गाउँपालिकाको लगानीमाा विद्युत् विस्तार शुरू

गाउँपालिकाको लगानीमाा विद्युत् विस्तार शुरू

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र ७, २०७६

राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम शुरू भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नं ३ बैजापुरको बैसागाउँबाट खम्बा गाड्ने कार्य शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले लगाएको ठेक्काको विवाद नसुल्झेपछि गाउँपालिकाले आफ्नै बजेटबाट विद्युतीकरणको काम शुरू गरेको होे । सर्वसाधारणलाई विद्युत् सेवाबाट वञ्चित हुन नदिन गाउँपालिकाले आफ्नै बजेटबाट विद्युतीकरणको काम शुरू गरेको अध्यक्ष थारुले बताउनुभयो । विद्युतीकरणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड ८९ लाख रुपैयाँ विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष थारुका अनुसार चालु आर्थिक वर्षभित्र वडा नम्बर ३ र आगामी आर्थिक वर्षको बजेटबाट वडा नम्बर ४ मा विद्युतीकरणको काम सम्पन्न गरिने छ । विद्युत् बिहिन अवस्थामा रहेको वडा नम्बर ५ मा भने विद्युत् प्राधिकरणकै ठेक्का यथावत रहेको छ । अध्यक्ष थारुले गाउँपालिकाले विद्युतीकरणको कामलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । विद्युतीकरणको काम सम्पन्न गर्न सङ्घ र प्रदेश सरकारसँग आवश्यक पहल गर्ने र सम्भव नभए गाउँपालिका आफैँले बजेट थपेर भए पनि कामलाई पूर्णता दिने उहाँको भनाइ छ । 

विद्युतीकरणका लागि वडा नम्बर ३ मा कूल १९५ खम्बा गाड्ने योजना छ । खम्बा गाडिसकेपछि तार विस्तार गर्ने काम शुरू गरिने छ । विद्युत्का खम्बा गाड्न सुशासन निर्माण सेवाले ठेक्का सम्झौता गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो । गाउँमा विद्युतीकरणका लागि धमाधम खम्बा गाड्ने काम शुरू भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । अलपत्र अवस्थामा रहेको विद्युतीकरणको काममा गाउँपालिकाले पहल गरेको भन्दै स्थानीय बासिन्दा हर्षित भएका हुन् ।

सोनारी बघौडा ग्रामीण विद्युतीकरण समितिका सदस्य प्रेमराज श्रेष्ठले राजनीतिक प्रतिशोधका नाममा राप्तीपारीका जनतालाई विद्युत् सेवाबाट कसैले पनि वञ्चित गर्न नहुने बताउनुभयो । राप्तीपारी क्षेत्रमा विद्युत् विस्तारको माग राख्दै पटकपटक धाउनु परेको स्मरण गर्दै उहाँले अब विद्युतीकरणको कामले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।