भत्ताको रकम सडक स्तरोन्नतिमा लगानी

भत्ताको रकम सडक स्तरोन्नतिमा लगानी

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र ६, २०७६

कञ्चनपुर । कोही भत्ता नहुने कार्यक्रममा सहभागी नै हुँदैनन् त सहभागी नभइकन भत्ता थाप्नेको समेत समाजमा कमी छैन । सुन्दा अचम्म लाग्छ , पाइएको भत्तालाई विकास निर्माणमा लगाइन्छ भनेर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिक–१० का वडा अध्यक्ष लालबहादुर ऐरले भत्ताको  रकम सडक स्तरोन्नतिमा खर्च  गरी उदाहरणीय काम गर्नुभएको छ । 

तीन दिने नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना तर्जुमा गोष्ठीमा सहभागी भई पाइएको तीन हजार ८२५ रूपैयाँ रकम उहाँले २०० मिटर सडक स्तरोन्नतिकोमा प्रदान गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘स्तरोन्नति गर्न व्यवसायीले निःशुल्करुपमा उपकरण सहित इन्धनको व्यवस्था गरिदिए । सबैको सहयोगबाट विकास सम्भव हुन्छ ।’

आरसिटी इञ्जिनीयरिङका सञ्चालक चूडामणि जोशीले वडाध्यक्षले भत्ताको रकम खर्चेर सडक स्तरोन्नतिको कार्य गर्ने इच्छा व्यक्त गर्नु भएपछि सहयोग गर्न नाइनास्ती गर्न नसकिएको बताउनुभयो । समाजमा असल कार्य गर्नेको साथ दिनुपर्छ भन्ने भावना जागृत भयो उहाँले भन्नुभयो, ‘समाजमा असल सन्देश दिनका लागि सहयोग ग¥यौँ ।’

सडक स्तरोन्नतिमा सम्लग्न रोलर, जेसिबी, ट्र्याक्टर चालक र निःशुल्क श्रमदान गर्ने स्थानीय बासिन्दालाई कार्य सम्पन्न भएपछि आफ्नै खर्चमा वडाध्यक्षले खानासमेत खुवाउनुभएको छ । वडाध्यक्ष ऐरका अनुसार महाकाली इँटाभट्टा, आरसिटी इञ्जिनीयरिङलगायतले ढुवानीका साधन, मेशिन र औजार उपलव्ध गराई सहयोग गरेका छन् । सडक स्तरोन्नति पुरा भएपछि स्थानीय बासिन्दाले सो कार्यको सराहना गरेका छन् ।