सामाजिक सञ्जालः ज्ञान, विवेकबाट च्युत तस्बिर, बिचार र व्यक्तिको मूल्याङ्कन

सामाजिक सञ्जालः ज्ञान, विवेकबाट च्युत  तस्बिर,  बिचार  र व्यक्तिको मूल्याङ्कन

निर्जला कक्षपति  |  दृष्टिकोण  |  चैत्र ५, २०७६

भनिन्छ, ज्ञान नै शक्ति हो । यो त्यसै भनिएको होइन । मानिससँग भएकै ज्ञानले गर्दा नै आज मानिसहरू लेखेर, बोलेर, बिचार व्यक्त गरेर प्रतिस्पर्धा गरिरहेका छन् । 

एकातिर मानिस आफूसँग भएको ज्ञानकै कारण उसको क्षमताअनुसार बजारमा बिक्ने गरेको छ भने मानिससँग भएको ज्ञानकै उपज नयाँनयाँ कुराको सिर्जना, आविष्कार र प्रयोग पनि भइरहेका छन् । 

त्यसैले ज्ञान यस्तो कुरा हो, जसले रोजगारी दिलाउन मद्दत त गर्छ नै, आफूसँग भएको ज्ञानको प्रयोग गरी नयाँ कामको सिर्जना गर्नसमेत सघाउ पुर्‍याउँछ । हामीकहाँ एउटा भनाइ पनि छ, जसको बुद्धि, विवेक र ज्ञानले जति भ्याउँछ, उसले त्यति नै गर्ने हो । मानिसले काम गर्दै जाँदा, आफ्ना बिचार व्यक्त गर्दै जाँदा ऊसँग भएका ज्ञानको मापन गर्न सकिन्छ । मानिससँग भएको ज्ञान कति छ भनेर हामी ऊ सँगसँगै काम गर्दा, कुरा गर्दा र उसले गर्ने गरेको व्यवहारबाट थाहा पाउन सक्छौँ । 

ज्ञानको क्षेत्र अथाह र असीमित छ । ज्ञान लिएर कहिल्यै सकिँदैन । मैले यति पढेँ, यति जानेँ अनि यति भयो भने पुग्यो भन्ने पनि हुँदैन । बुढो भएँ, अब ज्ञान लिन सकिँदैन भन्ने पनि हुदैन । जहिलेसम्म नयाँनयाँ कुराको ज्ञान लिने चाहना र इच्छा मानिसमा हुन्छ, उसले लिन सक्छ । सिक्ने चाहना हुँदासम्म मानिसले नयाँ कुरा सिक्न सक्छ । 

आजको जमानामा ज्ञान नै धन हो । मानिससँग कति ज्ञान छ, उसले त्यहीअनुरूपको काम गर्छ । मानिसको काम गर्ने तरिका, जिउने तरिका, व्यवहार गर्ने तरिका यी सब मानिसले प्राप्त गरेको ज्ञानअनुसार नै हुने गर्छन् ।

कुनै पनि विषयको ज्ञान किताबबाट मात्र लिन सकिन्छ भन्ने होइन । प्रत्यक्ष घुमेर, हेरेर, सुनेर, मानिससँग भेटघाट गरेर विभिन्न किसिमबाट लिन सक्छौँ । त्यसैले मानिसको चाहनाअनुसार ज्ञान जति पनि लिन सक्छौँ । ज्ञान ठूलो मानिससँग मात्र लिने भन्ने हुँदैन । आफूभन्दा सानासँग पनि लिन सकिन्छ । त्यसैले त ज्ञानको पनि क्षेत्र तोकिएको छ । 

आफूलाई कुन क्षेत्रमा अब्बल बनाउने हाम्रो आफ्नै हातमा छ । मानिसहरूले आफूलाई रुचि भएको विषयमा ज्ञान लिई आफूलाई त्यस क्षेत्रमा स्थापित र अब्बल बनाउन लागिपरिरहेका हुन्छन् ।

मानिससँग भएको ज्ञानले नै तपाईंको चिनारी पनि बनिरहेको हुन्छ । तपाईं कहीँ गएर अत्यन्त प्रभाव पार्न सक्ने बिचार व्यक्त गर्नुहुन्छ भने तपाईंले प्रखर बोल्न सक्ने प्रभावशाली व्यक्तित्वको रूपमा आफ्नो चिनारी स्थापित गराउन सक्नुहुन्छ । फलानो व्यक्ति त कति राम्रो बोल्छ हगि, उसले दिने भाषण कति राम्रो हुन्छ हगि अथवा फलानोले दिएको प्रवचन सुन्यो भने कति धेरै ज्ञान आर्जन गर्न सकिन्छ हगि भनेर मानिसले एक प्रकारको धारणा बनाउँछन् । 

