टुङ्ना, फ्ये गं, मनार, दंग खीं, माहुरी र तुङ नामक लाेकबाजहरुकाे अस्तित्व संकटकमा !

टुङ्ना, फ्ये गं, मनार, दंग खीं, माहुरी र तुङ नामक लाेकबाजहरुकाे अस्तित्व  संकटकमा !

रामप्रसाद कँडेल  |  लोकरञ्जन  |  चैत्र ७, २०७६

भनिन्छ, नेपाल सांस्कृतिक रूपमा अत्यन्त धनी छ । नेपालमा रहेका विभिन्न जातजाति र सम्प्रदायका विभिन्न धार्मिक, सांस्कृति चाडपर्व र उत्सवहरू मनाउने चलन रहेको छ । यसरी मनाउने प्रत्येक धार्मिक, सांस्कृतिक चाडपर्व र उत्सवहरूमा अलग्गै विशेषता रहेका लोकबाजाहरूको सम्बन्ध रहेको पाइन्छ । 

निश्चित चाडपर्व र उत्सवका लागि अलगअलग लोकबाजाहरू प्रचलनमा रहेका पाइन्छ । अर्को शब्दमा भन्दा लोकबाजाअनुसार नै कुन चाडपर्व र उत्सव मनाउन लागिएको भन्न सजिलै सकिन्छ । नेपालमा बसोवास गर्ने विभिन्न जातीय समुदायहरूले प्रयोगमा ल्याएका र ल्याइरहेका लोकबाजाको संख्या छ सय ५५ वटा रहेको विभिन्न आँकडाहरूले देखाउने गरेका छन् । 

जाति विशेषमा अति नै लोकप्रिय रहेका कतिपय लोकबाजाको महत्त्व र विशेषताका बारेमा खासै खोज, अनुसन्धान नभएका कारण कतिपय अस्तित्व नै लोप भइरहेको छ भने कतिपय लोकबाजाहरू लोपोन्मुख रहेका छन् । कतिपय लोकबाजाप्रति युवाहरूको अकर्षण कम हुँदा पहिलो पुस्तासँगै बाजा बजाउने मानिस र निर्माण गर्ने मनिसको अभावमा अस्तित्व नै संकटमा परिरहेको छ ।

कुनै समयमा धार्मिक र सांस्कृतिक रूपमा अतिमहत्त्वपूर्ण रहेका लोकबाजाहरूबारे युवा पुस्ताहरूलाई जानकारी दिने उद्देश्यले विभिन्न बाजाको चिनारी र सन्दर्भका बारेमा यहाँ केही चर्चा गर्न खोजिएको छ । कतिपय विभन्न समुदायका मानिसले नाम र धून नै नसुनेका यस्ता अनगिन्ती बाजाहरू रहेका छन् । 

टुङ्ना 

टुङ्ना विशेषतः पहाड तथा हिमाली भेगमा भेडी गोठालाहरूमा लोकप्रिय रहेको एक किसिमको लोकबाजा हो । 

ठूलाठूला भेडी गोठहरू जाडोमा बेँसी तथा पहाडको तल्लो भेग (उपत्यका, फाँट)मा र गर्मीयाममा हिमाली खर्कहरूमा भेडा च्याङ्ग्राहरूलाई चराउन लैजाने चलन रहेको छ । 

यसरी भेडी गोठहरूमा रहेका भेडा गोठालासँग रहने टुङ्ना उनीहरूको मनोरंजनको माध्यम पनि हो । समान्यतया यो बाजा भेडा गोठालासँगै मात्र हुने गर्छ । 

यसको निर्माण नरम जातको काठलाई कपेर तल्लो भाग खोक्रो पारेर भेडाको छालाले टम्म पारेर ‘मोरेर’ गरिन्छ । बीचको भागमा अनेक प्रकारका बुट्टासमेत कुँदेर निर्माण गरेको समेत पाइन्छ । 

टुङ्ना बाजाको माथिको भाग देब्रे हातले तारहरूलाई समात्न मिल्ने गरेर सानो सजिलोसँग बनाइएको हुन्छ । बाजाको माथिल्लो भाग वा टुप्पोमा सिंह, बाघ, सिंह वा घोडाको आकार निकालेर कलात्मक ढंगले निर्माण गरिएको हुन्छ । टुङ्ना बाजाको पछाडिको घुमेको भागमा चारवटा चुकुल र चारवटा तारलाई कस्ने प्रबन्ध मिलाइएको हुन्छ । 

टुङ्ना बाजालाई हिमाली भेगमा बसोवास गर्ने कतिपय जातीय समुदायले आफ्नो रैथाने बाजाका रूपमा पनि लिन्छन् । 

