सामाजिक फुट, सामाजिक दूरी र सामाजिक सहकार्य
चैत्र १०, २०७६

केही समययता कोरोना महामारी र यससम्बन्धी धारणा यसरी विकास हुँदै गएको देखियो कि यस महामारीले ल्याएका केही उल्लेख्य कुराहरूमा वर्तमान विश्वका शक्ति संंघर्ष, महामारीको नाममा हुने राजनीतिका स्वरूप र विश्वव्यापीकरणको उल्टो प्रवाह र उग्रराष्ट्रवादको बढोत्तरी भइरहेको पढ्न सकिन्छ ।

मार्च १५, २०२०

इतिहासकार युवल नोह हरारीले टाइम पत्रिकामा लेख लेखेर भने, 'कोरोना भाइरसविरुद्ध लड्न मानव समाजसँग नेतृत्वको अभाव छ । यो महामारीको वास्तविक समाधान मान्छेले एकले अर्कालाई छि:छि:, दूर-दूर गर्नु र अलग्याउनु नभएर सहकार्यमा छ ।'

आफ्नो लेखमा हरारीले भने, 'एकआपसमा विश्वास र विश्वव्यापी ऐक्यबद्धता नहुने हो भने हामी कोरोना भाइरसको महामारी रोक्न सफल हुनेछैनौँ साथै हामीले भविष्यमा पनि यस्ता धेरै महामारीको सामना गर्नुपर्ने हुन्छ । हरेक संंकट आफैँमा एक मौका हो', उनले थप भने, 'यो महामारीलाई रोक्न आममानिसहरूले वैज्ञानिक विशेषज्ञहरूलाई विश्वास गर्नु जरुरी छ, नागरिकहरूले सार्वजनिक प्रशासनलाई विश्वास गर्नु जरुरी छ र विश्वका मुलुकहरूले एकले अर्कालाई विश्वास गर्नु जरुरी छ ।'

तर, हरारीले जोड दिएजस्तो कतै भएन, महामारी बढ्दै जाँदा मानवताले नेतृत्व गुमाएकै देखियो, मान्छेमा सहकार्य बढ्नुको साटो झनझन् तिक्तता सुरु भएको देखियो । महामारीको समयमा भीडतन्त्रअनुरूप वा शक्ति केन्द्रअनुरूप मान्छेहरू चलेका देखिए ।

आफू पनि बचौँ, अरूलाई पनि बचाऊँ । सामाजिक दूरी कायम गर्नु भनेको स्वार्थी बन्नु र हामी विभक्त हुनु होइन, यहाँ सामाजिक सहकार्य र मान्छेले मान्छेलाई सहयोग गर्ने भावना हुनु अत्यन्त जरुरी छ । सामाजिक दूरी भन्ने शब्द कोरोना भाइरसविरोधी अभियानमा दक्षिण कोरियाली राष्ट्रपतिले सबैभन्दा पहिला प्रयोग गरेका हुन् तर ठूला लकडाउन र सामाजिक दूरीबेगर तीव्र जाँच र अनुगमन गरेरै साउथ कोरियाले कोरोना भाइरस नियन्त्रण गर्ने काम गरेको छ ।

मार्च १६, २०२०

 भारतको बिहार राज्यको मुजफ्फरपुर अदालतमा सुधीर ओझाले आईपीसी को धारा २६९, २७०, ११९ र १२० बी अन्तर्गत चिनियाँ राष्ट्रपति सीविरुद्ध मुद्दा दायर गरे । उनको आरोपमा भनिएको छ, 'चीनले कोरोना भाइरस बनाएर पूरै विश्वमा फैलाएर आतंंक मच्चाउन चाहन्थ्यो ।' अचम्मको कुरो त के भने यो मुद्दालाई अदालतले स्वीकार गर्‍यो, राष्ट्रपति सी विपक्षी अर्थात् कोरोना भाइरस बनाएर विश्वमा फैलाएको आरोपका आरोपित बनाइए,  अदालतले यो मुद्दाको सुनुवाइ आउँदो अप्रिल ११ मा हुने गरेर पेसीको मितिसमेत तोकेको छ  ।

