कोरोना कहर : अफवाह, यथार्थ र सचेतना
चैत्र १२, २०७६

कोरोना भाइरस के हो ? यसको सत्य के हो ? हामीमा के कस्ता त्रासहरू छन् र भोगिरहेका छौँ ? केके मिथहरू आइरहेका छन् ? वास्तविकता के हो ? सामाजिक सञ्जालमा आएका विषय कति सही छन्, कति गलत छन् ?

आज  विश्वका आममानिसहरूलाई यी प्रश्नहरूले मन मस्तिष्कमा नराम्रोसँग ढ्यांग्रो ठोकिरहेका छन् । 

विज्ञानले के भन्छ ? जस्ता विषयमा पनि केही जानकारी अति आवश्यक भइसकेको छ । डा. पीडी भुटियाको आधिकारिक धारणा, अन्य डाक्टरहरू तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का आधिकारिक विषयलाई समावेश गरेर यो आलेख तयार गर्ने जमर्को गरिएको छ । 

चीनको शहर वुहानको एउटा मासु पसल, जहाँ जंगली जनावर तथा कुकुर, विरालो जस्ता जनावरको मासु बिक्री वितरण हुने गर्थ्यो । त्यो पसलबाट खरिद गरेर लगेको मासु खाँदा एक्कासि त्यहाँ एक प्रकारको रोग फैलिन थालेको र मानिसहरू बिरामी पर्न थालेका थिए । 

सुरुमा के कारणले यस्तो भयो भन्ने विषय निकै खोज, अनुसन्धानको विषय बन्यो र बन्नु स्वाभाविक पनि हो । सन् २०१९ को अन्त्यतिर सुरु भएको हुनाले यो रोग वा माहामारीको ‘कोभिड- १९’ को नामकरण गरिएको थियो ।  समान्यत: कोरोना जनावरबाट जनावरमा सर्ने एक खालको भाइरस हो । तर, जब जनावरबाट मानिसमा यो फैलिन थाल्यो अनि विश्वलाई निकै तरंगित र उथलपुथल बनाउने गरी फैलिइरहेको छ । 

यो संसारकै नयाँ प्रकृतिको भाइस भएकाले यसलाई नोभल भाइरस पनि भनिँदै छ । विभिन्न प्रकारका भाइरसहरू हाम्रो पूरै वातावरणभरी रहेका हुन्छन् तर कतिपय भाइरसहरू सामान्य उपचारमै ठीक हुने र यसको विश्वव्यापी प्रकोप नदेखिने हुनाले ती अनगिन्ती भइरसहरूको चर्चासम्म हुँदैन । भाइरस दुई प्रकारका हुन्छन्- एउटा डीएनए र अर्को आरएनए । यो कोरोना भाइरस आरएनए भाइरस वर्गमा पर्छ ।  

यो संसारकै नयाँ प्रकृतिको भाइरसको रूपमा देखिएको छ । यो भाइरसले जबसम्म कुनै जीवित सेल पाउँदैन, तबसम्म केही असर गर्दैन तर जब कुनै जीवित सेलमा यसले प्रवेश गर्छ, तब यो सक्रिय हुन थाल्ने यसको विशेषता हो । यो भाइरसले मेडिकल साइन्समा एउटा झड्का र चुनौतीसमेत दिइरहेको छ । 

यसको लक्षण भनेको सर्दी, खोकी, नाकबाट पानी चुहुनु, ज्वरो आउनु आदि हुन् । जसलाई अगाडिकै बिमार छ, उनीहरूलाई र ६० वर्षमाथिका मानिसलाई यसले बढी आक्रमण गर्दा न्युमोनिया हुने र भेण्टिलेटरमा जाने संभावना हुन्छ । अहिले आममासिनहरूलाई संसारभर आक्रमण गरेको छ यसले ।

रोकथामका लागि सरकारले थर्मल स्किलिङ गर्ने, बोर्डर सिल गर्ने, एउटा प्रभावकारी जग्गालाई क्वारेन्टाइनका लागि तयारी गर्ने, एयरपोर्टमै १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने, बिराम लागेको दुई दिनदेखि छ दिनमै यसको लक्षण देखिन्छ । १४ दिनसम्म पनि देखिन सक्छ । १४ दिनसम्म आइसोलेसनमा बस्नु सबै भन्दा महत्वपुर्ण हुन्छ । 

