स्वचालित स्नायु पद्धति : परिचय र जाँच्ने तरिका

स्वचालित स्नायु पद्धति : परिचय र जाँच्ने तरिका

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  चैत्र ४, २०७६

स्वचालित स्नायु दुई प्रकारका हुन्छन् । सिम्पेथेटिक र पारासिम्पेथेटिक स्नायुहरूका बेग्लाबेग्लै काम हुन्छन् । यी स्नायुहरू विभिन्न रोगमा प्रभावित भए, नभएको कुरा पत्ता लगाउन धेरै जाँचहरू गर्न सकिन्छ । । यी जाँचहरू गर्नु अगाडि कमसे कम ३० मिनेट आराम गर्नु राम्रो मानिन्छ । । 

कफी र धुम्रपान ४ घण्टा अगाडिदेखि खानुहुँदैन । ८ घण्टा अगाडिदेखि मदिरा पनि खानुहुँदैन । यो जाँच गर्न मर्करीको रक्तचाप जाँच्ने मेसिन, ईसीजी मेसिन र नाक च्याप्ने क्लिप हुनुपर्छ ।

१. मुटुको चाल ईसीजीबाट थाहा पाउन सकिन्छ । नाडी छामेर अथवा मुटुको  धड्कन गनेर पनि मुटुको चाल पत्ता लगाउन सकिन्छ ।  आराम गरिरहेको अवस्थामा मुटुको चाल एक मिनेटमा १०० अथवा योभन्दा ज्यादा भएको पाइयो भने पारासिम्पेथेटिक स्नायु प्रभावित भएको शंका गर्नुपर्छ । मुटुको चाल ज्यादा हुने अन्य कारणहरू हुनुहुँदैन ।

२. लामो सास लिँदा मुटुको गति ज्यादा हुन्छ भने सास छाड्दा मुटुको गति कम हुन्छ । ५ सेकेण्ड लगाएर सास लिनु र ५ सेकेण्ड लगाएर सास छाड्ने गर्दा मुटुको चाल सबभन्दा ज्यादा घटीबढी हुन्छ । यो मुटुको गतिको घटीबढी एक मिनेटमा १० देखि १५ जति हुन्छ । एक मिनेटमा मुटुको चालको फरक १० भन्दा कम पाइयो भने पारासिम्पेथेटिक स्नायुलाई रोग लागेको शंका गर्नुपर्ने हुन्छ । 

जाँचहरूले स्वचालित स्नायुहरू रोगग्रस्त भए, नभएको जानकारी पाउन सकिन्छ ।  यो जाँच गर्न केही समय लाग्न सक्छ  । समय समयमा गरिएको जाँचले स्वचालित स्नायुको रोग घटे, बढेको थाहा पाउन सकिन्छ । 

सास लिँदा र छाड्दा ईसीजी गरेर मुटुको चाल थाहा पाउन सकिन्छ । ईसीजीमा दुई ‘आरवेभ’बीचको समयलाई 'आरआर इन्टरभल’ भनिन्छ । सास छाड्दाको ‘आरआर इन्टरभल’लाई सास लिँदाको ‘आरआर इन्टरभल’ले भाग गर्दा आउने अंकलाई ‘एक्सपिरेटोरी इन्सिपिरेटोरी रेसियो’ भन्ने चलन छ । 

सामान्यतया यो रेसियो १.२ भन्दा ज्यादा हुन्छ । यदि यो रेसियो १.२ भन्दा कम भयो भने पारासिम्पेथेटिक स्नायुलाई रोग लागेको हुन सक्छ । ५० वर्ष उमेर नाघेका मानिसहरूमा सास लिँदा र छाड्दा हृदय गति चालको फरक ५ सम्म हुन सक्छ ।

३. भाल्साल्भा रेसियोः भाल्साल्भा जाँच गर्नु अगाडि २० मिनेटजति आराम गर्नुपर्छ । नाकलाई ‘नेजल क्लिप’ लगाएर बन्द गर्नु आवश्यक छ । ‘ब्लडप्रेसर’ मेसिनमा जोडिएको ट्युब फुकेर मर्करीको कोमलाई ४० मिलीमिटरमा १५ सेकेण्डसम्म राख्नुपर्छ । यो जाँच गरिरहेका बेला र गरिसकेपछिसम्म ईसीजी रेकर्ड गरिरहनुपर्ने हुन्छ । ट्युब फुकिरहेको बेलाको ‘आरआर इन्टरभल’ले जाँच सकिएपछिको 'आरआर इन्टरभल’लाई भाग गर्दा ‘भाल्साल्मा रेसियो’ थाहा पाउन सकिन्छ । यो ‘भाल्साल्मा रेसियो’ १.२१ भन्दा कम भएको पाइयो भने ‘पारासिम्पेथेटिक’ स्नायु रोगी हुन सक्ने शंका गर्नुपर्छ ।