यसैगरी काम पनि यस्तै हो, ज्यामी कामदेखि लिएर अफिसमा काम गर्ने हाकिम पनि राम्रो काम गर्ने हो कि ठगठाग गर्ने मानिस हो ? मानिसले  कामको आधारमा मूल्यांकन गरिरहेका हुन्छन् । काममा मिहिनेत गर्ने अनि सधैँ केही नयाँ काम गर्न खोज्ने व्यक्तिले आफ्नो काममा केही नौलोपना र फरकपना ल्याउने कोसिस गरिरहेका हुन्छन् । मानिसले गरेको कामको आधारमा नै उसको बाहिर समाजमा एक प्रकारको इमेज बनेको हुन्छ । फलानो व्यक्ति त राम्रो काम गर्ने व्यक्ति, फलानोले त राम्रो प्रवचन दिन्छ, ऊसँग धेरै ज्ञान छ, फलानोले काम गर्दा नयाँनयाँ विचारहरू ल्याउँछन् यस्तैयस्तै । 

अहिले सोसल मिडियाको जमाना छ । सामाजिक संजालमा हरेक व्यक्तिले आआफना विचार व्यक्त गरिरहेका हुन्छन् । सामाजिक संजालमा हामी स्वदेशदेखि विदेशमा बस्नेहरूसँग सम्पर्कमा हुन्छौँ । हामीले व्यक्त गर्ने बिचार एक सेकेण्डमै संसारभर एकैचोटि फैलिन्छ । हामी सबैले सबैलाई चिनेका पनि हुँदैनौँ तर सामाजिक संजालमा पोखिने बिचार  पढेर मानिसले एक प्रकारको धारणा बनाइरहेका हुन्छन् । 

सामाजिक संजालमा तपाईंले गरेका कामको तस्वीर हेरेर कामको मूल्यांकन पनि गरिरहेका हुन्छन् र त्यहीअनुसार मानिसका बारे टिप्पणी पनि गरिरहेका हुन्छन् । त्यहीअनुसार मानिसले प्रतिक्रिया पनि पाइरहेका हुन्छन् । मानिसको क्षमता र ज्ञान कति छ भन्ने कुरा सामाजिक संजालमा प्रस्तुत गरिने बिचार र तस्वीरबाट पनि मूल्यांकन गर्न सकिन्छ ।

कोही मानिसहरू कसैलाई निकै नै आदर गर्छन् । शिर निहुर्‍याउँछन् । म फलानोको अनुयायी हो भन्नसमेत पछि पर्दैनन् । मानिस किन यति धेरै कोहीप्रति झुक्ने होला, किन यति धेरै आदर गरेको होला भन्ने प्रश्न हामी सबैको मनमा उठ्न सक्छ । 

कोही व्यक्ति तपाईंलाई निकै आदर गर्छ भने त्यो आदर तपाईंलाई गरेको आदर होइन । तपाईंसँग भएको ज्ञान र तपाईंले गर्ने काम अनि तपाईंले बनाएको छविलाई आदर गरेको हो । तपाईंको इमान्दारी अनि तपाईंले कमाएको विश्वसनीयतालाई हो । भगवान् रामलाई आदर्श पुरुष र १४ वर्ष वनबासको कठिन बसाई पूरा गरेकाले भगवान् रामको तपस्यालाई सम्मान गरिएको हो । अर्जुनको दूरदृष्टि र भगवान् गौतम बुद्धको ज्ञानलाई आदर गरिएको हो । 

हामी सबैले एउटा कुरा बुझ्न जरुरी के छ भने, मानिस आफैँमा केही पनि होइन । मानिसको भौतिक शरीर केही पनि होइन तर उसले गर्ने कर्म, ज्ञान, उसका विचारले मानिसको तह छुट्टिने गर्छ र त्यहीअनुसार सम्मान प्राप्त गर्ने गर्छ । मानिसले गरेको कर्मअनुसार नै उसलाई सम्मान प्राप्त हुने गर्छ । 

कुनै समय थियो, मानिसहरू धनलाई निकै महत्त्व दिन्थे । अहिले पनि धनलाई महत्त्व दिने मानिस छैनन् भन्न खोजिएको होइन तर ज्ञान यस्तो कुरा भइसक्यो, केही पनि नभएको हरिबुंगा मानिससँग ज्ञान प्रशस्त छ र त्यो ज्ञानको सदुपयोग गर्छ भने त्यो मानिस सबभन्दा धनी हुन केही बेर लाग्दैन । त्यसैले आजको जमानामा ज्ञान नै धन हो । मानिससँग कति ज्ञान छ, उसले त्यहीअनुरूपको काम गर्छ । मानिसको काम गर्ने तरिका, जिउने तरिका, व्यवहार गर्ने तरिका यी सब मानिसले प्राप्त गरेको ज्ञानअनुसार नै हुने गर्छन् ।