गाउँबाट सहर पसेको ‘ढिँडो’को समाजशास्त्र

गाउँबाट सहर पसेको ‘ढिँडो’को समाजशास्त्र

डा. धनप्रसाद सुवेदी  |  दृष्टिकोण  |  चैत्र १०, २०७६

पहिले पहिले पहाडमा बस्नेहरूले धित मर्नेगरी चामलको भात खान पाउँदैनथे । केही धनीमानीहरूलाई छाडेर पहाडमा बस्नेले चामलको भात खान विशेष चाडपर्व पर्खिनुपर्थ्यो । तिथि, श्राद्ध आउँछ, पाहुना त्यसमा पनि सम्धी नै आउन सक्छन् भनेर माटाका गाग्रातिर धान लुकाएर राख्नुपर्ने विवशता हुन्थ्यो । 

समयमा पानी परेन, असिनाले सखाप पार्‍यो अथवा अरू कुनै कारणले उब्जनी कम भयो भने त खाने अन्नको अभाव हुन्थ्यो अनि महिनौँसम्म कोदो, फापर, मकैको खोलेसँगै साग र सिस्नोले जीवन धान्नुपर्थ्यो । खेतबारी कम हुनेका लागि त सधैँको अनिकाल, सधैँको अभाव । उनीहरूका लागि चामलको भात त परको कुरा, कोदाको ढिँडो, मकैको भात, फापरको रोटी पनि पेटभरी खान पाउनु ठूलो कुरा हुन्थ्यो । सिजनअनुसार गिट्ठा, भ्याकुर, साग, सिस्नो, सखरखण्ड, स्कुस, घरतरुल, वनतरुल आदिको सहयोगमा अन्न बचाउ अभियान चलाउनुपर्थ्यो । 

पहाडमा बसेर चामलको भात खान पाउनु भनेको सुखी हुनु, धनी हुनु र अझ भनौँ, भाग्यमानी हुनुको परिचायक बन्थ्यो । त्यस्तो अवस्था झेल्दाझेल्दा हैरान भएकाका लागि औलो उन्मूलन एउटा सुनौलो मौका साबित भयो । 

धानै धान फल्ने र बिहान-बेलुकै चामलको भात खान पाइने तराई-मधेसमा बसाइँ सर्ने अवसर अहिलेको पुस्ताका लागि अमेरिकाको डीभी पर्नुजत्तिकै खुसी र भाग्यको कुरा थियो । त्यसैले पहाडबाट तराई-मधेसमा झर्नेहरूको लहर चल्यो । पहाडमा जस्तो लेकबेँसी गर्नु नपर्ने, सामान्यतः भातै खानका लागिचाहिँ गाह्रो नपर्ने भएपछि तराईतिरको बसाइँसराइ ह्वात्तै बढ्यो । पहाडबाट तराई झर्ने अघिल्लो पुस्ताका मानिसहरूले अझै पनि भनेको सुनिन्छ, 'पहाडमा कोदोको ढिँडो र मकैको च्याँख्ला खाँदाखाँदा वाक्कदिक्क भएर भात खानका लागि तराई-मधेस झरेका हौँ ।'

खोटाङको उत्तरी र पश्चिमी क्षेत्रमा धान खेती कम हुन्छ । त्यसैले त्यहाँका मानिसलाई खाद्य संस्थानको चामल किन्न पाउनु पनि ठूलो कुरा हुन्थ्यो, चामलको कुपन मिलाइदिने नेताले चुनावमा भोट पाउने अवस्था थियो कुनै बेला । 

दुई दशकअघि मात्र म खोटाङको उत्तरी क्षेत्रमा गाविस सचिव थिएँ । किरिया खर्चका रूपमा खाद्य संस्थानको चामल १०-२० किलोजति किन्न पाइन्थ्यो । त्यही चामल किन्नका लागि मानिसहरू बर्षौंअघि मरेका आफ्ना बाबुआमाको मृत्यु दर्ता गराउन आउँथे । कर्णालीमा चामल पुर्‍याउने खेलोको कुरा त केही वर्षअघिसम्म पनि छँदै थियो र अझै पनि केही मात्रामा होला सायद ।

