पक्षघात अर्थात् ‘स्ट्रोक’: जोखिममा रहेको समूह, आशंका र लक्षण

पक्षघात अर्थात् ‘स्ट्रोक’: जोखिममा रहेको समूह, आशंका र लक्षण

डा.कृष्ण ढुङ्गाना  |  दृष्टिकोण  |  चैत्र ५, २०७६

पक्षघात मानिसमा एक्कासि देखापर्ने गम्भीर प्रकृतिको रोग हो । सर्वसाधारणको भाषामा यसलाई पक्षघात (स्ट्रोक) अर्थात् ‘झड्का’ भनेर बुझिन्छ ।

रगत वा नसामा हुने गडबडीका कारणले मस्तिष्कको कुनै एक भागमा गम्भीर असर परेको अवस्थामा समान्यतया ‘स्ट्रोक’ आउने गर्छ । यसरी आउने ‘स्ट्रोक’का कारण मस्तिष्कमा रहेका ससाना कोषहरूमा पर्याप्त मात्रामा अक्सिजन र खानेकुरा पुग्दैन । यो स्थिति केही समय रहिरह्यो भने केही मिनेटमा मस्तिष्कका कोषहरू मर्छन् वा काम गर्न छाड्छन् । 

यो अवस्था भनेको अकल्पनीय आपतकालीन अवस्था पनि हो, जसले मनिसको सहजै ज्यान जाने गरेको हुन्छ । पक्षघात भएको खण्डमा तुरुन्त उपचारको आवश्यकता पर्छ । यदि मानिसमा आइपर्ने पक्षघात समयमा नै उपचार गराउन सकिएन भने मानिसको ज्यान जान सक्ने अधिक संभावना हुन्छ । उपचारको माध्यमबाट जतिसक्दो छिटो मस्तिष्कमा क्रियाशील ससना कोषहरूलाई मर्नबाट जोगाउने वा सक्रिय गराउन सकिन्छ । त्यति नै बिरामीलाई विकराल स्थितिबाट बचाउन सकिने संभावना हुने गर्छ ।  

मानिसलाई पक्षघात केके कारणले हुन्छ ? वा  कति प्रकारका हुन्छन् ? भन्ने कुरामा समान्यतया ख्याल गरिरहेका हुँदैनाैँ । सामान्यतया ‘स्ट्रोक’ दुई प्रकारका हुने गर्छन् । एउटा हो, ‘इस्केमिक स्ट्रोक’ (मस्तिष्क जाने नसामा रगत बन्द हुने) र अर्को हो, ‘हेमोरेजिक स्ट्रोक’ (मस्तिष्कमा गएको नसा फुट्ने) । 

‘इस्केमिक स्ट्रोक’, जसले दिमागमा रगत प्रवाह गर्ने नसाहरू बन्द हुन्छ । मस्तिष्कमा रगत नसाको माध्यमबाट मुटुबाट प्रवाह हुने कुरालाई रगतका टुक्राहरूले अबरुद्ध गरिदिन्छन् । ‘इस्केमिक स्ट्रोक’ हुने मुख्य कारण रगतको नसा बन्द भएर हो । 

मानिसको उमेर बढ्दै जाँदा पक्षघातको जोखिम बढ्दै जाने हुन्छ । ५५ वर्षपछि प्रत्येक दशकमा ‘स्ट्रोक’का नयाँ बिरामीहरू दुई गुणाले बढी हुन्छन् । ‘स्ट्रोक’का बिरामीहरूमध्ये आधा बिरामीहरू ७० देखि ७५ वर्षभन्दा बढी उमेर समूहका हुने गर्छन् । 

‘हेमोरेजिक स्ट्रोक’ हुँदा मस्तिष्कमा भएको नसा फुट्ने गर्छ । यसलाई स्वास्थ्य विज्ञान वा चिकित्सकहरूले ‘हेमोरेजिक स्ट्रोक’का रूपमा बुझ्ने र उपचार गर्ने गरिन्छ । समान्यतयाः ‘हेमोरेजिक स्ट्रोक’उच्च रक्तचापको कारणले हुने गर्छ ।

हालसम्मको अध्ययनले के देखाएको छ भने पक्षघातका बिरामीमध्ये ८० प्रतिशतलाई ‘इस्केमिक स्ट्रोक’ हुने गरेको छ भने बाँकी २० प्रतिशत बिरामीलाई ‘हेमोरेजिक स्ट्रोक’ हुने गरेको छ ।  

पक्षघात अर्थात् ‘स्ट्रोक’का कारणले के कति क्षति भइरहेको छ भन्ने ख्याल गरिरहेका हुँदैनाैँ । विश्व स्वास्थ्य संगठनको एक आँकडाअनुसार संसारभरमा वर्षमा १५० लाख मानिसलाई पक्षघात हुने गर्छ । तीमध्ये करिब ३३ प्रतिशत अर्थात् ५० लाखभन्दा बढी मानिसको मृत्यु नै हुने गरेको छ भने सोही संख्याको हाराहारी मानिस सधैँका लागि अपांग भएर जीवन बिताउन बाध्य छन् । 

