प्रेमले पूर्ण निर्मोही र म

सृशष्टिको सार हो मान्छे, उच्चमा पनि उच्च छ

सृष्टिको झार हो मान्छे, तुच्छमा पनि तुच्छ छ ।

निर्मोही व्यास (बग्दैबग्दै कवितासङ्ग्रहको 'विडम्बना' कविताबाट)

व्यास दाइले निबन्ध विधाका प्रभेद नियात्रा र संस्मरण धेरै लेख्नुभएको छ । त्यसैले उहाँको साहित्यिक पहिचान विशेषतः नियात्राकार/संस्मरणकारका रूपमा अधिक मात्रामा छ । तर, उहाँ कथाकार, उपन्यासकारका साथै एक जना सशक्त परिष्कारवादी कवि पनि हुनुहुन्छ । 

उहाँका नियात्रा र संस्मरणका साथै धेरै कविता पनि गम्भीरतापूर्वक पढेको छु मैले । नियात्रा र संस्मरणपछिको उहाँको साहित्यिक व्यक्तित्व कविता सिर्जनामा प्रतिविम्बन भएको देखिन्छ । छन्दकवितामा मनोहारी र प्रभावकारी शैली छ उहाँको । त्यसैले पनि मैले यस लेखको आरम्भ उहाँकै अनुष्टुप् छन्दमा आबद्ध दुई पङ्क्तिबाट गरेको हुं । व्यास दाइलाई मैले चिनेको खासगरी त्यस बेलाका मधुपर्क र गरिमा जस्ता पत्रिकाहरूमा प्रकाशित उहाँका नियात्रा र संस्मरणका माध्यमबाट हो । मनपर्ने स्रष्टाका रूपमा मेरो हृदयमा बसिकेका भए पनि उहाँसँग साक्षात्कार हुने अवसर भने मिलेको थिएन । 

बिर्सिने बानी छ मेरो, अहिले मलाई तिथिमिति र बार त ठ्याक्कै जानकारीमा आएन (व्यास दाइलाई भने थाहा हुन सक्छ) । तर, साल भने सम्झनाको फलकमा छ । २०५१ सालको माघ महिना भने पक्कै हो- व्यास दाइसँग प्रत्यक्षतः साक्षात्कार हुने अवसर जुरेको, त्यो पनि अप्रत्याशित रूपमा, कल्पना नै नगरेको अवस्था र स्थानमा ।

हाम्रो पहिलो प्रत्यक्ष भेट नेपाल प्रज्ञाप्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान)मा भएको ताजा सम्झना अहिले पनि मसँग सुरक्षित छ । प्रज्ञाबाट प्रकाशन हुने समकालीन साहित्यको सम्पादकको जिम्मेवारी त्यतिखेर साहित्यकार मित्र अविनाश श्रेष्ठले वहन गर्नुभएको थियो । हामी जस्ता मोफसलमा बसेर कलम चलाउने स्रष्टाहरू काठमाडौँ पुगेको बेला मधुपर्क, गरिमा, मिर्मिरेलगायतका पत्रिकाका सम्पादकहरूलाई भेट्न जान्थ्यौँ । 

जब उपन्यास वा नाटक पढाउन थाल्नुहुन्थ्यो, घण्टीसँग उहाँलाई मतलब हुँदैनथ्यो,  पढाएको छ पढाएको छ । कहिलेकाहीँ त विद्यार्थी पनि हैरान तर चुपचाप । पछि उहाँ सुरुमा स्वाध्ययन बिदामा र त्यसपछि अध्ययन बिदामा बस्नुभयो । त्यसै अन्तरालमा म भैरहवा सरुवा भएर गएँ अनि हाम्रो एउटै संस्थामा सहकार्य हुन पाएन तर पनि हामीबीचको दाजुभाइको प्रगाढ सम्बन्धमा भने कुनै कमी आएको छैन ।