नेपालका अधिकांश पहाडी क्षेत्रमा सडक यातायात पुगेको एक दशक मात्र भएको छ । सडक यातायातको पहुँचसँगै अब पहाडका कुनाकुनामा चामल पुगेको छ, चामल मात्र नभएर कोकाकोला, चाउचाउ र साथसाथै बियर, भोड्का र ह्विस्कीहरू पुगेका छन् (औषधिहरू र समयमै पाठ्यपुस्तक नपुग्नु बेग्लै कुरा हो) । वैदेशिक रोजगारको ढोका खुलेसँगै मानिसको क्रयशक्ति पनि बढेको छ, चामलको भातै खानका लागिचाहिँ नपुग्ने अवस्था छैन । त्यसैले अबको पुस्तालाई चामलको भात खान नपाउने कुरा सुन्दा अचम्म लाग्न सक्छ तर एक-दुई दशकअघिसम्म पनि चामलको भात खान पाउनु भाग्यको कुरा थियो ।

मकै, भटमास, करेला, ढिँडो, मोही, साग, सिस्नो, दाल, भात, तरकारी, अर्मपर्म, ऐँचोपैँचो, सरसापट, कोदोको तीनपाने, भाती जाँड, दौरा-सुरुवाल, भोटो, कछाड, धोती, बख्खु, लुकुनी, राडीपाखी, खाँडीका कपडा, बाँसका सामान, यिनमा पनि विज्ञान छ, इतिहास छ, मौलिकता छ, पहिचान छ र यिनलाई अँगाल्दा सानो भइन्न, लाज मान्नुपर्दैन । बरु अबको दुनियाँमा हामीले दुनियाँलाई दिनसक्ने कुरा पनि यिनै हुन् भन्ने बुझ्दा हाम्रो कल्याण हुन्छ । 

एक दशकअघि तराईमा जन्मेहुर्केकी नाताले साली नानी काठमाडौंको मेरो डेरामा आएकी थिइन् । हामीले घरबाट ल्याएको कोदोको रोटी खाजा बनाएका थियौँ । घरबाटै आएको भैँसीको शुद्ध घीउमा पकाएको रोटी नुन-खोर्सानीसँग च्वाप्प चोबेर खान पाउँदा हामीलाई मिथकको अमृत जस्तै लागिरहेको थियो । साली नानीलाई पनि त्यही सुस्वादिष्ट रोटी खाजा दिएका थियौँ ।
 
उनले अन्कनाउँदै रोटीको एक टुक्रा मुखमा लगिन् र 'मैले भर्खरै खाजा खाएर आएकी' भन्दै बाँकी रोटी सरक्क पर सारिन् । त्यस दिन हामीकहाँ बस्ने गरी आएकी साली नानी केहीबेरमै हिँड्ने भइन् । हामीले गरेको बस्ने आग्रहलाई इन्कार गर्दै उनी हिँडिन् । मेरी श्रीमतीजी उनलाई बस चढाउने ठाउँसम्म पुर्‍याउन गइन् । 

साली नानीलाई बस चढाएर आउँदा श्रीमतीजीले भनिन्, ‘हामीले कोदोको रोटी दिएर उसको अपमान गर्‍यौँ भनेर ऊ त रिसाएर हामीकहाँ नबसेकी रहिछे । मधेसमा बसेँ भनेर कति न ठूली भएकी ।’ 

वास्तवमा त्यसमा ती साली नानीको कति पनि दोष थिएन, उनका बाबुआमाले उनको दिमागमा भरिदिएको कुराले उनले आफूलाई अपमान भएको ठानिन् । मलाई ती साली नानीको स्वाभिमानप्रति सलाम गर्न मन लाग्यो, श्रीमतीजीलाई मैले त्यही कुरा गरेँ । 

