पनौतीका केही क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी

पनौतीका केही क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७६

काभ्रे । काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ ।     
 
पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कफ्र्यु आदेश जारी भएको कार्यालयले जनाएको छ । 

सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । ‘परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यु आदेश जारी गरेका छौँ, उहाँले भन्नुभयो ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।