सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ४, २०७६

काठमाडौं । काभ्रे, मोरङ र बर्दियाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । 

काभ्रे, पनौती नगरपालिका–५ पनौती बसपार्कस्थित सडकमा बा.५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट २ जनाको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेहरुमा खानीखोला गाउँपालिका–१ बस्ने ३३ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका गोले रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै दुर्घटनाको बिषयलाई लिएर स्थानीयबासीले बनेपा–पनौती भित्री सडक–खण्ड अवरोध गरी सवारी साधनहरु र प्रहरीमाथि ढुङगा मुढा गर्नुका साथै पनौतीस्थित अस्थाई प्रहरी बिट समेत तोडफोड गरेका थिए । 

मोरङ, कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका ५० वर्षीय पुरुषको सोमबार बेलुका मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि पथरी अस्पताल पथरी हुँदै थप उपचारका लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने सवारी सधानको प्रहरीले खोजी गरिरहेको छ । 

बर्दिया, राजापुर नगरपालिका–५ पहाडीपुरस्थित सडकमा से.१ त ७०६९ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका१ बस्ने ४० वर्षीय प्रकाश थापाको सोमबार बेलुका मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।