3 स्थानका ट्राफिक आइल्यान्डको व्यवस्थापन प्रभु बैंकले गर्ने

3 स्थानका ट्राफिक आइल्यान्डको व्यवस्थापन प्रभु बैंकले गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र ५, २०७६

काठमाडौं । रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी तीन स्थानका ट्राफिक आइल्यान्डको व्यवस्थापन प्रभु बैंकले गर्ने भएको छ ।

आइल्यान्डको व्यवस्थापनको विषयमा मङ्गलबार काठमाडौँ महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । 

हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले ठाउँ लिने, आफ्नो प्रचार गर्ने तर सौन्दर्य  अभिवृद्धिमा ध्यान नदिने हो भने आपसी सम्बन्ध लामो समय टिक्न सक्दैन भन्दै दिगोरूपमा काम गर्नुपर्ने धारणा राख्नुभयो । 'शहरको मुहार राम्रो बनाउन राखिएका ती ठाउँ अवाञ्छित गतिविधि सञ्चालन गर्ने ठाउँ नबनून्, मेरो चाहना यही हो', शाक्यले भन्नुभयो । 

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले महानगरले स्वीकृत गरेको ढाँचामा मौसम सुहाउँदा फूल, ठाउँ सुहाउँदा बिरुवा र आकर्षक फोहोरा निर्माण गर्ने जानकारी दिनुभयो । सम्झौताबमोजिम बैंकले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिको ट्राफिक आइल्यान्डमा बगैँचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।

आउँदो पाँच वर्षका लागि भएको सम्झौताबमोजिम आइल्यान्डको व्यवस्थापन गरेबापतको खर्च बैंक आफैँले व्यहोर्नेछ । आइल्यान्डमा बैंक र महानगरको परिचय झल्कने लोगो राखिने छ ।