दाङको जनज्योति विद्यालयमा सूचना प्रविधि प्रयोगशाला सञ्चालनमा

दाङको जनज्योति  विद्यालयमा सूचना प्रविधि प्रयोगशाला सञ्चालनमा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  चैत्र ९, २०७६

दाङ । दाङको विकट राजपुर गाउँपालिका–२ बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी) सञ्चालनमा ल्याइएको छ । राजपुरमै पहिलोपटक उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण दाङको सहकार्यमा प्रयोगशाला सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक केशवराज यादवले जानकारी दिनुभयो ।'अहिलेसम्म राजपुरमा कुनै पनि विद्यालयले आइसिटी ल्याब सञ्चालनमा ल्याएका थिएनन्', उहाँले भन्नुभयो, 'विकटका रूपमा रहेको यस गाउँपालिकामै हामीले पहिलोपटक सञ्चालनमा ल्याएका छौँ ।' 

करिब ३५ लाख रूपैयाँ को लागतमा उक्त प्रयोगशाला सञ्चालनमा आएको विद्यालयले जनाएको छ । यसले विद्यार्थीलाई पठनपाठनमा निकै सहज बनाएको छ । 'यसअघि आइसिटीसम्बन्धी विद्यार्थीलाई कम्प्युटर पढाउँदा किताबबाट मात्रै पढाउनुपर्ने अवस्था थियो', प्रअ यादवले भन्नुभयो, 'तर अब प्रयोगात्मकरूपमै कम्प्युटर पढाउन सहज हुनेभयो ।' यसले विद्यालयको शैक्षिक सुधारमा निकै प्रभाव पार्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरराज गिरीले बताउनुभयो । विद्यालयमा इन्टरनेटसहित २४ कम्प्युटर, १९२ भोल्टेजको ब्याट्री, चार सिसी क्यामेरा, एउटा प्रोजेक्ट, अनलाइन युपीएसलगायत रहेको कम्प्युटर शिक्षक दामोदर चौधरीले जानकारी दिनुभयो ।