‘हेरहेर सालीको पक्ष लागेका भिनाजु’, श्रीमतीजीले जिस्क्याएकी थिइन् ।  

अझ बाहुन समाजमा कोदोलाई कुअन्न भनिन्थ्यो । कोदो मात्र होइन, फापर, सिस्नो जस्ता खानेकुरा बाहुनका लागि होइनन् तर बाध्यताले मात्र खानुपरेको भन्ने ठानिन्थ्यो । व्रत बस्दा, जुठो बार्दा यस्ता खानेकुरा बर्जित थियो, अझै पनि छ । कोदो, फापर, सिस्नो आदि गरिबको खाना हो भन्ने आमसोचाइ थियो । हुन पनि मासुभात, दूधभात, खीर, सेलरोटी आदि खान पाउँदासम्म ढिँडो, सिस्नो मीठो हुँदैनथ्यो होला । चामल नभएपछि, अझ अनिकाल लागेपछि ज्यान बचाउनका लागि कोदोको ढिँडो, फापरको रोटी, सिस्नोको खोले अनि उसिनेका गिट्ठा, भ्याकुर खान थालेका होलान् बाहुनहरूले । 

सामान्यतः बाहुनहरू गंगाको फाँटबाट नेपालतिर आएका हुनाले उनीहरूको संस्कारमा चामल उत्तम खाद्य थियो, जसरी मरेको मानिसको अस्तु गंगाका सेलाउनुपर्ने मान्यता अझै छ । राई, लिम्बू, मगर आदि जातिका आदिम पुर्खाहरूचाहिँ पहाडी क्षेत्रमा नै रहेकाले हुन सक्छ । उनीहरूको संस्कारमा कोदो र कोदोबाट बन्ने रक्सी पवित्र खाद्यका रूपमा रहेको छ, मगरलगायतका कतिपय जनजाति समुदायमा नवदुलहीले ढिँडो र दाल पकाएर पाहुनालाई खुवाउने संस्कार अझै छ । 

तर, चामलको स्वाद चाखेपछि, बाहुन समाजको संगतपछि र मुख फेर्नका लागि पनि चामल धनीको खाना र मीठो खाद्यका रूपमा स्थापित भयो सायद । त्यही बेलादेखि नेपालीको मुख्य खाना बनेको हुनुपर्छ, चामलको भात, दाल, तरकारी र अचार । त्यसपछि कोदो, मकैको ढिँडो दोस्रो दर्जाका अनि गरिबका खाद्यका रूपमा अवमूल्यन भएका होलान् । 

पछिल्लो समय नेपालीहरू शहरमुखी हुँदै गए, शारीरिक श्रमबाट टाढिँदै जाँदा मधुमेह जस्ता रोगको सिकार बन्दै गए । एकोहोरो भाते खानपानबाट वाक्कदिक्क बन्दै गएपछि नेपाली जनजिब्रोले आफ्नो पुर्ख्यौली स्वाद सम्झन थालेसँगै ढिँडो, गुन्द्रुक, सिस्नो जस्ता हिजोका उपेक्षित खाद्यहरूको मानभाउ बढ्न थाल्यो । हिजो कुनै समयमा ढिँडो खानु गरिबीको परिचायक थियो, अब सम्पन्नताको परिचायक बन्न थाल्यो । 

कोदो र ढिँडो बिर्सनकै लागि पहाडबाट तराई बसाइँ जानेहरू समेत तराईबाट काठमाडौं आएर बस्न थालेपछि फेरि कोदो र ढिँडोतिर उन्मुख बन्दै गए । एक दशकअघि कोदोको रोटी दिँदा आफूलाई अपमान गरेको सम्झिने ती साली नानी यतिबेला काठमाडौंकी बासिन्दा भएकी छन् । मलाई लाग्छ, उनी आफ्ना सासूससुरासहित दुई-चार पटक ढिँडे रेस्टुरेन्टमा खान गइसकेकी छन् । कुनै बेला मैले आफू ढिँडो खाएर हुर्केको, मलाई ढिँडो मीठो लाग्छ भनेर लेख्दा मेरा नजिकका केही नातेदारहरू 'तपाईंले त्यसरी नलेख्नु न, त्यसरी लेख्नुभयो भने तपाईंलाई हाम्रो नाताको मान्छे भन्नुपर्दा हामीलाई लाज हुन्छ, हाम्रा बुहारी, ज्वाइँहरूले हामी पनि पहिले गरिब रहेछौँ भन्ने थाहा पाउँछन्' भन्नेहरू आजभोलि तारेहोटलमा गएर ढिँडो खाएको कुरा सगर्व फेसबुकबाट प्रचार गर्न थालेका छन् । यसरी एक दशकयता कोदो र ढिँडोको मूल्य ह्वात्तै बढेको छ ।  