यहाँ सम्मानित अदालतले यो मुद्दा दर्ता कसरी र किन गर्‍यो ? र, यसको उपादेयता के हो ? भन्नेमा नै प्रश्न चिह्न लागेको देखियो । भारतीयहरूमा रहेको पहिलो उग्रराष्ट्रवादी सेन्टिमेन्ट र  एन्टीपाकिस्तान सेन्टिमेन्ट हो । त्यसलाई बुझेर त्यहाँ हिन्दु नेताहरूले पाकिस्तान कार्ड खेल्ने गरेको कुरा कसैबाट छिपेको छैन । त्यसका अतिरिक्त अर्को उग्रराष्ट्रवादी कार्ड भनेको चीन हो । सामुदायिक द्वेष फैलाउने डरले पनि त्यो मुद्दा अदालतले दर्ता नगरी पठाउन सक्थ्यो किनभने भाइरस, ब्याक्टेरिया आदि कतै न कतै त देखिने नै हुन् । तर, स्वतन्त्र तिब्बत अभियान जारी राख्न दलाई लामालाई शरण दिएको भारतमा चीन वा चिनियाँ राष्ट्रपतिलाई बदनाम गर्न हालिएको त्यो मुद्दा भीडको सेन्टिमेन्टअनुसार दर्ता भएको होइन भन्न सकिन्न ।

विश्व नै एक भएर सबैको साझा शत्रु मानेर कोरोनाविरुद्ध लड्नुपर्नेमा अदालत राजनीति वा भीडको प्रभावमा परेर रङ्गभेदी, मान्छेमान्छेमै कटुता रोप्ने मुद्दा दर्ता गर्नु आफैँमा अस्वाभाविक छ । उक्त मुद्दाले चीनप्रतिको अविश्वास र चिनियाँप्रतिको शंंका र फुट रोप्ने कुरामा अदालत आफैँ पनि सजग नभएको देखिन्छ ।

त्यसका साथै चीनलाई दक्षिण एसियामा प्रभाव विस्तार गर्न नदिने मोदीको राजनीतिक चालबाजी भारतको आफ्नै पाकिस्तानविरोधी रवैयाको कारण निष्क्रिय भएको सार्कको रातारात मिटिङ गर्नुमा पनि देखिन्छ । कोरोनालाई महामारीको रूपमा मात्र होइन, राजनीतिक हथकण्डाको रूपमा र भोट बैङ्कको रूपमा चतुर तरिकाले प्रयोग गरिएको देखिन्छ । यसका दीर्घकालीन प्रमाण मिल्दै जानेछन् ।

मार्च – १७, २०२०

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भनेको ट्विट भाइरल भयो र त्यसले विश्वव्यापी चर्चा पायो । त्यसपछि उनले निरन्तर रूपमा कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै आएका छन् । उनको यो नामकरण चीन लक्षित जातीय घृणा र रङ्गभेदमा आधारित रङ्गभेदी नामाकरण हो भनेर उनको चर्को आलोचना हुँदै आएको छ । तर मार्च २३ सम्म पुग्दा उनले यो नामाकरण सच्याउनुको साटो झन् जोडले उचालिरहेका देखिन्छन् । मार्च २३ मा ट्विट गर्दै उनले भनेका छन् – 'मेरा मित्र (जो मलाई आवश्यक परेको बेला सधैँ उपलब्ध हुन्छन् !), सिनेटर रन्ड पलमा भर्खरै चाइनिज भाइरसको सङ्क्रमण भएको परीक्षणले जनाएका छन् । यो राम्रो होइन । उनी बलिया छन् र उनलाई ठिक हुँदै जानेछ । मैले भर्खर उनीसँग कुरा गरेँ, उनी राम्रो मानसिक स्थितिमा छन् ।'  थुप्रोले यस आरोपको खेललाई ट्रम्पले आफ्नो असक्षमता छोप्न खेलेको आरोप प्रत्यारोपको खेल मानेका छन् । ट्रम्प सत्तामा आएपछिको चीनसँगको व्यापार युद्ध र अमेरिका, चीन बिचको बढ्दो तनाव कसैबाट छिपेको छैन । आगामी निर्वाचनमा चीन कार्ड खेलेर, चीनलाई सक्दो खसालेर बढी भन्दा बढी मत ल्याउने उग्र-राष्ट्रवाद अमेरिकी राष्ट्रपतिमा दिमागमा हाबी भएको बुझ्न कठिन छैन ।