यो बाजा बजाउन सजिलो तथा ध्वनिसमेत मीठो निस्किने हुन्छ । विशेषतः विभिन्न जातजातिका चाडपर्वमा तथा बेलुका खानपिनपछि टुङ्ना बजाउँदै नाच्ने चलन रहेको छ । 

टुङ्ना बाजाको लम्बाइ दुईदेखि तीन फिटसम्मको हुने गर्छ । अतलोको डोरीले यसलाई भिर्ने बनाइन्छ र नख्खीले यसको तार कोट्याएर बजाउन सकिन्छ । 

फ्ये गं 

यो पुरानो र काठमाडौं उपत्यकाको लोकप्रिय रैथाने बाजा हो ।  हाल पनि फ्ये गं मुख्यतया उपत्यकाका मन्दिरहरूका छानाको तल्लो भागमा लहरै झुन्ड्याएर राखेको हामी पाउँछौँ । 

यसको निर्माणका लागि ११ अमलको तल्लो घेरा भएको मध्यम स्तरको काँसको घण्ट बनाउन प्रयोग गर्ने सामग्री उपयोगी मानिन्छ । 

फ्ये गंको माथिल्लो भागलाई मन्दिरमा एक बित्ताजतिको फलामको साङ्लीले छिराएर राम्रोसँग तुन्द्रुङ्ग हल्लिन मिल्ने गरी काठमा छानामा पानीले नभेट्ने गरी राख्ने गरिएको छ । फ्ये गंको रालोको तल्लो भागमा पीपलको पातको आकारको मुन्द्रा बनाई तामा वा पित्तलको पाताको बनाई झुन्ड्याउने चलन छ ।

 

फ्ये गं बाजा समान्यतया हावा लाग्दा तथा लहरै राखिँदा हावाको वेगअनुरूप मन्द, मधुर र तीव्र नाद ध्वनि निस्किने गर्छ । 

मन्दिरमा स्थापित देवताअनुरूपको मन्त्रलाई सो पवित्र फ्ये गंमा प्राणश्चेतनासहित अभिमन्त्रित गरेर राख्ने तन्त्र परंपरासमेत  प्रचलनमा रहेको छ ।

स्वयं हावाद्वारा बज्ने फ्ये गं आफैँ विभिन्न मातृकाक्षर मन्त्र नाद निकाली बज्ने हुँदा मन्दिर परिसरमा अपूर्व शान्ति आनन्द प्राप्त हुने आमजनविश्वास रहिआएको छ । 

मनार 

नेपालको तराई तथा भित्री मधेसमा पूर्वदेखि पश्चिसम्म फैलिएर थारू समुदाय बसोवास गरिरहेका पाउँछौँ । 

स्थान विशेषले भाषा, वेशभूषा, गहना तथा संस्कारसमेत फरक फरक यस समुदायमा रहेको पाउँछौँ । यो समुदायले प्रयोग गर्ने बाजाहरूमा पनि आफ्नैपन रहँदै आएको पाउँछौँ  । 

यो समुदायले प्रयोग गर्ने अनेकन लोकबाजामध्ये मनार पनि एक हो । 

मनार सामान्य मादलभन्दा अलिक ठूलो आकारको हुने गर्छ । कमलो जातको काठ वा कटहरको गोलो मुढालाई राँबोले विस्तारै कोपेर प्वाल खोपिन्छ । दुवैपट्टि छेडिसकेपछि त्यसलाई केही दिन छायामा राखेर सुकाइन्छ । यसरी छायामा सुकाउँदा  त्यो मनारको घार नफुटोस् वा नचर्कियोस् भनेर सावधानी अपनाइएको हुन्छ । 

त्यो गोलो घारलाई दुवैतर्फ राम्रोसँग मिलाएर बाख्राको छालाले मोरिन्छ । बाजामा भाले र पोथी भनेर एकाएकापट्टिलाई नामकरण गरिएको पाइन्छ । पोथीतर्फ ठूलो र भालेतर्फ सानो आकारको बनाई कुँदिएको हुन्छ ।

बाख्राको छालाको तनाले कसेर त्यही तनाको खकना बनाई कम्मरमा भिरेर बजाउने चलन रहिआएको छ । थारू समुदायमा रहेका लोकप्रिय नाच झुमदा नाच, बड्की नाच, महरवादेवी नाचमा विशेष रूपले मनार बजाउने प्रचलन रहिआएको छ । 

दंग खीं 

काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने गुँला पर्वमा अनिवार्य जस्तै रहेको यो दंग खीं अचेल धेरै कम मात्र बजाउने गरिएको पाइन्छ । 

