बैंकिङ कसुरमा सात दिन कैद

बैंकिङ कसुरमा सात दिन कैद

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ६, २०७६

रौतहट । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ । 

न्यायाधीशद्वय डिल्लीराज अचार्य र भीमकुमार ओझाको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दाअन्तर्गत नेपाल पत्रकार महासङ्घका तत्कालीन अध्यक्ष रविन्द्रप्रसाद साह, सचिव राजेन्द्र कुमार क्षेत्री र कोषाध्यक्ष रमेश तिमिल्सिनालाई दोषी ठहर गरेको छ ।

बैंकिङ कसुर तथा सजाय निर्धारण ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसुर अपराध गरेको हुँदा अध्यक्ष साह, सचिव क्षेत्री र कोषाध्यक्ष तिमिल्सिनालाई जनही ३३ हजार ३३३ रुपैयाँ का दरले चेक बाउन्स भएकामा भुक्तान गर्न आदेश दिएको हो । सोही जिल्ला बौधीमाई नगरपालिका– ८ बस्ने उत्तमकुमार उपाध्यायको नाउँमा नेपाल पत्रकार महासङ्घको कार्यक्रम गरेबापत राष्ट्रिय वाणिज्य बैंक गौरको खाताबाट एक लाख रूपैयाँको चेक दिइएको बताइएको छ ।