विरोध र दवावपछि  अस्पताल खुल्यो

विरोध र दवावपछि  अस्पताल खुल्यो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र १२, २०७६

बाग्लुङ।   चौतर्फी विरोध भएपछि कोरोना भाइरस सङ्क्रमणले समस्या बढाएकै बेला बन्द भएको बाग्लुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मङ्गलबार रातिदेखि खुलेको छ । मङ्गलबार दिउँसो  अस्पतालको ढोकामा सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरिएको जानकारी गराएको थियो ।

 कोभिड –१९ परीक्षणलगायत सामग्री नभएकाले अस्पताल बन्द गरिएको उक्त सूचनामा उल्लेख थियो भने अस्पतालका अध्यक्ष सन्तोष रावलले सुरक्षा सामग्री नभएको र अस्पतालका कर्मचारीले काम गर्न नमानेकाले बन्द गर्न बाध्य भएको वताउनुभएको थियो । उहाँले सरकारी अस्पतालमा सामग्री र बीमाको कार्यक्रम हुने तर निजीमा नहुने भएकाले चिकित्सक तथा कर्मचारीले काम गर्न नमानेको रासससँग बताउनुभएको थियो । राससमार्फत अस्पताल बन्द भएको समाचार सार्वजानिक भएपछि सङ्कटको बेला अस्पताल बन्द गरेकामा चौतर्फी विरोध भएको थियो ।

सर्वसाधारणले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए भने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बन्द गर्ने कार्य गैरजिम्मेवार भन्दै तत्काल कारवाही गरिने चेतावनी दिएपछि अस्पताल सञ्चालनमा आएको हो । नगरप्रमुख पौडेलको चेतावनी र सामाजिक सञ्जालमा सर्वसाधारणको ब्यापक विरोध भएपछि मङ्गलबार रातिदेखि अस्पताल खुलेको सूचना व्यवस्थापनले आफ्नै सूचनापाटीमा टाँस गरेको छ ।