सम्पादकहरूसँग भेट्न पाउँदा प्रसन्नतानुभूति हुन्थ्यो । यसै क्रममा प्रज्ञाप्रतिष्ठानमा पनि छिरिन्थ्यो । म अविनाशजीलाई भेट्न भनेर उहाँको कार्यकक्षमा पुगेको थिएँ । त्यहाँ प्रवेश गर्दा सोफामा बसिरहेको एक जना दुब्लो पातलो तर उज्यालो व्यक्तिको अनुहार जब मेरा आँखाअगाडि पर्‍यो, मलाई लाग्यो, कतै देखेको जस्तो, पहिले नै परिचित भएको हो कि जस्तो । 

वास्तवमा देखभेट भएको थिएन हामीबीच, यो त भ्रम मात्र थियो । पत्रिकामा प्रकाशित लेखहरूमा छापिएका फोटोले गर्दा कहीँकतै भेटेको आभास मात्र भएको थियो यथार्थमा  । हो, हाम्रो पहिलो भेट यसरी भएको थियो, समकालीन साहित्यको सम्पादकीय कक्षमा । साक्षी हुनुहुन्थ्यो- साहित्यिक मित्र अविनाश श्रेष्ठ । उहाँले नै हामी दुवैको परिचय दिँदै भन्नुभएको थियो– उहाँ निमोही व्यास र मप्रति इङ्गित गर्दै- उहाँ घनश्याम परिश्रमी ।

त्यही भेट र औपचारिक परिचयपश्चात् व्यास दाइले आफू पनि न्यौपाने थरी भएको जानकारी गराउनुभयो, 'मेरो खास नाम वेदव्यास उपाध्याय न्यौपाने हो' भनेर । अनि भन्नुभयो, 'तपाईँ त मेरो भाइ पर्नुभयो ।' 

उहाँको यस्तो आत्मीयताले मभित्र एकाएक पृथक् प्रसन्नताको सञ्चारीभाव प्रविष्ट भएको थियो । यसरी अब भने हामी साँच्चिकै दाजुभाइको नातामा अनुबन्धित भयौँ तत्क्षण नै । म प्रज्ञाप्रतिष्ठानमा जाँदा सम्पादकहरूलाई भेट्थेँ, छापिएका रचनाको पारिश्रमिक बुझ्थेँ तर प्राज्ञहरूलाई भेट्ने गरेको थिइनँ । व्यास दाइले तत्कालीन प्राज्ञ वरिष्ठ साहित्यकार रमेश विकलज्यूको कार्यकक्षमा मलाई पनि साथमा लिएर जानुभयो । परिचय र केही साहित्यिक कुराकानी भए । 

'यहाँ आउँदा पस्ने गर्नुस् न मेरोमा पनि', श्रद्धेय रमेश विकलले भन्नुभएको यो वाक्य बिर्सेको छैनँ मैले । मलाई प्राज्ञहरूलाई भेट्नु भनेको चाकरी गर्नु हो जस्तो लाग्छ, त्यसैले भेट्ने गर्दिनँ, सायद मेरो अवचेतन मनले यस्तो प्रत्युत्तर दिएको थियो उहाँलाई त्यतिखेर । यसपछि त रमेश विकल र व्यास दाइ दुवैले मलाई मायालु भावमा गाली पो गर्नुभयो । मैले तत्काल पश्चात्तापको अनुभूति गरेँ, क्षमा पनि मागेँ । त्यस समयमा व्यास दाइ ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा सेवारत हुनुहुन्थ्यो भने म पूर्वी नेपालको इलाममा अवस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सेवा गर्दै थिएँ । 

भेटको पहिलो दिन नै उहाँले मलाई इलाम टाढा भएकाले वीरगन्जमा सरुवा भई आउन आग्रह गर्नुभयो । मैले सरुवाका लागि दोहोरो सहमति चाहिने कुरा गरेँ । उहाँले सहजै भन्नुभयो, इलामबाट सहमति लिने काम तपाईँको, वीरगन्जको जिम्मा म भएँ । म साँच्चिकै आश्चर्यमा परेँ ! कति छिटो मलाई यति धेरै माया र विश्वास गरेका यी दाजुले भन्ने लाग्यो ।

