सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र ९, २०७६

काठमाडौं । सर्लाही, धनुषा, लमजुङ, तनहुँ र काभ्रेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।  
सर्लाही, कविलासी नगरपालिका–३ हतसरी चोकस्थित सडकमा ना.४ त ४८७ नम्बरको ट्याक्टर बीआर ३० एक्स ३९९५ नम्बरको मोटरसाइकल शनिबार बिहान आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका–७ दुसाद टोल बस्ने २५ वर्षीय गोबिन्द पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरस्थित सडकमा ज.१ त ३०१९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा भारत सितामढी घर भएका भोला नायकको ४ वर्षीय छोरा आयुश कुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर नियन्त्रणमा लिई हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । 

लमजुङ, दोर्दी गाउँपालिका–४ नौथरस्थित सडकमा ग.१ त ५७७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा सोही गाउँपालिका–३ बस्ने १७ वर्षीय युवराज तामाङको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको सामुदयिक अस्पताल बेशीसहरमा उपचारको क्रममा मृत्यु भएको हो । 
    
तनहुँ, ब्यास नगरपालिका–१२ घाँसिकुवास्थित सडकमा ग.१ ख ९४०० नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया सर्मिला ठकुरीको बसले च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १७ जनालाई उपचारको लागि जिल्ला अस्पताल दमौली पठाएकोमा थप उपचारको लागि २ जनालाई मणिपाल अस्पताल पोखरा, १ जनालाई बि।एण्ड।बि। अस्पताल ललितपुर रिफर गरिएको छ भने २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

काभ्रे, बनेपा नगरपालिका–१३ भैसेपाटीस्थित सडकमा बा.५ ख २३९० नम्बरको मिनिट्रक र बा.५७ प ७२८ नम्बरको मोटरसाइकल आइतबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर रौतमाई गाउँपालिका–४ बस्ने ३५ वर्षीय मिन बहादुर श्रेष्ठ र उनको ५ वर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालक रामेछाप खाँडादेबी गाउँपालिका७ बस्ने ३३ वर्षीय लक्ष्मी नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।