फ्रान्सबाट कतार हुँदै नेपाल आउनुभएकी बाग्लुङकी अर्की महिलाको नमुना सङ्कलन भएन

फ्रान्सबाट कतार हुँदै नेपाल आउनुभएकी बाग्लुङकी अर्की महिलाको नमुना सङ्कलन भएन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र १२, २०७६

बाग्लुङ । स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) को अभाव हुँदा जिल्लामा कोरोना भाइरसका शङ्कास्पद बिरामीको परीक्षणका लागि लिइने नमूना सङ्कलन प्रभावित भएको छ । 

सुरक्षा कवचको अभावका कारण यही चैत ५ गते फ्रान्सबाट कतार हुँदै नेपाल आउनुभएकी बागलुङ नगरपालिका–४ का एक महिलाको नमूना सङ्कलन गर्न नसकिएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ । काठमाडौँमा कोरोना सङ्क्रमणको पुष्टि भएकी युवतीसँगै कतार एयरवेजबाट आएकी बागलुङकी महिलाको नमूना सङ्कलनमा समस्या आएको हो ।

 घरमा नै बस्नुभएकी उनलाई केही दिनदेखि ज्वरो आउने, रुघा लाग्नेलगायत लक्षण देखापरेपछि उनको परिवार मङ्गलबार अञ्चल अस्पतालको सम्पर्कमा आएको थियो । बिरामीको परिवारले अस्पतालमा सम्पर्क गरेर उनी बिरामी रहेको जानकारी गराए पनि सुरक्ष कवचका अभावमा कोरोना परीक्षणका लागि नमूना सङ्कलन गर्न कठिन भएको अस्पतालका डा. पूजन मल्लले जानकारी दिनुभयो । सुरक्षा कवच नभएकै कारण अस्पतालको आइसोलेशन कक्षसम्म उनलाई ल्याउन नसकिएको हो ।

सुरक्षा कवच नलगाई बिरामीलाई आईसोलेशन वार्डसम्म ल्याउन नमिल्ने र स्वास्थ्यकर्मीसमेत बिरामीको नजीक जान नमिल्ने भएकाले समस्या भएको डा बल्लले बताउनुभयो । अस्पतालमा रहेका दुई थान सुरक्षा कवच सोमबार नै अस्पतालमा आएका बाग्लुङ नगरपालिकाकै अर्का बिरामीको स्वाब सङ्कलनमा प्रयोग भएको थियो । 

 अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले मङ्गलबार अपराह्न गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग पहल गरेर पाँच थान सुरक्षा कवच प्राप्त गर्नुभएको छ । पोखराबाट बाग्लुङ आउन समय लाग्ने भएकाले आज बिहानसम्म ती महिलाको घाँटीको स्वाब लिन सकिने अस्पतालले जनाएको छ । डा बल्लका अनुसार ती महिलालाई आज बिहान मात्रै आइसोलेशन वार्डमा लिन सकिने छ । मङ्गलबार भने ती बिरामी महिला घरमा नै क्वारेन्टाइनमा छिन् । जिल्लामा शङ्कास्पद बिरामी देखिन थालेपछि ३० थान सुरक्षा कवच तत्काल खरीद गर्ने तयारीमा रहेको अस्पतालले जनाएको छ ।