युवल नोह हरारी आफैँले आफ्नो पुस्तक २१ लेसन्स फर २१ सेन्चुरीमा अमेरिकामा खेलिने उग्र-राष्ट्रवादी कार्ड भनेको मेक्सिकन र चिनियाँहरू प्रतिको घृणाको राजनीति भएको कुरा उल्लेख गरेका छन् । कोरोना भाइरसलाई चाइनिज भाइरस भने लगत्तै ट्रम्पले जर्मन कम्पनीबाट कोरोना विरुद्धको खोप उत्पादन गर्न र आफ्ना जनतामा मात्र त्यसको पहिलो प्रयोग गर्न दिन सम्पूर्ण 'प्याटेन्ट' अधिकार किन्न खोजेकोमा जर्मनी असन्तुष्ट भएको र उनको विश्वका जनताको स्वास्थ्य केही होइन तर अमेरिकी जनता मात्र जनता हुन भन्ने किसिमको सन्देश दिने स्वार्थी रणनीतिको सर्वत्र आलोचना भएको देखिन्छ ।

यहाँ एक विश्व भन्ने भन्दा पनि उग्र-राष्ट्रवादी चिन्तनको उदय हुँदै गरेको र कोरोना भाइरसले देशदेश बिच पनि सामाजिक दुरी बढाए जस्तै गरेर अन्तर-देशीय दुरी, अन्तर-सामुदायिक दुरी बढाउँदै गएको देखिन्छ जुन अमेरिकी ग्लोवलाइजेसनकै खुट्टामा बन्चरो हान्नु सरह बन्दैछ भने विश्वको नेतृत्व गर्न अमेरिका आफैँले आफूलाई अयोग्य साबित गर्दै लगेको प्रस्ट बुझ्न सकिन्छ ।

विश्वमा एचआइभी एड्स फैलनु र अहिले अफ्रिकाका २५ प्रतिशत भन्दा बढी जनता रोगी हुनुमा अमेरिकाको हात छ । अमेरिकाले एचआइभी भाइरसलाई वर्षौँ सम्म वास्ता गरेन र यसलाई विश्वभर फैलन दियो । यसबाट सबैभन्दा पीडित अफ्रिकी जनता लगायत अन्य विश्वले एचआइभी भाइरसलाई अमेरिकी भाइरस भन्न थाले भने के हुन्छ ? ट्रम्प जत्तिको नेताले यो बुझेको छैनन् ?  पक्कै छन् । तर यहाँ उग्र-राष्ट्रवादी, रङ्गभेदी र गोरा अधिनायकवादी भोट तान्ने सवाल छ, ट्रम्प आफैँले कुरो बुझेर पनि आफ्नो फाइदा अनुसार जानाजान रङ्गभेदी शब्द प्रयोग गरिरहेका छन्, यहाँ विश्व महामारीको समयमा एक होला भन्ने कुनै गुन्जाइस छैन, मान्छे मान्छेमा शङ्का उपशङ्का रोपिएको छ, त्यसको परिणाम अमेरिकाले लामो समय भोग्ने छ ।

मार्च -२२, २०२०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक दुरी कायम राख्न र मान्छेलाई भींडभाडमा गएर कोरोनाको जोखिम बढाउन नदिन जनता कर्फ्युको आकर्षक नाममा सेल्फ क्वारेन्टाइन कार्यक्रमको घोषणा गरे । तत्कालै उनको कदमको स्वागत गर्दै जनता कर्फ्युलाई साथ दिन भन्दै अहमदावादमा हजारौँ मानिसहरूको भींड जम्मा भयो । (स्रोत:मुम्बई मिरर) कोरोनाको भारतीय केन्द्र बन्न लागेको राजस्थान तथा मुम्बईमा पनि त्यस्तै दृश्य देखिए । तिनै भारतीयहरूले बलिवुड सेलिब्रेटी कनिका कपुरलाई चीनबाट कोरोना भाइरस ल्याएर अरूमा सारेको भनेर राष्ट्रवादी करार गर्दै आइपिसीको धारा २६९ अन्तर्गत कारबाही गर्नुपर्छ भनेर माग गरेको देखियो ।