४. ३०/१५ ‘आरआर इन्टरभल’ रेसियोः ओछ्यानमा सुतेको अवस्थामा र उभिएर ईसीजी रेकर्ड गरेर यो जाँच गरिन्छ । उभिएर रेकर्ड गरिएको पन्द्रौनिरको 'आरआर इन्टरभल’ले तीसौँनिरको 'आरआर इन्टरभल’लाई भाग गर्दा ३०/१५ रेसियो निस्कन्छ । सामान्यतया यो रेसियो १.०४ भन्दा ज्यादा हुन्छ । यदि योभन्दा रेसियो कम भएको पाइयो भने ‘पारासिम्पेथेटिक’ स्नायु रोगी हुन सक्ने शंका गर्नुपर्छ ।

५. अनुहारलाई पानीमा डुबाउँदा रक्तचाप बढ्नुका साथै हृदयगतिमा पनि कम हुन्छ । यी जाँचमा चिसो पानीको आवश्यकता पर्दैन । यो जाँचले  ‘पारासिम्पेथेटिक’ स्नायुलाई प्रभाव परे, नपरेको कुरा पत्ता लगाउन मद्दत गर्छ । 

यो जाँचलाई गर्ने अर्को सजिलो तरिकालाई कोल्डफेस टेस्ट भनिन्छ । १-२ सेन्ट्रिग्रेड चिसोको ‘कोल्ड कम्प्रेस’लाई २-३ मिनेट अनुहारमा लगाई राख्दा मुटुको चाल घट्छ र रक्तचाप बढ्छ । यो जाँचले पनि पारासिम्पेथेटिक स्नायु प्रभावित भए, नभएको थाहा पाउन सकिन्छ ।

६. २-५ मिनेटसम्म उभिँदा ‘सिस्टोलिक’ रक्तचाप २० र ‘डायस्टोलिक’ रक्तचाप’ १० मिलिमिटर मर्करीभन्दा कम पाइयो भने ‘सिम्पेथेटिक स्नायुको रोग लागेको हुन सक्छ । ‘सिम्पेथेटिक’ स्नायुलाई प्रभाव परे, नपरेको पत्ता लगाउने यो सजिलो जाँच हो ।

७. हयाण्डग्रिप टेष्टः २-५ मिनेटसम्म मुठ्ठी पार्दा ‘डायष्टोलिक’ रक्तचाप १० भन्दा ज्यादा हुनुपर्छ । १० भन्दा कम रक्तचाप पाइयो भने ‘सिम्पेथेटिक’ स्नायुलाई रोग लागेको हुन सक्छ । यो जाँचमा सबभन्दा ज्यादा मुठ्ठी शक्तिको एक तिहाइ शक्ति मात्र प्रयोग गरिन्छ ।

८. १०० अंकबाट ७ लाई लगातार घटाउँदै  जाँदा ‘सिम्पेथेटिक’ स्नायु प्रभावित भएर सामान्यतया ‘डायस्टोलिक’ रक्तचाप १० भन्दा ज्यादा बढ्छ । ‘सिम्पेथेटिक’ स्नायुको रोगमा डायस्टोलिक रक्तचाप १० भन्दा कम हुन्छ ।

९. हात अथवा गोडालाई ४ डिग्री सेन्टिग्रेड तापक्रम भएको पानीमा ६०-९० सेकेण्डसम्म डुबाउँदा ‘सिम्पेथेटिक’ स्नायु प्रभावित भएर ‘डायस्टोलिक’ रक्तचाप १५ मिलिमिटर मर्करीभन्दा ज्यादा हुन्छ । यो पनि एउटा ‘सिम्पेथेटिक’ स्नायु रोगी भए, नभएको थाहा पाउने सरल जाँचको विधि हो ।

१०. टिल्ट टेष्ट :यो जाँचमा शरीरलाई ६० डिग्री एङ्गलमा उभ्याएर ईसीजी र रक्तचाप ३० मिनेट रेकर्ड गरिन्छ । बिरामीलाई १५ मिनेट सुताएर उभ्याउनुपर्छ । यो जाँचमा रक्तचाप र मुटुको गति कम हुन सक्छ । ‘टिल्ट टेष्ट’ले स्वचालित स्नायु पद्धति प्रभावित भए, नभएको पत्ता लगाउन मद्दत गर्छ ।

माथि उल्लेख गरिएका जाँचहरूले स्वचालित स्नायुहरू रोगग्रस्त भए, नभएको जानकारी पाउन सकिन्छ ।  यो जाँच गर्न केही समय लाग्न सक्छ  । समय समयमा गरिएको जाँचले स्वचालित स्नायुको रोग घटे, बढेको थाहा पाउन सकिन्छ । 

बिरामीहरूलाई स्वचालित स्नायुहरूको रोग भए, नभएको थाहा पाउन यी माथि उल्लेख गरिएका सबै जाँच गरिरहनुपर्दैन । यीमध्ये केही जाँचले स्वचालित स्नायु रोग पत्ता लगाउन सकिन्छ । यी जाँचहरू गर्न जति सजिलो छ, त्यति नै यिनीहरू उपयोगी समेत छन् ।