प्रेस युनियनको नवौँ महाधिवेशन स्थगित

प्रेस युनियनको नवौँ महाधिवेशन स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७६

काठमाडौँ ।  नेपाल प्रेस युनियनको यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको नवौँ महाधिवेशन स्थगन गरिएको छ ।

युनियन केन्द्रीय सचिवालयको आज बसेको बैठकले विश्वभर ‘कोभिड–१९’ को सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित सङ्क्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन नगर्नू भनी जारी गरेको सूचनाअनुसार महाधिवेशन स्थगन गर्ने निर्णय गरेको हो । 

‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणलाई लिएर नेपाल सरकारले तत्काल कुनै पनि सभासम्मेलन नगर्न र सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको सूचना जारी गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण मुलुकमा सामान्य भई सरकारले सभा, सम्मेलन आयोजना गर्न स्वीकृति प्रदान गरेपछि छिट्टै नवौँ महाधिवेशनको मिति र स्थान निर्धारण गरिने अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभएकाे छ । 

साथै युनियनले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट सजग र सतर्क रहन तथा सर्वसाधारणलाई सचेतनाका लागि सहयोग गर्न मुलुकभरका युनियनकर्मीलाई आह्वान गरेको छ ।