जलजला गाउँकार्यपालिकाले एम्बुलेन्स र निःशुल्क उपचार गर्ने

जलजला गाउँकार्यपालिकाले एम्बुलेन्स र निःशुल्क उपचार गर्ने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र ९, २०७६

पर्वत । जलजला गाउँकार्यपालिकाले कोभिड–१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ ।

शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो ।

‘नागरिकको पहिलो अधिकार बाँच्न पाउने अधिकार हुन्छ ।  सो भाइरसको आशङ्का देखिएमा एम्बुलेन्स सेवासहित सम्पूर्ण उपचार खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेका छौँ, उहाँले भन्नुभयो । गाउँपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड हुने ठाउँमा नजान सबै नागरिकलाई आह्वान समेत गरेको छ । गाउँपालिकाले  स्वास्थ्य अवस्थाबारे सचेत रहन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, भीडभाडमा नजान, अत्यावश्यक कामबाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपाय अवलम्बन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा गाउँपालिमा सम्पर्क राख्न अपिल गरेको छ  ।

त्यसैगरी गाउँपालिकाको शनिबारकै सम्पन्न बैठकले आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर क्षेत्रमा आयोजना गर्न लागिएको विराट ज्ञान महायज्ञलाई तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ ।