्तानीको व्यवस्थापन गर्ने पहल थालिएको बताउनुभयो । ‘सरकारी बैंक बाहेक नीजि बैंकमा यो रकम राख्न नपाउने सरकारको नीतिले सहज भुक्तानी गर्न समस्या भइरहेको छ’, प्रवक्ता मुडभरीले भन्नुभयो, ‘आगामी वर्षदेखि वडा नजिकका जुनसुकै बैंक मार्फत् यो रकम भुक्तानी दिने व्यवस्था गर्ने प्रयासमा छौँ ।’