भनिन्छ, अमेरिकामा प्रत्येक ४० सेकेण्डमा एक जना मानिसलाई ‘स्ट्रोक’ हुन्छ भने प्रत्येक ३.७० मिनेटमा ‘स्ट्रोक’का कारणले एक जना मानिसको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ । ‘स्ट्रोक’ भएका बिरामीहरूमध्ये ३० प्रतिशत बिरामीलाई हिँडडुल गर्न अर्को मानिसको सहायता आवश्यक पर्छ । १६ प्रतिशत बिरामीलाई त ‘केयर होम’मा नै राखेर निरन्तर हेरचाह गर्नुपर्ने हुन्छ ।

विभिन्न मुलुकमा पक्षघातको अवस्थाबारे पनि फरक फरक आँकडाहरू पाइन्छ । अहिले विकसित मुलुकहरूमा पक्षघातका नयाँ बिरामीहरूमा र पक्षघातका कारणले हुने मृत्युमा कमी आउन थालेको छ । यसरी कमी आउनुको मुख्य कारण हो– मानिसहरूमा पक्षघातको लक्षणहरूका बारेमा आएको सचेतना । यो सचेतनाले अलिकति असहज हुनेवित्तिकै बिरामीहरू छिटो अस्पताल पुग्छन् साथै विकसित देशहरूका मानिसहरूमा जीवनशैलीमा पनि परिवर्तन ल्याउन थालिएको छ ।

विकसित मुलुकमा चिकित्सा विज्ञानले विकास गरेका नयाँ उपचार पद्धतिले पनि ‘स्ट्रोक’को जटिलताको सामना गर्न र यसले गर्ने मृत्युमा कमी आउँदै आएको छ ।

यद्यपि, विकासोन्मुख देशहरूमा भने यो संख्यामा वृद्धि भइहखेको छ । गरिबी, अस्वस्थ खानपिन र जीवनशैली ‘स्ट्रोक’को संख्या बढ्नुका मुख्य कारण हुन् ।

मानिसको उमेर बढ्दै जाँदा पक्षघातको जोखिम बढ्दै जाने हुन्छ । ५५ वर्षपछि प्रत्येक दशकमा ‘स्ट्रोक’का नयाँ बिरामीहरू दुई गुणाले बढी हुन्छन् । ‘स्ट्रोक’का बिरामीहरूमध्ये आधा बिरामीहरू ७० देखि ७५ वर्षभन्दा बढी उमेर समूहका हुने गर्छन् । 

पुरुषमा महिलामा भन्दा पक्षघातको जोखिम बढी हुने गर्छ । परिवारमा कसैलाई पक्षघात भएको छ भने परिवारका अन्य सदस्यहरूलाई पक्षघातको जोखिम हुने बढी संभावना हुन्छ । एक पटक पक्षघात भइसकेको मानिसलाई फेरि पक्षघात हुने बढी नै संभावना हुन्छ ।उच्च रक्तचाप, मुटु रोग, मधुमेह, कोलेस्ट्रोलको मात्रा बढी भएका मानिसहरूमा ‘स्ट्रोक’को जोखिम बढी हुने गर्छ । धुम्रपानले पनि पक्षघातको जोखिम बढाउने कुुरालाई सहयोग गर्छ ।

पक्षघात हुन लागेको वा भएको विभिन्न लक्षणहरूबाट थाहा पाउन सकिन्छ ।  केकस्ता लक्षणहरू देखियो भने पक्षघात भएको आशंका गर्नुपर्छ भन्ने विषयमा न्यूनत्तम कुराहरू थाहा पाउनु पनि त्यतिकै अवश्यक छ । 

मानिसहरूमा एक्कासि उल्लेखित कुनै लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकसँग सम्पर्क वा उपचार गरेमा ‘स्ट्रोक’को जोखिम घटाउन सकिन्छ । 
(क) शरीरको एक पाटो अर्थात् कुनै भाग नचलेमा वा लाटो भएमा
(ख) मुख बाङ्गिएमा
(ग) बोली लरबराएमा वा बोली बन्द भएमा वा बिरामीले अरूले बोलेको नबुझेमा 
(घ) चक्कर लागेमा र हिँड्दा ढलमल भएमा
(ङ) निल्न गाह्रो भएमा
(च) बेसुर भएमा 
(छ) एउटा वा दुवै आँखाको ज्योति कम भएमा
(ज) वान्ता भएमा साह्रो टाउको दुखेमा वा बेहोस भएमा ।