काँग्रेसको क्रियाशील सदस्यता  वितरण तथा नवीकरण पनि स्थगित

काँग्रेसको क्रियाशील सदस्यता  वितरण तथा नवीकरण पनि स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ८, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र नेपालमा पनि हुनसक्ने सङ्क्रमणलाई मध्यनजर गर्दै यही चैत ९ गतेदेखि चैत मसान्तसम्मका लागि स्थगन गरेको जानकारी दिनुभयो ।

  'पार्टीले ठूला भेला र सम्मेलनलाई यसअघि नै स्थगन गरेको, कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर क्रियाशील सदस्यता वितरण र नवीकरणलाई स्थगन गरेका हौँ', उहाँले भन्नुभयो । 

 काँग्रेसले शहरदेखि गाउँ हुँदै घरसम्म कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउन सबै लाग्ने बताएको छ । पार्टी प्रवक्ता शर्माले जिल्ला, क्षेत्र, नगर, गाउँ हुँदै टोलसम्म कोरोना जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहका लागि स्वयंसेवी भूमिका निभाउन सबैलाई आग्रह गरिएको बताउनुभयो ।

काँग्रेसले सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तीव्रता दिने बताएको छ । केन्द्रीय कार्यालय भने बन्द नरहने काँग्रेसले जनाएको छ ।