उपासनामा अपरोक्ष ज्ञान लाभ प्राप्तीका पाँच श्लोक र सोह्र विभूति

उपासनामा अपरोक्ष ज्ञान लाभ प्राप्तीका पाँच श्लोक र  सोह्र विभूति

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  चैत्र ८, २०७६

    रसोऽहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः ।
    प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु ।। ८ ।।

अन्वय र अर्थ – कोन्तेय = हे कोन्तेय ! अहं = म, अप्सु = जलमा, रसः = रस तन्मात्र स्वरूप शक्ति आश्रयत्वले स्थित छु, शशिसूर्ययोः = चन्द्र र सूर्यमा प्रभा अस्मि = प्रकाश रूप शक्तिको आश्रयले रहेको छु, सर्ववेदेषु प्रणवः = सम्पूर्ण वेदहरूमा वाणीको मूलभूत ओंकाररूपले रहेको छु, खे = आकाशमा, शब्दः = शब्द तन्मात्ररूपले रहेको छु, नृषु = पुरुषहरूमा, पौरुषं = उद्यम रूपले रहेको छु ।

भावार्थ – जलको रसमा म, चन्द्र सूर्यको प्रभामा म, सम्पूर्ण वेदहरूको प्रणव म, आकाशको शब्द म र पुरुषको पौरुष म हुँ ।

विशिष्टार्थ – भगवान् जो सम्पूर्ण भूतहरूभित्र हुनुहुन्छ, उहाँमा यो कसरी उनिएको छ भन्ने कुरा ८ देखि १२ श्लोकसम्म एक एक गरेर देखाउनु भएको छ । भगवान् मायामय हुनुहुन्छ, अतः उहाँ एक भएर पनि विचित्र कौशलले 'म' बनेर बहु भावले व्यक्त हुनुहुन्छ । प्रकृति उहाँबाट नै उत्पन्न, अतः प्राकृतिक पदार्थ उहाँमा नै उनिएको छ । उहाँ एक मात्र आश्रय सूक्ष्मरूपले सम्पूर्ण भूतमा नै वर्तमान हुनुहुन्छ, चौध भुवन समन्वित बृहत् ब्रम्हाण्डमा जसरी हुनुहुन्छ त्यसरी नै जीव  शरीर रूप क्षुद्र ब्रम्हाण्डमा पनि ठीक त्यस्तै प्रकारले उहाँ विद्यमान हुनुहुन्छ । अतः योगी आफ्नै  शरीरमा नै विश्व प्रत्यक्ष गर्दछन् । अनि तब उपासनामा अपरोक्ष ज्ञान लाभ गर्नाले शरीररूप विश्व कोषका आश्रय परमेश्वर कहाँ कस्तो विभूतिले विश्वलाई धारण गर्नु हुन्छ, त्यो देख्छन् । यी पाँच श्लोकहरूमा त्यो सबै विभूति सोह्र प्रकारले बताइएको छ । जस्तो –

(१)    जलको रस म हुँ – भगवान 'अहं' वा 'म' रूपले सुषुम्नाको अभ्यन्तरमा सहस्रार मूलाधार व्यापी ब्रम्हाकाशमा स्वरूप व्यक्त रहेर जस्तो एक मृत्तिका वालुवा, ढुंङ्गा, घडा, कोइला, धातु, रत्न आदि अनेक पदार्थका आकारमा परिणत हुन्छ त्यस्तै आत्ममायाद्वारा अहंत्व विस्तार गरेर विविध तत्वहरूमा परिणत हुन्छ । त्यसैले स्वाधिष्ठानमा त्यो रसतत्व हो । रसतत्व नै तरल पदार्थ मात्रको आश्रय हो । प्रधानका नामले तज्जातीय समुदयलाई बुझिन्छ । अतः अप अर्थात् जलको नामले भन्नुहुन्छ म रस रूपले तरलको धाता हुँ । भगवान्को अहंत्व चित्त् शक्ति हो । 

(२)   शिसूर्यको प्रभा म हुँ – भगवानको यो अहंत्व सस्रह्रारमा चिज्ज्योतिरूपले विकास प्राप्त छ, त्यही ज्योति कूटस्थबाट पिङ्गलामुखमा प्रतिफलित भएर विवस्वान् वा सूर्यरूप धारण गर्दछ, फेरि इडा मुखमा प्रतिफलित भएर चन्द्र वा शशिरूप धारण गर्दछ । यी शशि सूर्य नै यथाक्रममा इडा र पिङ्गलाका अधिपति हुन् र यी दुबै ज्योतिष्क मण्डगुलका प्रधान हुन् , अतः यिनैका नामबाट समुदय ज्योतिष्क मण्डललाई संझिन्छ । यी दुबैको जुन प्रभा वा ज्योति हो त्यो चिज्ज्योतिको अंश विकास हो, भगवान् प्रभारूपले यी सबैका धाता हुनुहुन्छ ।