पहिलो भेटले हामी दुई दाजुभाइलाई निकै निकट बनायो । काठमाडौंमा दुई-तीन दिन सँगै बस्यौँ र सँगसँगै घुम्यौँ पनि । पहिलो दिनको एक रात दाजुकी सहोदर बहिनी मनोरमा रेग्मीको धोबीधारास्थित निवासमा बसेको र भोलिपल्ट पनौती घुम्न गएको सम्झना पनि ताजै छ । पनौती कुशादेवीमा एउटा घरमा पुर्‍याउनुभयो, जुन घर दाजुका भान्जादाइहरूको रहेछ । 

दाजुकी फुपूदिदीको मासिक तिथिको श्राद्ध परेको रहेछ ठीक त्यसै दिन । श्राद्धको पितृप्रसाद ग्रहण गरेर हामी बिदा भयौँ त्यहाँबाट । त्यस दिन साँझ बनेपा आएर रामप्रसाद ज्ञवालीको डेरामा पाहुना भइयो । सुन्दर कविताका स्रष्टा मित्र रामप्रसाद ज्ञवालीसँगको पनि यो पहिलो भेट थियो मेरो । ज्ञवालीले एमए नेपालीमा सिर्जनापत्र लिएको जानकारी गराउनुभयो हामीलाई । सोही प्रयोजनका लागि उहाँले 'औँसीका फूलहरू' महाकाव्य रचना गर्नुभएको रहेछ । त्यस रातका केही घण्टा यसै कृतिको पाण्डुलिपिअन्तर्गतका पङ्क्तिहरूको अवलोकन र काव्यिक रसास्वादन तथा अन्य साहित्यिक संवादमा व्यय गरेका थियौँ हामीले । 

भोलिपल्ट बिहान जनमतका सम्पादक दाजु मोहन दुवालको निवासमा गयौँ हामी तीनै जना । रचना र पत्रिकाका माध्यमबाट नामले त चिनेको नै थिएँ तापनि मोहन दाइसँग पनि यो मेरो पहिलो साक्षात्कारको अवसर थियो । बनेपा, जनमत र मोहन दुवालका बीच गहिरो तादात्म्य थियो त्यति बेला र अद्यपर्यन्त छ । रमाइलो भएको थियो त्यो भेटघाट । गहिरो साहित्यिक भलाकुसारी भयो हामीबीच । त्यस दिनको बिहानको पेटपूजन भाउजूको आत्मीय आतिथ्यसहित मोहन दाजुकै घरमा मीठो भोजनबाट गरियो ।

व्यास दाइले वीरगन्ज फर्केपछि ठाकुरराम बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख विश्वविलास जोशी र नेपाली विभागका विभागीय प्रमुख डा. भीमचरण थापासँग मेरोबारेमा कुरा गर्नुभएछ । अहिले जस्तो सञ्चारको सुविधा त्यति बेला थिएन । ल्यान्डलाइन सेटबाट फोन गर्न पनि कार्यालयको अनुकूलता चाहिन्थ्यो । वीरगन्ज र इलामको दूरीमा हामीले सजिलै भेट्न पनि सक्दैनथ्यौँ । तर पनि मेरो सरुवा नहुन्जेल कहिले फोन र कहिले चिठीका आधारमा सम्पर्क भइरह्यो । 

सरुवाका लागि सहमति पाऊँ भन्ने व्यहोराको एउटा निवेदन लेख्ने कामबाहेक मैले अरू कुनै पहल  गर्नुपरेन यस विषयमा । यसै सन्दर्भमा सहमतिपत्र लिनका लागि दाइले मलाई वीरगन्ज बोलाउनुभयो । फागुनको महिना थियो २०५१ सालको । हामीबीच भेट भएको एक महिना पनि भएको थिएन । कति छिटो अगाडि बढाउनुभएछ  सहमतिको कुरालाई ? म आश्चर्यमा परेको थिएँ त्यतिखेर । 