तर, ‘कोभिड- १९’ बाट मत्यु हुनेको संख्याचाहिँ अन्य विभिन्न कारणले दैनिक हुने मृत्युभन्दा कम रहेको छ । दैनिक हुने रोड एक्सिडेन्टभन्दा ‘कोभिड- १९’बाट हुने मृत्युदर ज्यादै कम छ । इन्सेफ्लाइटिसबाट विश्वमा जति मृत्य हुन्छ, त्योभन्दा धेरै कम ‘कोभिड- १९’ बाट भएको देखिन्छ । भन्न खोजेको के हो भने यो संख्यालाई लिएर हामी आतंकित भइहाल्नुपर्छ भन्ने पनि होइन । अहिलेको सवाल भनेको कसरी सुरक्षित हुने, सावधानी अपनाउने भन्नेचाहिँ पक्कै हो  ।

खासमा यसको विभिन्न प्रकारका मिथकहरू पनि आइरहेका छन् । हामी चाहिनेभन्दा बढी आतंकित पनि भइरहेका छौँ । यसका बारेमा कसैले मासु खानुहुँदैन भनेका छन् । कसैले अल्कोहल खानुपर्ने भनेर कतिले रक्सी सेवन गर्न थालेको देखिन्छ तर त्यो गलत हो । हामी यी विषयमा ज्यादै दुविधामा छौँ । तर, यस अवस्थामा हामीले कसको विश्वास गर्ने त भन्दा एउटा आधिकारिक संस्था हो- विश्व स्वास्थ्य संगठन । यसको साइटमा जाने, हेर्ने । हाम्रो देशको सरकारी स्वास्थ्य निकायबाट प्राप्त सूचनाहरूलाई आधिकारिक मान्ने ।

अब रोकथाम कसरी गर्ने ?

‘कोभिड- १९’ का बारेमा राज्यले के गर्दै छ ? जस्तै : चाीनले वुहान शहर पूरैलाई क्वारेन्टाइनमा राखेर उपचार गरिरहेको छ । एक शहरको मान्छे अर्को शहरमा र अर्को शहरको त्यो शहरमा आउन नदिई उपचार गरिरहेको छ । सुरक्षित तरिकाले जाँच गरेर, राम्रो सल्लाह सुझाव दिएर कसलाई कहाँ बस्न उचित छ, प्रष्ट भनिएको अवस्था छ । 

विश्वभर एरपोर्टमा सावधानी अपनाउने सूचनाहरू अत्यधिक रूपमा संप्रेषण भइरहेका छन् । चिन्ताको विषय यो छ कि आज मानिसको गतिलाई रोक्न सकिँदैन । जब मानिसको गतिलाई रोकिन्छ, तब देशको अर्थतन्त्रमा निकै ठूलो संकट आउन थाल्छ । जस्तै : अहिले आउन थालेको छ । 

रोकथामका लागि सरकारले थर्मल स्किलिङ गर्ने, बोर्डर सिल गर्ने, एउटा प्रभावकारी जग्गालाई क्वारेन्टाइनका लागि तयारी गर्ने, एयरपोर्टमै १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने, बिराम लागेको दुई दिनदेखि छ दिनमै यसको लक्षण देखिन्छ । १४ दिनसम्म पनि देखिन सक्छ । १४ दिनसम्म आइसोलेसनमा बस्नु सबै भन्दा महत्वपुर्ण हुन्छ । 

व्यक्तिगत रूपमा हात धुने, त्यो पनि प्रक्रियासंगत तरिकाले धुने, भनिन्छ- कुनै टेबलमा संक्रमितले हाच्छिउँ गर्दा ४८ घण्टासम्म त्यो भाइरस जीवित रहन्छ र अरूलाई संक्रमण गर्ने संभावना हुन्छ । 

सामान्य सबैलाई हात धुने पाँच तरिका सिकाउनुपर्छ । सबै कार्यालयहरूमा बायोमेट्रिक एटेन्डेन्स गर्नुहुँदैन । हाम्रो संस्कृतिमा नभएको जुन अँगालो मार्ने र हात मिलाउने संस्कृति छ, त्यो पूर्ण रूपमा बन्द नै गर्नु जरुरी छ । 

अहिले मानिसबाट मानिसमा यो रोग सरिरहेको हुन्छ । हामीले कमसे कम ७ सय पटक हातले हाम्रो अनुहार छुन्छौँ,  त्यो थाहा नपाई पनि छुन्छौँ । हामीले हात सेनिटाइजरले सफा गर्ने बानी सिक्नै पर्छ । अहिले बजारमा मास्क सबैले लगाउने गरेको देखिन्छ ।

