एसइईः महोत्तरीमा यस वर्ष 8 हजार ३२९ परीक्षार्थी सरिक हुँदै

एसइईः महोत्तरीमा यस वर्ष 8 हजार ३२९ परीक्षार्थी  सरिक हुँदै

लोकसंवाद संवाददाता  |  शिक्षा  |  चैत्र ५, २०७६

महोत्तरी । भोलिबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि  महोत्तरीमा सबै तयारी पूरा भएको छ । 

परीक्षा केन्द्रको सुरक्षा व्यवस्था, परीक्षा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, अनुगमन र हेल्थ डेस्कसहितको तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको हो ।

महोत्तरीमा यस वर्ष आठ हजार ३२९ परीक्षार्थी एसइई परीक्षामा सामेल हुँदैछन् । यो परीक्षाका लागि जिल्लामा  ३० परीक्षा केन्द्र व्यवस्था गरिएका छन् । सबै परीक्षा केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्नुका साथै आकस्मिक स्वास्थ्य डेस्कको प्रबन्धसमेत मिलाएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । 

परीक्षालाई मर्यादित बनाउन आवश्यक सुरक्षा प्रबन्ध र सघन अनुगमनको व्यवस्था मिलाएको समितिले जनाएको छ । परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रदेश शिक्षा विकास निर्देशनालय र जिल्ला परीक्षा समन्वय समितिबीच आवश्यक समन्वय भइरहेको छ । यसपालि महोत्तरीसहित प्रदेश नं २ का आठ जिल्लाबाट कूल  ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुँदैछन् । प्रदेशका आठै जिल्लामा २६७ परीक्षा केन्द्र व्यवस्थापन गरिएको छ । यसपालिको परीक्षामा प्रदेशभित्र सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट सात हजार ७०५ परीक्षार्थी सहभागी हुँदैछन् । धनुषामा ४३ र रौतहटमा ३० परीक्षा केन्द्र तोकिएको प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधामका निर्देशक चुडामणि फुँयालले जानकारी दिनुभयो । 

परीक्षा मर्यादितरूपमा सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिको नेतृत्वमा सुरक्षा, स्वास्थ्य सचेतना र आकस्मिक उपचारकक्ष, अनुगमनको आवश्यक  प्रबन्धका लागि आवश्यक  जनशक्ति व्यवस्थापन गरिएको निर्देशक फुँयालले बताउनुभयो ।