(३)    सम्पूर्ण वेदहरूको प्रणव म हुँ – सहस्रारदेखि मूलाधार पर्यन्त विस्तृत सुषुम्ना नै वेद वा शब्द ब्रम्हको स्थान हो । अतः यसलाई सरस्वती (स्वरको आदि) भनिन्छ । यो वेद ऋग्, यजु, साम, अथर्व यी चार अंशमा विभक्त छ । भगवान्को अहंत्व यहाँ प्रणव वा ओंङ्कार (ॐ) रूपी छ । अतः प्रणव भगवान्को वाचक हो । यहाँ जे उच्चारण हुन्छ त्यो सबै त्यस प्रणवलाई आश्रय गरेर हुन्छ, त्यो सबै प्रणवको नै विलास हो । अतः भगवान् प्रणवरूपले वेदको धाता हुनुहुन्छ ।

(४)    आकाशको शब्द म हुँ – भगवानको अहंत्व विशुद्ध चक्रमा शब्दरूपी छ । शब्द तन्मात्राद्वारा नै आकाशको उत्पत्ति भएको हो । अतः भगवान् शब्दरूपले आकाशको धाता हुनुहुन्छ ।

कर्म संस्कारवश जीवको मनमा अनेक प्रकारका भावहरूको उदय हुन्छ, ती सबै भाव कुनै कुनै सात्विक कुनै कुनै राजसिक र कुनै कुनै तामसिक छन् । शम, दम आदि सात्विक भाव, हर्ष, दर्प आदि राजसभाव र शोक, मोह आदि तामस भाव हुन् । आत्मभावबाट नै यी सबै भाव उत्पन्न हुन्छन् । अर्थात आत्मसंपर्क गरेर प्रकृति क्रियाशील हुनाले प्राकृतिक विकार जे जस्तो छ ती सबैको आश्रय वा कारण आत्मा हो ।

(५)    मनुष्यमा पौरुष म हुँ – जुन शक्तिद्वारा इन्द्रियहरू क्रिया गर्न समर्थ हुन्छन् र मन, बुद्धि आफ्नो  आफ्नो कर्ममा प्रवृत्त हुन्छन् सोही पौरुष अर्थात् उद्यम,चेष्टा वा कार्य प्रवृत्ति हो । भगवान्को अहंत्व नै मूल कार्य–प्रवृत्ति स्वरूप छ । जड तथा चेतलको संयोगले जति नर अर्थात् जीव सृष्ट हुन्छ, त्यो सबै मूलकार्य प्रवृत्तिको परिणाम हो र त्यसैबाट परिचालित हुन्छ । अतः भगवान् पौरुष रूपले नरको धाता हुनुहुन्छ ।

    पुण्यो गन्धः पृथिव्याञ्च तेजश्चास्मि विभावसौ ।
    जीवनं सर्वभूतेषु तपश्चास्मि तपस्विषु ।। ९ ।।

अन्वय र अर्थ – पृथिव्यां च = पृथिवीमा पनि, पुण्यो गन्धः= सुगन्ध अर्थात गन्धतन्मात्रा रूपले स्थित छु, विभावसौ= अग्निमा, तेजः च = प्रकाश पनि, अस्मि = हँ, सर्वभूतेषु = सम्पूर्ण प्राणीहरूमा, जीवनं = प्राणवायुरूपमा छु, तपस्विषु = तपस्वीहरूमा, तपः च = तपरूपमा पनि, अस्ति = छु ।

भावार्थ – म पृथ्वीको सुगन्ध, अग्निको तेज, सम्पूर्ण प्राणीहरूको जीवन, तपस्वीहरूको  तप हुँ ।

विशिष्टार्थ – भगवान्को अहंत्व वा चित्त् शक्ति –

(६)    मूलाधारमा गन्ध तन्मात्रारूपले पृथ्वीको धाता । पुण्यगन्ध नै गन्धतन्मात्रा हो, यो अविकृत छ । विकृत भएमा नै पञ्चीकरण (पाँच तत्वहरूको मेल) प्रारम्भ  हुन्छ, तब अरू पुण्यतत्व अर्थात्  तन्मात्रावस्था रहदैन । त्यसैले  पुण्य शब्दको प्रयोग भएको छ ।