अनि त अचम्म मान्दै र खुसी हुँदै इलामबाट वीरगन्जतिर हान्निएँ । वीरगन्ज पुगेपछि दाइले कलैया आफ्नै घरमा लानुभयो । पण्डित पुरोहित वृद्धावस्थाका पूज्य पिता, माता, कल्पना भाउजू, भतिजाभतिजीहरू तथा कान्छा भाइसहित आत्मीय र रमाइलो भेटघाटको सौभाग्य मिलेको थियो त्यस दिन । त्यस अवसरमा नै दाइले मलाई बडहरवा भन्ने ठाउँमा गीतकार कृष्ण सिम्खडाकहाँ पुर्‍याउनुभएको पनि सम्झना छ । त्यस दिन कृष्ण सिम्खडाको ६०औँ जन्मदिन परेको रहेछ । जन्मदिन मनाउने र शुभकामना आदानप्रदान गर्ने काम पनि भयो । 

सुन्दर गीतहरूका रचनाकार सिम्खडा मनका सफा र रमाइला, फरासिला लागेका थिए मलाई । उनको कमजोरी भनेको अलिक बढी सुरापान गर्ने रहेछ । त्यसैले परिवार र समाजको उनलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको संकेत पाएको थिएँ मैले । भोलिपल्ट ठाकुरराम बहुमुखी क्याम्पसमा पुगेर सहजतापूर्वक सहमति लिने काम भयो  अनि हामी दाजुभाइ छुट्टियौँ ।  

यसपछि दोहोरो सहमति लिएर त्रिविको केन्द्रीय कार्यालयमा पुर्‍याउने काम भने मैले नै गरेँ, गर्नु पनि त पर्‍यो नि आफ्नो लागि । वास्तवमा व्यास दाइको यस्तो माया र सद्भावले गर्दा नै हाम्रो पहिलो भेट भएको दुई-तीन महिनापछि नै सहज रूपमा मेरो सरुवा भएको थियो इलामबाट वीरगन्जमा । यो प्रसंग अहिले पनि सम्झनाको तरंगमा झलझली आइरहन्छ । मैले ठाकुरराम बहुमुखी क्याम्पसको स्वर्णजयन्ती स्मारिकामा प्रकाशित लेखमा यसबारे विस्तृत रूपमा चर्चा गरेको छु । 

पछि भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सव विशेषाङ्क क्षितिज (२०७५)मा प्रकाशित लेखमा पनि यस प्रसंगले किञ्चित स्थान पाएको छ ।  

म  इलामबाट सरुवा भएर वीरगन्ज गएपछि हामी दाजुभाइबीचको आत्मीयता अरू प्रगाढ हुन थाल्यो । हामीले आफ्ना ताजा लेखरचनाहरू एकअर्कालाई देखाउने र सुझाव लिने गर्थ्यौं । व्यास दाइका प्रकाशनलोकमा नपुग्दैको अवस्थाका धेरैभन्दा धेरै नियात्रा र संस्मरणहरूको पहिलो पाठक र सुझावदाता बन्ने सुअवसर पाएको हुन्थेँ मैले त्यतिखेर । उहाँका केही संस्मरण र नियात्राहरूलाई एउटाबाट दुईवटा बनाउन लगाएको पनि छु मैले । 

उहाँको परिष्कारवादी चिन्तन गजबको छ, एउटा रचनालाई प्रकाशन नभएसम्म कुनै न कुनै रूपमा थपघट र सुधार गरिरहने र पुनः पुनः देखाउने । बाल्यकालदेखि नै तराईमा हुर्केबढेका र भोजपुरीमा समेत मातृभाषावत् दख्खल भएका व्यास दाइको नेपाली भाषाका मौलिक वाक्य गठन र शब्दचयनमा जुन शुद्धता र परिष्कार पाइन्छ, त्यो प्रशंसनीय पक्ष लाग्दछ मलाई । (त्यस क्षेत्रमा जन्मेका र हुर्केका पहाडी मूलका अधिकतर नेपालीहरूको लवज र वाक्य प्रस्तुति त्यहाँकै मातृभाषीबाट प्रभावित भएको पाइन्छ ।)

