कोरोना सन्त्रास, बालमनोविज्ञान र अभिभावकको भूमिका

कोरोना सन्त्रास, बालमनोविज्ञान र अभिभावकको भूमिका

राजकुमार महर्जन  |  दृष्टिकोण  |  चैत्र १०, २०७६

आजभोलि हरेक दिनको सुरुवात कोरोना भाइरसको आतंक र सोसँग सम्बन्धित विषयहरू पत्रपत्रिका, अनलाइन समाचार, सामाजिक संजाल, रेडियो–टेलिभिजन आदिमा पढेर, सुनेर वा हेरेर सुरु हुने गरेको छ । राती निदाउनुअघि पनि त्यस्तै कुराहरू मनमा खेलिरहने अवस्था बनेको छ । त्यसको अलावा विषयको वास्तविकता भन्दा पनि जनमानसलाई आकर्षित गर्ने हेतुले ‘फलानोको कुराले विश्व नै चकित...', 'नेपालीहरूका लागि अत्यन्तै दुःखको खबर...', 'कुन हो, अस्पतालमा नौ जनालाई परीक्षण गर्दा छ जनालाई कोरोना भाइरस देखायो ...', 'सेनाको हेलिकोप्टरले राती १२ बजे किटनाशक औषधि छर्कने ...’ आदि जस्ता मनगढन्ते र वाहियात शीर्षक राखिएका अनलाइन समाचार र अडियोहरूले हरेकको मनमा एक प्रकारको त्रास सिर्जना गरेका छन् ।

यस्तो अवस्थामा कुन कुरा ठीक वा कुन कुरा बेठीक छुट्याउन नसकेर अन्योल र अस्थिर बनेर दिन कटाउनुपरेको अवस्था देखिन्छ ।

राती निदाउँदा जुन अन्तिम बिचार तपाईंको मनमा खेलिरहेको हुन्छ, त्यही बिचार भोलि बिहान ब्यूँझिँदाको पहिलो बिचार बन्छ । बिहान ब्यूँझिम्हदा जुन पहिलो बिचारले तपाईंको मनमा घर गरेको हुन्छ, त्यसैले तपाईंको दिनलाई शुभ वा अशुभ बनाउँछ । तसर्थ सकारात्मक कुरालाई मनमा खेलाउँदै निदाउने बानी बसाउनुहोस् । बिहान सबेरै मनमा नकारात्मक बिचारहरू आउने खालका क्रियाकलापहरूबाट टाढै बस्नुहोस् ।

होस् गरौँ है, भाइरस संक्रमणको त्रास तपाईंलाई जति छ, त्योभन्दा बढी तपाईंका छोराछोरीहरूलाई पनि  हुन्छ । यस्तो अवस्थामा उनीहरू तपाईंले चाहेजस्तै खालि पढ्न र लेख्न सक्दैनन् । लेख्ने, पढ्ने मात्र कुरा गर्दा उनीहरूमा चिन्ता र तनाव झनै बढ्न जान्छ । यस्तो बेला आफ्नो मनका कुराहरू पोख्ने ठाउँ नपाउने हुनाले उनीहरूमा डिप्रेसनको खतरा हुन्छ । 

चैत ६ गतेबाट सुरु हुने भनिएको एसईई परीक्षा चैत ५ गते बेलुकी ६ः०० बजेपछि मात्र सूचना प्रकाशन गरी स्थगित गरियो । सोही दिनदेखि देशभरका विद्यालय र विश्वविद्यालयहरू पूर्ण रूपमा बन्द भइसकेका छन् ।  विषयको गाम्भीर्यलाई नबुझेको भए नेपाल सरकारले हठात् यस्ता निर्णयहरू लिने थिएन होला सायद । चैत ७ गते साँझ ६ः०० बजे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरी अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र चैत ९ देखि २१ गतेसम्मलाई बन्द गर्ने घोषणा भइसकेको छ । सम्बोधनको क्रममा उहाँले जनतालाई भयभीत नरहन तर सजग हुन अनुरोध गरिसक्नुभएको छ ।

कोरोना भाइरसको प्रकोपसम्बन्धी जानकारी गराउने युट्युब च्यानल रोए ल्याब स्टेट्सका अनुसार मैले यो कुरा लेख्दै गर्दा चैत ९ गते साँझ ६ः०० बजेसम्मको तथ्यांकअनुसार विश्वका १८८ देशहरूका तीन लाख १८ हजार ३२० जनालाई कोरोना भाइरसले आक्रमण गरिसकेको छ । तीमध्ये १३ हजार ५९५ जनाको मृत्यु भइसकेको छ भने ९६ हजार ७५७ जनाले स्वास्थ्य लाभ गरेका छन् । कोरोना महामारी फैलिएका १० प्रमूख देशहरूको अवस्था यस्तो छ । यो तथ्यांक मिनेट मिनेटमा परिवर्तन भइरहेको छ ।

