मालपोत र प्रशासन कार्यालयका सेवा समेत बन्द

मालपोत र प्रशासन कार्यालयका सेवा समेत बन्द

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १०, २०७६

डोटी । कोरोनाको सङ्क्रमण बढ्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालय डोटीले आजदेखि लागू हुनेगरी नागरिकता, राहदानी सिफारिसलगायतका सेवा पूर्णरूपमा बन्द गरेको छ । 

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा जारी गरिएको एक सार्वजनिक सूचनामा यही चैत २१ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिँदै आएका सम्पूर्ण सेवा बन्द गरिएको उल्लेख छ । विश्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण नेपाल सरकारले गरेको निर्णयअनुरूप सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सेवाग्राहीको भीडका कारण सङ्क्रमण फैलनसक्ने भन्दै जिल्लास्थित मालपोत कार्यालयसमेत बन्द भएको छ । चैत २१ गतेसम्मका लागि मालपोत कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको जनाइएको छ । उच्च सतर्कता अपनाउनकै लागि कार्यालयको सेवा बन्द गर्नुपरेको कार्यालयले जनाएको छ । 

जिल्लामा मालपोत कार्यालय सेवाग्राहीको बढी भीड हुने कार्यालयका रूपमा रहँदै आएको थियो । त्यसैगरी जिल्ला प्रशासन कार्यालय डोटीले विशेष परिस्थितिबाहेक अन्य काममा भेला नहुन आम नागरिकलाई आग्रह गरेको छ । जिल्लामा २५ जनाभन्दा बढी जम्मा गरेर भोजभतेर तथा पूजाआजा गर्नेलाई कारवाही गरिने जनाएको छ । पछिल्लो समय यहाँका गाउँघरमा बिसुपर्व शुरु भएकाले उक्त पर्व मनाउन छिमेकी मुलुक भारत गएका फर्किरहेकाले धेरै ठूलो भीड नगर्न, हात नमिलाउन र साबुनपानीले पटक–पटक हात धुनसमेत प्रशासनले सबैमा आग्रह गरेको छ ।