यो बाजा मरु पिगननी, असन, थहिटी, कोहिटीका केही बाजा खलःमा यो बाजा सीमित हुँदै गएको छ । उपत्यकाका अन्य कतिपय स्थानमा समेत यो बाजा कतैकतै बजाइने गरेको पाइन्छ । 

पहिलो पटक २०१६ सालमा हनुमान ढोका दरबारमा आयोजना गरेको प्रतियोगितात्मक कार्यक्रमा पनि दंग खीं वादन पाइन्छ । यस बाजाका विभिन्न तलहरू रहेका छन् । चो, जति, पलेमा, अस्तरा आदि तालमा धा, नाय्खीं अनि दंग खीं बजाउने प्रचलन रहेको छ ।

मृदंगको अपभ्रंश भएर दंग भएको भनेर दंग खींको नामकरण गरिएको हो भन्ने कथ्य इतिहास यो बाजाको रहेको छ । तर, दंग र मृदंगको ताल, बोल, स्वरमा धेरै भिन्नता रहेको यस बाजाका पारङ्गतहरूको दाबी रहँदै आएको छ । 

यो बाजा १ हात लामो र १ बित्ताको व्यास भएको दंगमा गहुँको पिठो मुछेर खरी निर्माण गरेर बजाइन्छ । 

युवा पुस्तामा यो बाजाप्रति वा बजाउन त्यति अग्रसर नदेखिएकाले तथा पाका गुरुहरूको उमेरका कारणले यो बाजा नै  संकटमा परेको देखिन्छ । 

माहुरी

म्याग्दी जिल्लाका उच्च पहाडी भागमा बस्ने समुदायहरूको लोकप्रिय बाजा पनि हो माहुरी । गाउँघरमा दुःखसुखका अभिव्यक्तिहरूलाई गीत, संगीतको माध्यमले सम्झाउने बिर्साउने गर्ने चलन रहेको छ । 

पहाडका अनकन्टार भिर, पाखाहरू नै नेपाली लोकगीत संगीतका प्रथम श्रोता तथा दर्शक रहेको भनाइ रहँदै आएको छ । यस्तै, उच्च पहाडमा पाइने निगालो जातबाट विनायो, मुरली तथा मौरी बाजा पुर्खाहरूले निर्माण गर्दै आएका पाइन्छ ।  गर्जिङ जातको निगालोबाट माहुरी बाजा निर्माण गर्ने गरिन्छ । 

साना, लगभग १ बित्ता लामा २ वटा निगालाका टुक्रा जोडेर बनाइन्छ । तीमध्ये एउटाले एउटा र अर्कोेले अलग्गै स्वर निकाल्ने गर्छन् । दुवैको संयुक्त स्वरबाट भने मह बोकेर फर्केको जंगली मौरीहरूको जस्तै स्वर निस्किने गर्छ । त्यसै कारण यस बाजाको नाम नै माहुरी बाजा भनेर राखिएको छ । 

यो बाजा परापूर्वकालदेखि उक्त भेगमा प्रचलित रहेको बाजा हो भन्ने दाबी गरिँदै आएको पाइन्छ । 
यो बाजा बजाउँदा बाजाको दुवैको प्वाल मुखमा राखेर फुकिन्छ र लयअनुसारको संगीत निकाल्न सकिन्छ । 

तुङ

तुङ पुरानो लोकबाजा हो । यो बाजा बौद्ध संप्रदायमा नभई नहुने बाजाको समूहमा पर्छ । यो बाजा विभिन्न बौद्ध मन्त्र वा अन्य अनुष्ठानहरूमो प्रयोगमा ल्याइने गरेको पाइन्छ । 

यो बाजा तयार पार्दा बाँसबाट तयर पारिन्छ भने  विभिन्न सामग्रीको चित्र वा बुट्टाहरू कुँदेर कलात्मक ढंगले निर्माण गरिन्छ । याे बाजा धुनका हिसावले मादल बर्गमा पर्दछ ।

यो बाजा लामा गुरुहरूले घ्याङ तथा गुम्बाहरूमा पूजापाठ गर्दा बजाइन्छ र तुङ बजाउँदा स्वर भाग भुइँपट्टि फर्काएर एकोहोरो ढंगले बजाउने गरिन्छ ।

यो बाजा विशेषगरी हेलम्बु क्षेत्रका ह्योल्मो समुदायले आफ्ना धार्मिक अनुष्ठानहरूमा अनिवार्य रूपमा बजाउने परंपरा रहिआएको छ ।