आज मेरो चासो भनेको देशका संपूर्ण विद्यालय र विश्वविद्यालयहरू पूर्ण रूपमा बन्द भएको अवस्थामा लाखौँ बालबालिकाहरू तथा किशोर किशोरीहरूको दिनचर्या, उनीहरूको सुरक्षा तथा मनोसामाजिक अवस्थालाई कसरी सन्तुलनमा राख्न सकिन्छ होला ? भन्नेमा केन्द्रित छ ।

केटाकेटीहरू स्वभावैले चञ्चले हुन्छन् । उनीहरू शान्त भएर एकै ठाउँमा बसिरहन सक्दैनन् । यस्तो बेला उनीहरूलाई ठीक ढंगको हेरचाह र सहयोग गर्न सकेनौ भने कोरोना भाइरसको संक्रमण भन्दा पनि डरलाग्दो र नसोचेको दुर्घटनामा पर्ने संभावना उत्तिकै रहन्छ । तसर्थ तपाईं संपूर्ण अभिभावकज्यूहरूमा यसप्रति सचेत रहन अनुरोध पनि छ।

क‍. संक्रमणको खतरा

यतिबेला बालबालिकाहरूमा मुख्यतः रोगको संक्रमण हुने खतरा नै हो । तसर्थ विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले जारी गरेको सुरक्षासम्बन्धी उपाय र निर्देशनलाई पूर्ण रूपले पालना गर्नु हरेक अभिभावकको कर्तव्य हुन आउँछ ।  मैले माथि नै उल्लेख गरिसकेको छु, केटाकेटीहरू स्वभावैले चञ्चले हुन्छन् । उनीहरू शान्त भएर एकै ठाउँमा बसिरहन सक्दैनन् । उनीहरू घरदेखि बाहिर खेल्न, डुल्न हिँड्दा संक्रमणको खतरा रहन्छ ।

तसर्थ यससम्बन्धी तपाईंले आफ्ना नानीहरूसँग हरेक दिन छलफल गर्नुभएको छ कि छैन ? यदि छैन भने कोरोना भाइरस, त्यसको लक्षण, जोगिने उपायहरू आदिका बारेमा उनीहरूलाई राम्ररी जानकारी गराउनुहोस् । अनावश्यक रूपमा घरबाहिर नपठाउनुहोस् । उनीहरूलाई घरभित्रै सुरक्षित र रमाउने वातावरण बताउनुहोस् । हुन सक्छ, तपाईंलाई भन्दा उनीहरूलाई बढी थाहा छ । विभिन्न माध्यमबाट उनीहरूले सुनेका र सिकेका कुराहरू तपाई्सामु प्रस्तुत गर्ने मौका दिनुहोस् । सानै छ, केही कुरा थाहा पाउन्न भनेर नहेप्नुहोस् । उनीहरूसँग खुलेर बहस गर्नुहोस् ।

ख. असुरक्षित हुने खतरा

यतिबेला घरमा केटाकेटीहरूलाई मात्र एक्लो दुक्लो छाडेर बाबुआमाहरू काममा वा बाहिर कतै जाने गर्नुभएको छ भने सावधानी अपनाउन जरुरी हुन्छ । पहिलो त अत्यावश्यकबाहेक घरबाहिर हिँड्नु भनेको तपाईं आफँैलाई पनि खतरा हो । दोस्र, तपाईंको अनुपस्थितिमा केटाकेटीहरू घरमै पनि आफन्तै वा अरू कोहीबाट पनि असुरक्षित हुन सक्छन् । त्यसैले उनीहरूलाई एक्लोदुक्लो नछाड्नुहोस् ।

ग. कुलतमा लाग्ने खतरा

याद राख्नुहोस्, केटाकेटीहरू हरहमेसा साथी खोजिरहेका हुन्छन् । उनीहरूको मनकोे कुरा सुनिदिने व्यक्तिको खोजीमा हुन्छन् । यदि तपाईं उनीहरूको साथी बन्न सक्नुभएन अथवा उनको मनको कुरा सुन्नुभएन भने आफ्नो मनको कुण्ठा पोख्ने व्यक्ति, माध्यम वा ठाउँको खोजीमा मोबाइल, ट्याब्लेट, इन्टरनेट आदि मार्फत भए पनि बाहिरी दुनियाँसँग सम्पर्कमा जान्छन् । ती माध्यमहरूमार्फत् वयस्कहरूका निम्ति मात्र बनेका विभिन्न सामग्रीहरू हेर्न सक्ने खतरा रहन्छ ।

