चिनी अर्थात् ‘सुगर’ रोगको इतिहासः नामकरणदेखि उपचारका लागि ‘इन्सुलिन’को विकाससम्म

चिनी रोगदेखि औषधि पत्ता लगाउने वैज्ञानिकहरूको सूचीसहित

चिनी अर्थात् ‘सुगर’ रोगको इतिहासः नामकरणदेखि उपचारका लागि ‘इन्सुलिन’को विकाससम्म

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  चैत्र ११, २०७६

हिजोआज डायबेटिज अर्थात् चिनी रोगको विषयमा थाहा नपाउने मानिसहरू धेरै कम छन् । चिनी रोगलाई मधुमेह पनि भनिन्छ ।

चिनी रोगमा धेरै पिसाब हुनुका साथै प्यास पनि बढी नै  लाग्ने गर्छ । मुख सुक्नु, ज्यादा खाना रुचि हुनुका साथै दृष्टि कमजोर हुनु, दुब्लाउँदै जानु पनि चिनी रोगका लक्षणहरू हुन् ।

उक्त लक्षणहरू भएका व्यक्तिहरूलाई डायबेटिज हुने संंभावना हुन्छ । चिनी रोगीहरूमा यस्ता लक्षणहरू नहुन पनि सक्छन्  । यसर्थ चिनी रोग भए, नभएको थाहा पाउन रगत र पिसाब जचाउनुपर्छ । चिनी रोगमा हुने विभिन्न किसिमका रोगहरूका लक्षणहरू देखिएमा पनि रोगको शंका गर्नुपर्छ ।

उदाहरणका लागि मोतीविन्दुलाई लिन सकिन्छ । मोतीविन्दु भएका मानिसहरूलाई चिनी रोग हुने बढी संंभावना हुन्छ । मोतीविन्दुमा कमजोर दृष्टि हुन्छ । यसरी मोतीविन्दुको कारण कमजोर दृष्टि हुनेहरूमा चिनी रोग भए, नभएको थाहा पाउनुपर्छ ।

चिनी रोगीहरूलाई अल्परक्त प्रवाह वा हृदयरोग हुने संंभावना हुन्छ । यो रोगका लक्षण भएका व्यक्तिहरूमा चिनी रोग भए, नभएको थाहा पाउनुपर्छ । चिनी रोगीहरूमा शरीरका धेरै अंगहरू रोगग्रस्त भएर चिकित्सकसँग जचाउन जान्छन् । यी रोगीहरूलाई पनि चिनी रोग भए, नभएको पत्ता लगाउन रगत जचाउनु बुद्धिमानी हुन्छ ।

चिनी रोगको इतिहास धेरै पुरानो छ । संसारमै सबभन्दा पुरानो इवर्स प्यापिरस नामक मेडिकल पुस्तक १५०० बीसीमा इजिप्टमा लेखिएको थियो । यसलाई जर्मन जर्ज इवर्सले सन् १८७३/७४मा खरिद गरेका हुन् । यो पुस्तकमा तिर्खा लागेर धेरै पिसाब गर्ने बिरामीको विषयमा उल्लेख गरिएको  पाइन्छ  र यो बिरामीलाई जडिबुटीबाट औषधि गरिएको थियो ।

वर्षौं अगाडि चिनी रोगमा पाइने लक्षणहरूको विवरण इजिप्टमा प्रकाशित पुस्तकमा लेखिएको छ । त्यतिबेलादेखि नै चिनी रोगको उपचारका विषयमा पनि विचार गर्न थालिएको थियो ।

करिब पाँचौँ शताब्दीमा भारतीय शल्यचिकित्सक सुस्रतले गुलियो पिसाब हुने रोगलाई मधुमेहको नाम दिएको इतिहास छ । सातौँ शताब्दीमा धेरै पिसाब लाग्ने, तिर्खा लाग्ने र दुब्लाउँदै जाने रोगलाई चेन चुवान (Chen Chuan)ले चीनमा पत्ता लगाएर यसलाई सिआओ खो पिङ (Hsiao Kho Pimg) को नाउँ दिएका थिए । 