(७)    मणिपुरमा तेज वा दीप्तिरूपले विभावसु अर्थात् अग्निका धाता हुनुहुन्छ ।

(८)    अनाहतमा जीवन अर्थात् प्राणवायु रूपले सर्वभूतका धाता हुनुहुन्छ ।

(९)    मस्तक ग्रन्थिदेखि आज्ञा पर्यन्त स्थानमा तपरूपले तपस्वीहरूका धाता हुनुहुन्छ ।

    बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् ।
    बुद्धि र्बुद्धिमतामस्मि तेज स्तेजस्विनामहम् ।। १० ।।

अन्वय र अर्थ – पार्थ = हे पार्थ ! मां = मलाई, सर्वभूतानां= सम्पूर्ण प्राणीहरुको, सनातनं = अनादि (अविनाशी), बीजं = उत्पत्तिको मूल कारण, विद्धि = जान । अहं = म, बुद्धिमतां = बुद्धिमान्हरूको, बुद्धिः = विवेक शक्ति, तेजस्विनां = प्रभावशाली पुरुषहरूको, तेजः = प्रभाव, अस्मि = हुँ ।

भावार्थ – हे पार्थ ? सबै प्राणीहरूको सनातन वीज भनेर मलाई जान । बुद्धिमानहरूको बुद्धि र तेजस्वीहरूको तेज पनि म हुँ ।

विशिष्टार्थ – 

(१०)    भगवत् अहंत्व कामपुर (स्वाधिष्ठान) चक्रमा अनादि काल देखि नै वीज स्वरूप बनेर  रहनाले भगवान् नै सम्पूर्ण प्राणीहरूका सनातन कारण अर्थात् उत्पत्तिका विधाता हुनुहुन्छ ।

(११)    त्यो  अहंत्व नै पुनः आज्ञा भन्दा माथि बुद्धि क्षेत्रमा बुद्धि स्वरूपले वर्तमान छ । जीवमात्रको बुद्धि (कुनै काम गर्नु नगर्नु, त्यो निश्चय गर्ने शक्ति) त्यहीबाट नै आउँछ, अतः भगवान् बुद्धिमानहरूको बुद्धि हुनुहुन्छ ।

(१२)    तेजस्वीहरूको तेज पनि भगवान् हुनुहुन्छ । जुन शक्तिद्वारा मनमा असीम साहस र विश्वास उत्पन्न हुन्छ, जुन उत्साह र विश्वास अरू कसैबाट मिल्न सक्दैन, जसबाट इच्छा मात्रको पूरण हुन्छ त्यसैलाई तेज भन्दछन् ।  यो तेज नै ब्रम्हबल हो, अतः भगवान् शक्ति हो । सहस्रारमा यसको विकास हुन्छ, ओजः शक्ति पनि यसैलाई भन्दछन् । यो शक्ति अति पुण्य वा सत्कर्मको फल हो, अतः सबैलाई हुँदैन । जो सबैलाई हुन्छ, तिनै सबै तेजस्वी हुन् । तेजस्वीको दर्शन मात्रले नै मनुष्यहरू मुग्ध हुन्छन् । भगवान्को चित्त शक्ति सोही तेजरूपले तेजस्वीहरूको धाता हो ।

    बलं बलवतामस्मि कामरागविवर्जितम् ।
    धर्माविरिुद्धो भूतेषु कामोऽस्मि भरतर्षभ् ।। ११ ।।

अन्वय र अर्थ – भरतर्षभ = हे भरत श्रेष्ठ ? (अहं= म), बलवतां = बलवान्हरूको, कामरागविवर्जितं (कामः = अप्राप्त विषयमा तृष्णा, रागः = प्राप्त विषयमा प्रीति, यी दुबैबाट रहित) = काम र रागले विवर्जित, बलं = सामथ्र्य, अस्मि = हुँ । (तथा = त्यस्तै), भूतेषु = प्राणीहरूमा, धर्माविरुद्धः = शास्त्रानुकूल, कामः = देह धारण मात्रका लागि खानु पिउनु आदि इच्छारूप काम, अस्मि = हुँ ।

भावार्थ – हे भरतर्षभ ! बलवानहरूको काम राग विवर्जित जुन बल हो त्यो म हुँ । अनि प्राणीमात्रमा धर्मको अविरोध जुन काम हो त्यो पनि म हुँ ।

विशिष्टार्थ –

(१३)     काम राग विवर्जित बल म हुँ – अप्राप्त विषय पाउनका लागि गरिने आकांक्षाको नाम काम हो भने प्राप्त विषय प्रतिको आसक्तिको नाम राग हो । मनुष्यको जुन बल काम र राग शून्य अर्थात् जुन बल रहनाले भोगका विषयको संसर्गमा आएर पनि भोगमा अनुरक्त वा आग्रहान्वित हुँदैन, अनासक्तभावले स्थिर रहन सक्छ, शरीर र मनमा चंचलता तथा उद्वेगको उत्थान हुन दिंदैन त्यही बल आत्म बल हो, भगवत्सत्वा हो । अतएव भगवान् बलरूपले बलवान्हरूका धाता हुनुहुन्छ ।