म सरुवा भएर गएको केही महिनापछि अकस्मात् दाइ काजमा ललितकला क्याम्पसमा जानुभयो । त्यतिखेर मलाई निकै नरमाइलो लागेको थियो । तर, खै के चित्त बुझेनछ कुन्नि ? उहाँ फेरि केही महिनापछि नै फर्किनुभयो ठाकुरराम बहुमुखी क्याम्पस नै । त्यस क्याम्पसमा हामीले लगभग छ वर्षजति सहकार्य गर्‍यौँ । यसबीचमा धेरै साहित्यिक कार्यक्रममा सहयात्रा भएका छन् हाम्रा । 

साहित्यिक कार्यक्रमकै सिलसिलामा मकवानपुर, रौतहट, सर्लाही, जनकपुर, बारा, पर्सा जिल्लाका विभिन्न ठाउँमा व्यास दाइसँग पुग्ने अवसर पाएको छु मैले । मलाई यो पनि थाहा छ, उहाँलाई जब कतैबाट साहित्यिक कार्यक्रममा निम्तो आउँथ्यो, उहाँले मेरो नाम पनि सफिारिस गरिहाल्नुहुन्थ्यो । अझ कतिपय कार्यक्रममा त मलाई प्रमुख अतिथि बनाउनसमेत दबाव दिनुभएको हुन्थ्यो भन्ने मैले कतैबाट जानकारी पाउँथेँ । एक पटक गौरको कार्यक्रममा सहभगी भएर ट्रेनबाट फर्किँदा आधारातको समयमा रक्सौल-वीरगन्ज जोड्ने पुलमुनि काला कपडाधारी कालै अघोरी बाबासँग जम्काभेट भएको रोचक प्रसंग पनि छ । माघको महिना, खुब जाडो थियो । थुरथुर काँपिरहेका थियौँ । अघोरी बाबासँग यसरी जम्काभेट हुँदा हामी डराइरहेको अवस्थामा थियौँ, झनै काँप्न थाल्यौँ । तर, उनले हामीलाई यस्तो रातको अवस्थामा अगाडि नबढ्न निर्देशन दिँदै त्यहीँ जलाएको मुढामा आगो तापेर बस्न भने । 

झन्डै चार घण्टा अघोरी बाबाको साथमा आगो ताप्दै र गफ गर्दै बिताएका थियौँ । मिर्मिरे उज्यालो भएपछि मात्रै ती अघोरी बाबालाई धन्यवाद दिएर बिदा भई वीरगन्जतिर लाग्यौँ ।   

मैले बुझेअनुसार व्यास दाइ औपचारिक जिम्मेबारीबाट प्रायः टाढा बस्न रुचाउने मान्छे हुनुहुन्छ । ठाकुरराम बहुमुखी क्याम्पसमा डा. भीमचरण थापा सेवानिवृत्त भएपछि नेपाली विभागमा रिक्त हुन आएको विभागीय प्रमुख पदमा ज्येष्ठताका आधारमा उहाँ नियुक्त हुनुभएको थियो । तर, उक्त पदमा उहाँ तीन महिनाजति पनि बस्नुभएन । विभागका सबै साथीहरूको चित्त बुझ्ने गरी रुटिन बनाउनुपर्ने, कक्षाभार बाँडफाँट गर्नुपर्नेजस्ता झन्झटिला कामबाट उहाँ यति छिटो वाक्क हुनुभयो कि पदबाट नै राजीनामा दिनुभयो । मैले त्यतिबेला उहाँलाई म सहयोग गर्छु, राजीनामा नदिनू भनेर  अनुरोध गरेको थिएँ, तर माने पो ! आफ्नो मनमुताबिक चल्नै पर्ने उहाँको बानी छ । बोलेपछि बोल्यो–बोल्यो,  लागेपछि लाग्यो–लाग्यो । 