प्याँक्रियाजमा इन्सुलिन पैदा गर्ने कोषहरूलाई ल्याङगरह्यान्सले पत्ता लगाएका हुन् । पछि धेरै वैज्ञानिकहरूले इन्सुलिनको विषयमा अनुसन्धान गरेका पाइन्छ । फ्रेडेरिक स्याङ्गरले  सन् १९५५ मा इन्सुलिनको बनावट पत्ता लगाएका हुन् । सन् १९६७ मा डोनाल्ड स्टेनरले ‘प्रो इन्सुलिन’ पत्ता लगाएका थिए ।

एरिटस दोस्रो शताब्दीमा रोममा प्राक्टिस गर्ने प्रसिद्ध चिकित्सक थिए । यिनैले चिनी रोगलाई डायबेटिज नामकरण गरेका हुन् । ग्रिक भाषमा डायबेटिजको अर्थ ‘म बाहिर निस्कन्छु’ भन्ने हुन्छ । चिनी रोगमा मिर्गौलाबाट धेरै पिसाब पैदा भएर पिसाबको थैली हुँदै पिसाबको नलीद्वारा पिसाब बाहिर निस्कने भएकालेे यो रोगको नाम डायबेटिज भएको हो । 

थोमस विलिस सत्रौँ शताब्दीका प्रसिद्ध बेलायती चिकित्सक हुन् । एघारौँँ क्रेनियल नर्भलाई विलिसको नर्भ पनि भनिन्छ । चिनी रोगीहरूको पिसाब गुलियो हुने भएकाले यिनले ‘मेलाइटस’ शब्द प्रयोग गरेका पाइन्छ । चिनी रोगीहरूको पिसाब गुलियो भएको पाइए तापनि किन गुलियो हुन्छ भन्ने कुरा त्यतिबेला थाहा हुन सकेको थिएन ।

लिभरपुलका बेलायती चिकित्सक म्याथु डवसनले चिनी रोगीहरूको पिसाबमा चिनी भएको कुरा पत्ता लगाएका हुन् ।

क्लाउड वर्नार्ड फ्रान्सका प्रसिद्ध फिजियोलजीका ज्ञाता थिए । उनले मस्तिष्कको चौथो भेन्ट्रिकललाई उत्तेजित पारेर क्षणिक चिनी रोग गराएका थिए । मस्तिष्कले  चिनी रोगलाई नियन्त्रण गर्ने कुरा वर्नार्डले नै पत्ता लगाएका हुन् । कलेजोमा ग्लुकोजबाट बनेको पदार्थलाई ग्लाइकोजनको नाम पनि वर्नार्डले नै राखेका हुन् ।

आवश्यकभन्दा ज्यादा ग्लुकोज ग्लाइकोजनबाट उन्पन्न भएर रगतमा जाँदा ग्लुकोज हुँदा चिनी रोग हुन्छ भनेर वर्नार्डले भनेका थिए ।

मिन्कोसकी र भोन मेरिङ्ले सन् १८८९ मा कुकुरको प्याँक्रिज निकाल्दा पिसाबमा ग्लुकोज कम पाएका थिए । प्याँक्रिजको सानो टुक्रा प्रत्यारोपण गर्दा रगतमा कम भएको थियो । यही अनुसन्धानले प्याँक्रिजको  चिनी रोग हुने संंभावनालाई संकेत गरेको थियो ।

इन्सुलिन शब्द जोन म्याक्लोडले प्रयोगमा ल्याएका हुन् । इन्सुलिनलाई पहिले ‘इन्सलेट’ भनिन्थ्यो । १६ मे १९२१ मा शल्यचिकित्सक फ्रेडेरिक ब्यांटिङ र मेडिकल विद्यार्थी चार्लस बेष्टले कुकुरमा अनुसन्धान गरेर प्याँक्रियाजको झोलको सुई प्यांँक्रियाज निकालिएको कुकुरलाई दिएर रगतको ग्लुकोज कम गराएका थिए । पछि जेम्सकोलिपले सुई दिन उपयुक्त प्रशोधित प्याँक्रियाजको झोल तयार पारेका थिए । यही प्याँक्रियाजको झोलको सुईद्वारा टोरेष्टो अस्पतालमा १४ वर्षकाा लियोनार्ड थोम्सनलई ११ जनवरी १९२२ का दिन सफलतापूर्वक उपचार गरेको इतिहास छ ।