घरबाहिर समय बिताउँदा पनि साम्रै साथीहरूसँग मात्र भेट हुन्छ भन्ने हुँदै, यदि खराब व्यक्तिको संगतमा पर्‍यो भने के गर्ने ? तपाईंलाई राम्ररी थाहा छ, बजारमा पाइने सल्लाहकार भनेका थोरै राम्रा र धेरैजसो खराबै भेटिन्छन् ।

घ. चिन्ता वा डिप्रेसनको खतरा

बालबालिकाहरू पलपलमा नयाँ क्रियाकलाप गर्न मनपराउने हुन्छन् । अहिले केटाकेटीहरू तापाईंको साथमै छन्, के तपाईंले उनीहरूसँग समय बिताउनुभएको छ ? तपाईंले उनीहरूसँग मिलेर के कस्ता कार्य र क्रियाकलापहरू गरिरहनुभएको छ ? उनीहरूको कुरा सुन्नुभएको छ कि छैन? कि आजभोलि पनि बिहानदेखि बेलुकीसम्म खालि पढ् पढ् मात्र भनिरहनुभएको छ ?

होस् गरौँ है, भाइरस संक्रमणको त्रास तपाईंलाई जति छ, त्योभन्दा बढी तपाईंका छोराछोरीहरूलाई पनि  हुन्छ । यस्तो अवस्थामा उनीहरू तपाईंले चाहेजस्तै खालि पढ्न र लेख्न सक्दैनन् । लेख्ने, पढ्ने मात्र कुरा गर्दा उनीहरूमा चिन्ता र तनाव झनै बढ्न जान्छ । यस्तो बेला आफ्नो मनका कुराहरू पोख्ने ठाउँ नपाउने हुनाले उनीहरूमा डिप्रेसनको खतरा हुन्छ । 

ध्यान दिनुहोस्, यतिबेला केटाकेटीहरूलाई तपाईंको आवश्यकता छ । दैनिक मन खोलेर रमाइला कुराहरू गर्नुहोस् । सुख, दुःखका कुराहरू गर्नुहोस् । किताबी ज्ञान मात्र घोकेर कोही पनि वैज्ञानिक बनेका छैनन् । तसर्थ रचनात्मक काम गराउनुहोस् । यदि केही काम पाइएन भने भान्छामा सँगै राख्नुहोस् । भान्छाको काम सघाउन चाहेमा नगर नभन्नुहोस् । स्कुले पाठ्यपुस्तक भन्दा बाहिरका ज्ञानवर्द्धक पुस्तकहरू पढ्न मन गर्छन् भने त्यसको व्यवस्था गरिदिनुहोस् । मुख्यतः उनीहरूसँग धेरैभन्दा धेरै अन्तर्क्रिया गर्नुहोस् । उनीहरूको बिचारलाई सम्मान गर्नुहोस् ।

अन्त्यमा, भाग्यवस आजसम्म कोरोना भाइरसको संक्रमणले हाम्रो देशमा महामारीको रूप लिइसकेको छैन । तर, यदि हामीले हेलचेक्र्याईं गर्‍यौँ भने पशुपतिनाथले पनि हामीलाई बचाउनेवाला छैन । तसर्थ आफ्नो दैनिक जीवनलाई अत्यन्त सजग ढंगले अगाडि बढाउनुहुन अनुरोध गर्छु ।

भनिन्छ, हरेक कालो बादलको पछाडि चाँदीको घेरा हुन्छ । चुनौतीका पछाडि पनि केही न केही सकारात्मक पाटाहरू हुन्छन् । यो दुःखको घडीलाई तपाईंले कसरी सकारात्मक रूपमा प्रयोग गर्न सक्नुहुन्छ, त्यसको खोजी गर्नुहोस् ।

हुन सक्छ, वर्षौं वर्षसम्म पनि परिवारसँगै हाँसखेल गर्ने मौका पाउनुभएको छैन होला । त्यसो हो भने यो समयलाई तपाईंले अवसरको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

छोराछोरीहरू र परिवारको भौतिक आवश्यकता पूर्तिका लागि तालु खुइलिने गरी मरिमेटी लाग्दा लाग्दा उनीहरूसँग भावनात्मक रूपमा कहिल्यै नजिक हुने मौका पाउनुभएको थिएन होला । यही समय हो, तपाईंले आफ्नो परिवार र छोराछोरीहरूको भावनात्मक भाँडो भर्ने । परिवारसँगै हाँस्नुहोस्, खेल्नुहोस् र रमाउनुहोस् । स्वस्थ, सुरक्षित र खुसी रहनुहोस् ।