कुनै देशमा वा समाजमा कोरोना भाइरस लागेका व्यक्तिलाई नै छि-छि, दूर-दूर गरिन्छ भने त्यहाँ एचआइभी पीडितहरूको अवस्था कस्तो होला ? तिनले कस्तो नारकीय जीवन बिताएका होलान ? त्यसको कल्पना गर्दा आङ सिरिङ्ग भएर आउँछ । मान्छे मान्छेमा सहकार्य हुनुपर्नेमा नजानी सरेर आएको भाइरसकै कारण कसैलाई राष्ट्रवादी करार गर्न मिल्छ ?  ममा  भाइरस सरोस् अनि म त्यहाँ गएर सार्छु भन्ने नियत कसैको हुन्छ ? यो महामारीले भारतमा पनि अमेरिका जस्तै कोरोना भाइरस र चिनियाँ समुदाय प्रतिको घृणा चरम रूपमा रोपिएको प्रस्ट रूपमा देखाएको छ भने मान्छेमा बढ्दो असहिष्णुता र भींडतन्त्र हाबी हुँदै गएको देखिएको छ ।

त्यसको ठिक विपरीत अलिबाबा समूहका उद्योगपति ज्याक मा ले ट्विट गर्दै यो समय एक विश्व, एक सङ्घर्षको लागि हो, हामी २४ वटा ल्याटिन अमेरिकी मुलुकहरूलाई बिस लाख मास्क, चार लाख परीक्षण किट, १०४ भेन्टिलेटर दान गरेर कोरोना विरुद्ध लड्न सहयोग गर्छौँ भन्ने जानकारी दिए । उनले सङ्कटको घडीमा विश्व एकै मुलुक हो भनेर सबैतिरबाट तारिफ बटुले । प्रस्ट छ, महामारीको नाममा राजनीति गर्ने भन्दा सेवाको हात बढाउने र सम्पूर्ण विश्व एक हो भन्ने सन्देश दिनेहरू मात्र ऐलेको समयमा मानवताका नेता हुन्, हरेक कुरामा राजनीति गर्ने दूषित मनोग्रन्थीबाट विश्व मुक्त हुनपर्छ र मानवीय सहकार्यबाट कोरोना जस्तो महामारीलाई परास्त गर्नुपर्छ ।

आफू पनि बचौँ, अरूलाई पनि बचाऊँ, सामाजिक दुरी कायम गर्नु भनेको स्वार्थी बन्नु र हामी विभक्त हुनु होइन, यहाँ सामाजिक सहकार्य र मान्छेले मान्छेलाई सहयोग गर्ने भावना हुनु अत्यन्त जरुरी छ । सामाजिक दुरी भन्ने शब्द कोरोना भाइरस विरोधी अभियानमा दक्षिण कोरियाली राष्ट्रपतिले सबैभन्दा पहिला प्रयोग गरेका हुन्, तर ठुला लकडाउन र सामाजिक दुरी बेगर तीव्र जाँच र अनुगमन गरेरै साउथ कोरियाले कोरोना भाइरस नियन्त्रण गर्ने क्रममा छ । (स्रोतस् अलजजिरा) जसलाई सबैले तारिफ गरिरहेका छन्  । तीव्र जाँच र चुस्त अनुगमन नभएको हाम्रो जस्तो मुलुकमा सामाजिक दुरीको विकल्प छैन तर त्यसमा पनि सामाजिक सहकार्य हुनु एकदमै जरुरी छ, एउटा भाइरसजन्य महामारीले मानवता सकिनु हुन्न । सबैको कल्याण होस् ।


अंग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएका प्रसाईंको नेपाली साहित्य र अनुवादमा रुचि छ ।