खानपान, लवाइखुवाइमा पुर्ख्यौली सम्बन्ध त हुन्छ नै साथसाथै त्यसमा आर्थिक सम्बन्ध पनि जोडिएको हुन्छ । समाजमा धाक, आडम्बर वा ढोँगसँग पनि यिनको सम्बन्ध हुन्छ । दुई दशकअघिको कुरा हो, एक दिन एक जना साथीसँग घुम्दै जाँदा संयोगले त्यही साथीको ससुरालीतिरको नातेदारकहाँ पुगिएछ । दिउँसोको खाजा खाने बेला भएको थियो । संयोगले त्यस दिन त्यस घरमा दही, दूध केही बाँकी रहेनछ । घरभेटी महिला रजस्वला भएकी हुँदा उनले चाम्रेसाम्रे पकाउन पनि नमिल्ने रहेछ । उनका साना छोराछोरीले करेला (खोटाङ, भोजपुरतिर स्कुसलाई करेला भनिन्छ) उसिनेका रहेछन् । मकै-भटमास पनि भुटेका रहेछन् । मोहीको छेलोखेलो रहेछ । घरबेटी महिला ज्वाइँलाई मिष्ठान्न खाजा दिन नपाएको लाजले रातोपिरो भइन् । मैले स्थितिलाई सहजीकरण गर्दै भनेँ, 'हामीलाई त्यो मकै-भटमास, करेला र मोही दिनुस् न, भइहाल्छ नि !' 

मैले त्यति भन्नासाथ केटाकेटीले ती मीठा परिकारहरू ल्याइदिए । मेरो साथी मतिर ठुल्ठूला आँखाले हेर्दै थियो, घरबेटी महिला लाजले मुन्टो लुकाउँदै थिइन् । मैले मौकाको फाइदा उठाएर भटाभट करेला, मकै-भटमास र मोही खाएँ । साथी भने एकमुठी भटमास हातमा लिएर कुटुकटु खान थाल्यो । उसको भित्री देहले ती खानेकुरा छिटोछिाटो ले भनिरहेको थियो तर बाहिरी आडम्बरले गर्दा इच्छाहरू दबाउन विवश थियो । 

साथीको घरमा कस्तो पाक्छ, उसले के खान्छ भन्ने मलाई इतिवृत्तान्त थाहा थियो, त्यसैले उसको त्यो ढोँग देख्दा मलाई रिसभन्दा पनि हाँस उठिरहेको थियो । ज्वाइँलाई चाम्रे र दूध दिन नपाएकामा लाज मानिरहेकी अभिनय गरिरहेकी घरबेटी महिलालाई पनि ज्वाइँसा'बको घरको इतिवृत्तान्त थाहा भएको कुरा उनको भनाइबाट प्रस्ट हुन्थ्यो । खाजा खाएर हिँडेपछि साथी मसँग रिसायो, मैले उसको आडम्बरलाई सकेसम्म उडाएँ । 

त्यसपछि मसँग टाढा भएको त्यो साथीलाई पोहोर साल सिभिल अस्पतालमा भेटेको थिएँ । ५० वर्ष नपुग्दै डाइबिटिजले भेट्यो भनेर गुनासो गर्दै थियो । मलाई लाग्छ, काठमाडौंको स्थायी बासिन्दा भइसकेको त्यो साथीले हरेक दिन डेरीबाट दुई लिटर मोही किन्छ र उसको ससुरालबाट आउने मुख्य कोसेली मकै, भटमास र करेला नै हुन्छ अनि उसको भान्सामा चाम्रे नपाकेर मकै र कोदाको ढिँडो पाक्छ । 