(१४)    धर्माविरुद्ध काम म हुँ – संकल्प, विचार अनुभूति, चिन्ता, अन्तःकरणका यी चार वृत्तिहरू जुन अवस्थामा पूर्ण विकसित भएर आत्मत्व प्रत्यक्ष गर्दछन् सोही अवस्थाको नाम धर्म हो । जुन काम यस धर्मको अविरोधी अर्थात् जुन काम भोगले यस धर्मबाट  च्युत भइदैन अर्थात् जुन प्रकारले आकांक्षा र विषयभोग गर्नाले त्यस अवस्थाबाट  भ्रष्ट भएर आत्महारा भइदैन त्यही धर्म अविरोधी काम हो, त्यही काम भगवत् सत्वा हो । 'युक्ताहार विहारस्य' इत्यादि श्लोकहरूका मतमा सात्विक आहार–विहार, गार्हस्थ्य ब्रम्हचर्यानुष्ठाले यथाशास्त्र उपगत हुनु आदि नै धर्म अविरुद्ध काम हो । भगवान्को अहंत्व वा चित्शक्ति त्यस धर्मगत कामहरूले नै विश्वको धाता हो ।

    ये चैव सात्विका भावा राजसास्तामसाश्चये ।
    मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि ।। १२ ।।

अन्वय र अर्थ – सात्विकाः = सम, दम आदि सत्वगुणले युक्त, राजसाः = हर्ष, दर्प आदि रजोगुणले युक्त, तामसाः = शोक, मोह आदि तमो गुणले युक्त, ये = यी जति, एव च = पनि, भावाः = मनका विकारहरू छन्, ता = ती सबैलाई, मत्तः एव = मबाट नै उत्पन्न भएका, इति = यस्तो, विद्धि = जान, तु = किन्तु, अहं = म, तेषु न = संसारी मनुष्य जस्तै तिनीहरूको  वशमा छैन, ते तु = तिनीहरू त, मयि = मेरो वशमा छन् ।

भावार्थ – सात्विक, राजस र तामस यी जुन तीन प्रकारका भाव छन्, ती सबै मबाट नै उत्पन्न भएका जान । किन्तु म यी सबै मित्र छैन, ती सबै ममा छन् ।

विशिष्टार्थ –

(१५)    गुणमय भावत्रयको कारण म हुँ – कर्म संस्कारवश जीवको मनमा अनेक प्रकारका भावहरूको उदय हुन्छ, ती सबै भाव कुनै कुनै सात्विक कुनै कुनै राजसिक र कुनै कुनै तामसिक छन् । शम, दम आदि सात्विक भाव, हर्ष, दर्प आदि राजसभाव र शोक, मोह आदि तामस भाव हुन् । आत्मभावबाट नै यी सबै भाव उत्पन्न हुन्छन् । अर्थात आत्मसंपर्क गरेर प्रकृति क्रियाशील हुनाले प्राकृतिक विकार जे जस्तो छ ती सबैको आश्रय वा कारण आत्मा हो । अतः भगवान् कारण रूपले सबै भावका धाता हुनुहुन्छ ।

(१६)    म ती सबैमा छैन, ती सबै ममा छन् । परमात्मा कारण भएर पनि निर्लिप्त छु, प्राकृतिक विकारले उसलाई स्पर्श गर्नसक्दैन । अतएव् प्राकृतिक भाव आत्माको आश्रय गरेर रहने हुनाले आत्माको अधीन छ । पन्रतु आत्मा प्राकृतिक भावको आश्रयमा छैन त्यसकारण आत्मा अधीन छैन । आत्मा नित्य, शुद्ध, बुद्ध, मुक्त स्वभाव सम्पन्न छ । आत्मा परम कारण हो, आत्माको कारण कोही छैन । अतः सबैको धाता आत्मा हो ।

    त्रिभि गुणमयै र्भावैरेभिः सर्वमिदं जगत् ।
    मोहितं नाभिजानाति मामेभ्यः परमव्यम् ।। १३ ।।

याे पनि 

अभ्यास के हो ? वैराग्य के हो ?

योग भ्रष्टका प्रकार र लाभकाे अन्तरसम्बन्ध

चित्त शुद्धि भएर पनि ध्यान विना मुक्ति असम्भव

मनुष्यहरूको ज्ञान, भक्ति र सिद्धि प्राप्तीकाे बाटो

मणिमय मालाको धागो , 'म' र सर्वतत्वको मित्र ब्रम्हसूत्र