सन् १९२३ मा फ्रेडेरिक व्यान्टिङ र जोन म्याकलोडले इन्सुलिन पत्ता लगाएकाले नोवल पुरस्कार पाएका हुन् । पुरस्कारको आधा रकम व्यान्टिङले बेष्टलाई दिए भने जोन म्याकलोडलले आफूले पाएको पुरस्कारको आधा रकम कोलिपलाई दिएका थिए ।

प्याँक्रियाजमा इन्सुलिन पैदा गर्ने कोषहरूलाई ल्याङगरह्यान्सले पत्ता लगाएका हुन् । पछि धेरै वैज्ञानिकहरूले इन्सुलिनको विषयमा अनुसन्धान गरेका पाइन्छ । फ्रेडेरिक स्याङ्गरले  सन् १९५५ मा इन्सुलिनको बनावट पत्ता लगाएका हुन् । सन् १९६७ मा डोनाल्ड स्टेनरले ‘प्रो इन्सुलिन’ पत्ता लगाएका थिए । यिनैले सहयोगी साथीहरूसँग मिलेर ‘सी-पेप्टाइड’ पत्ता लगाए । यो ‘सी-पेप्टाइडले शरीरभित्र कति इन्सुलिन पैदा भएको छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

सन् १९३० तिर लामो अवधिसम्म काम गर्ने प्रोटामिन जिङ्क इन्सुलिन पैदा गरिएको थियो । सन् १९५० तिर लेन्टे इन्सुलिन प्रयोगमा ल्याइयो । सन् १९८२ मा रिकम्विन्याण्ट ह्ययुमेन इन्सुलिन बनाइयो । सन् १९९० तिर पेनद्वारा इन्सुलिनको सुई दिने चलन चलेको हो ।

सन् १९८२ को २९ अक्टोबरका दिन एफ. डी. ए.ले रिकम्बिन्याट ह्ययुमेन इन्सुलिनलाई  प्रयोग गर्न सकिने स्वीकृति दिएको इतिहास छ । सन् १९७८ मा केइची इताकुुुरा, आर्थर रिग्स, डेभिड ग्रेडेल र रबर्ट क्रेयाले रिकम्बिन्याण्ट ह्ययुुमन इन्सुलिन बनाएका हुन् । 

हिजोआज विभिन्न कम्पनीहरूले छोटो र लामो अवधि काम गर्ने इन्सुलिन बनाएका छन् । यी इन्सुलिनहरूको प्रयोगद्वरा हजारौँ हजार चिनी रोगीहरूको सफल उपचार भइरहेको छ । धेरै चिनी रोगीहरू इन्सुलिनको सुई लिन हिच्किचाउँछन् । खानामा परहेज र खाने ओखतीहरूको प्रयोगद्वरा चिनी रोग नियन्त्रण भएन भने इन्सुलिनको सुई लिनै पर्छ । आफ्नो चिकित्सकको सल्लाह अनुुसार इन्सुलिनको मात्रा मिलाउन सकिन्छ ।

डायबेटिज दीर्घ रोग भएकाले यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा चिनी रोगीहरूले राम्ररी थाहा पाइरहनुपर्छ ।

चिनी रोगको इतिहास बोकेका वैज्ञानिकहरू


१. जर्ज इवर्स


२. सुस्रुत


३. चेन च्वान


४. एरिटस


५. थोमस विलिस


६. म्याथु डवसन

७. क्लाउड वर्नार्ड


८. मिन्कोसकी


 

९. भोन मेरिङ्

 

१०. फ्रेडेरिक व्यान्टिङ्


११. चार्ल्स बेष्ट


१२. जेम्स कोलिप


१३. जोन म्याकलोड


१४. फ्रेडेरिक स्याङ्गर


१५. डोनाल्ड स्टेनर


१६. डेभिड गोइडेल, केची इताकुरा, आर्थर रिगर्स र रवर्ट क्रेया


१७. पवल ल्याङ्गरह्यान्स