उहाँले राजीनामा गरेपछि विभागीय प्रमुखको दायित्व स्वभावतः मेरो जिम्मामा आयो । उहाँ मलाई भन्नुहुन्थ्यो, आजभोलि पनि कहिलेकाहीँ भन्नुहुन्छ, तपाईंमा प्रशासन चलाउने कला र खुबी पनि छ । उहाँले भनेजस्तै मैले त्रिविअन्तर्गत कहिले विभागीय प्रमुख, कहिले कार्यक्रम संयोजक, कहिले सहायक क्याम्पस प्रमुख त कहिले क्याम्पस प्रमुख जस्ता पदहरूमा रहेर झन्डै १६ वर्ष काम गरेको अनुभव सँगालेको छु । मलाई भाषाविज्ञान, साहित्यको इतिहास जस्ता विषय नदिनू है,  उपन्यास, कथा, कविता, नाटक जेजे दिए पनि हुन्छ । कक्षा बाँडफाँट गर्ने बेला उहाँले भन्ने गरेका यी कुरा पनि म सम्झिरहन्छु । 

जब उपन्यास वा नाटक पढाउन थाल्नुहुन्थ्यो, घण्टीसँग उहाँलाई मतलब हुँदैनथ्यो,  पढाएको छ पढाएको छ । कहिलेकाहीँ त विद्यार्थी पनि हैरान तर चुपचाप । पछि उहाँ सुरुमा स्वाध्ययन बिदामा र त्यसपछि अध्ययन बिदामा बस्नुभयो । त्यसै अन्तरालमा म भैरहवा सरुवा भएर गएँ अनि हाम्रो एउटै संस्थामा सहकार्य हुन पाएन तर पनि हामीबीचको दाजुभाइको प्रगाढ सम्बन्धमा भने कुनै कमी आएको छैन । 

वास्तवमा हामी दुई जना एउटै परिवारका पक्का दाजुभाइ जस्तै छौँ । मैले उहाँलाई आफ्नो अभिभावकतुल्य ठान्छु । यो हृदयबाट मुखरित कुरा भनेको हुँ मैले, बनावटी किमार्थ होइन ।     

हामीले एकअर्कालाई कहिल्यै ढाँटेका छैनौँ भन्ने लाग्छ मलाई । अहिले पनि हामी उत्तिकै निकट छौँ भावनात्मक रूपमा । यद्यपि, भेटघाट र भलाकुसारी स्वाभाविक रूपमा परिस्थितिले पातलिएको छ । उहाँ हरेक भेट वा सम्पर्क भएको बेला मलाई आफ्नो निवासमा आउन आग्रह गर्नुहुन्छ । व्यास दाइका म जस्तै धेरै साहित्यिक भाइहरू छन् तर मैले उहाँलाई सर्वाधिक श्रद्धेय दाजुका रूपमा सम्मान गर्ने गरेको छु र जीवनपर्यन्त यो श्रद्धा यसरी नै सुरक्षित रहोस् भन्ने चाहन्छु । व्यास दाइ र मबिचका अन्तरंग कुरा यसरी एउटा लेखमा लेखेर सकिँदैनन् । फेरिफेरिका लागि पनि चाहिन्छन् । यसर्थ अहिलेलाई भने यो संस्मरण उहाँकै सिर्जनयात्रामा प्रतिबद्धता जनाइएका यी पंक्तिबाट समापन गर्ने विचार गरेँ :

पोखूँ, पोखिरहूँ, अहर्निश उसै पोखी स्वयम् रित्तिऊँ
मेरो प्राणपखेरु भुर्र नहुँदासम्मै म सिर्जीरहूँ  

(बग्दैबग्दै कविता सङ्ग्रहको 'अक्षरको आराधना' कविताबाट) 


गजलमा विद्यावारिधि गर्ने पहिलो नेपाली डा. घनश्याम परिश्रमी नेपाली गजलका अध्येता, कवि एवं समालोचक हुनुहुन्छ ।