हामी नचाहिँदो फुर्ती र आडम्बरमा बाँचेका छौँ । हाम्रो पहिचान, मौलिकता र यथार्थ के हो भन्ने कुरा थाहा नपाएर वा थाहा पाउन नचाहेर अनि अरूको अन्धनक्कल गरेर आफूलाई ठूलो देखाउन खोज्ने प्रवृत्तिले हामी भुइँ न भाँडाका भएका छौँ । 

समयअनुसार चल्नुपर्छ, विज्ञान प्रविधिको सदुपयोग गर्नुपर्छ, दुनियाँ संसारभन्दा भिन्न भएर हामी बाँच्न सक्दैनौँ । पुर्खाका पालाका भनेर विभेद, कुरीति, कुसंस्कार, अन्धविश्वासलाई अँगाल्ने होइन । संस्कार, संस्कृति, खानपान, चिन्तन, व्यवहार सबै परिवर्तनशील छन्, परिवर्तनलाई आत्मसात् गर्नैपर्छ । तर, हामीले टेकेको धरातल, हाम्रो मौलिकता र पहिचान बिर्सेर हिँड्दैमा सभ्य र महान् भने भइँदैन । मकै, भटमास, करेला, ढिँडो, मोही, साग, सिस्नो, दाल, भात, तरकारी, अर्मपर्म, ऐँचोपैँचो, सरसापट, कोदोको तीनपाने, भाती जाँड, दौरा-सुरुवाल, भोटो, कछाड, धोती, बख्खु, लुकुनी, राडीपाखी, खाँडीका कपडा, बाँसका सामान, यिनमा पनि विज्ञान छ, इतिहास छ, मौलिकता छ, पहिचान छ र यिनलाई अँगाल्दा सानो भइन्न, लाज मान्नुपर्दैन । बरु अबको दुनियाँमा हामीले दुनियाँलाई दिनसक्ने कुरा पनि यिनै हुन् भन्ने बुझ्दा हाम्रो कल्याण हुन्छ । 

कोदो, फापर, साग, सिस्नो, मकै भटमास, ढिँडोबारेको हिजोको चिन्तन सामन्तवादी थियो । घरभित्र भान्सामा ढिँडो खाने अनि बाहिर सिकुवामा बसेका पाहुनालाई देखाउन दूधमा मुछेको एक गाँस भात हातमा राखेर 'चोई चोई' भन्दै कराउनुपर्ने आडम्बरमा हामी थियौँ । अब पुँजीवादी युग छ, तारे होटलमा बिक्री हुन थालेपछि ढिँडो खानुमा इज्जत बढेको छ । अब समाजवादतिर जाने भन्दै छौँ, यदि अब समाजवादतिरको यात्रा हो भने हाम्रो स्वास्थ्यलाई फाइदा पुग्ने ढिँडो, साग, सिस्नो खाँदा कुनै लाज सरम मान्नुपर्दैन । 

स्मरण रहोस्, दुनियाँमा मानिसले खाई आएका स्वस्थकर कुनै पनि खानेकुरा खानु लाजको विषय होइन । कुकुरले आची खानु पनि घृणित कुरा होइन किनकि प्रकृतिले उसलाई दिएको खाद्य हो त्यो । दुनियाँमा सबैभन्दा घृणित र अत्यन्तै नीच खानेकुरा भनेको घुस हो । कताबाट घुस आउँछ र खाऊ भनेर दाउ हेरिबस्ने मान्छेभन्दा कति बेला आची गरिसक्छ र खाऊँ भनेर आची गर्दै गरेको मान्छेको सामुन्ने ढुकेर बस्ने कुकुर धेरै महान् जन्तु हो । बस् ।