तर, मास्क कतिबेला, कस्तो र कसले लगाउनुपर्छ, त्यो थाहा हुनुपर्छ । मास्म पनि कसरी लगाउने, सिक्नुपर्छ । सामान्य कुराहरू हुन् तर प्रयोग गर्न सकिएन वा जानिएन भने त्यसको कुनै अर्थ छैन । 

जस्तैः मास्कलाई फोहोर हातले समायो भने यसको कुनै अर्थ हुँदैन । मास्क सबैले लगाउनुपर्दैन, जो रोगी हो, उसले मात्र लगाउने हो । 'हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु' भनेजस्तै अहिले यो समय हुलमुलमा नजाने, आफूले आफैँलाई बुझ्ने रोग आएको छ । हामीले सोच्नै पर्छ । आत्तिने होइन । 

हामी गाउँ जाँदा यस रोगबाट बचिन्छ भनेर अहिले रातारात गाउँ फर्किंदै गरेको जमात पनि बढेको छ । यो पनि गलत नै हो । यो जहाँ जुनसुकै ठाउँमा पनि लाग्न सक्छ । सबैभन्दा बढी हामीमा यससम्बन्धी चेतना हुनु जरुरी छ । 

अर्को कुरा, सचेततापूर्वक यो रोग लागेमा पनि हामीले उचित केयर गरियो भने रोकथाम हुन्छ । पहिला टीबी रोग कति भयावह थियो ? त्यो रोेग लागेको घरमा मानिसहरू चियासमेत खाँदैनथे तर पछि यस रोगको उपचार भयो । धेरै रोगको दबाइ थिएन । जस्तै : हेपाटाइटिस बी, हेपाटाइटिस सीको उपचार थिएन तर आयो त पछि । 

त्यसैले हामीले हतास हुनुहुँदैन, यसको पनि समाधान हुन्छ । मेडिकल साइन्सले अध्ययन गरिरहेको छ । उपाचार संभव छ ।

कस्तो बिरामीलाई जाँच गर्ने ?

पहिलो, जुन मान्छे भाइरस प्रभावित देशबाट आएको छ र उसलाई रोगका लक्षणहरू देखिएका छन् भने जाँच गर्ने ।

दोस्रो, जो मान्छे आफू त्यो देश गएको छैन तर त्यो देशबाट  आएको मान्छेको घरमा गएको छ भने, खाए, बसेको छ भने गर्ने । तेस्रो, कोहीसँग गएको छैन तैपनि लक्षणहरू देखिएका छन् भने जाँच गर्ने ।

अन्तत: यो देश, जनता र संसारका मानिसहरूको विषय हो । हामीलाई अहिले चिनियाँ देख्दा पनि या चीनबाट आएको मान्छे देख्दा पनि अलिक डर, शंका लाग्छ । तर, यो पनि गलत कार्य हो । नेपालकै खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको वडा नं.- १० पाथेकामा चीन पढ्न गएर फर्किएर आएको एक जना विद्यार्थीको विषयलाई लिएर निकै ठूलो हल्ला भयो । सावधानी अपनाउनु ठूलो कुरा हो तर यो रोगलाई लिएर आवसी सद्भाव बिगार्नु निकै मनोवैज्ञानिक असर पर्ने विषय हो । हामी यी विषयमा सचेत हुन जरुरी छ । 

युट्युबलगायत विभिन्न सञ्जालहरूले यो समय सही सूचना दिने, तीनै तहका सरकारले जिम्मेवार तरिकाले देश र नागरिकको स्वास्थ्य र दैनिक जीवनसम्हग जोडिएका विषयमा संवेदनशील हुने समय हो । 

हाम्रोमा जुनसुकै यस्ता प्रकोप र महामारी आउँदा लुट्ने र कमाउने गिरोह नै हुन्छन् । अहिले हामी सबैले बाँच्ने र बचाउने समय हो । अप्रिल १९ मा विश्व ध्वस्त हुनेदेखि केके हल्ला सुनिन्छ तर विज्ञानले ल्याएका तथ्यभन्दा अन्य गलत विषयमा हामी पछि लाग्नुहुँदैन । बेकारको तनाव हुन्छ । 

यसले अन्य समस्याहरू निम्त्याउँछ । परिवारमा चेतना, गाउँमा, समाजमा सकेको सहयोग र सही सल्लाह दिऔँ । गलत कुरा नगरौँ । यसैमा हामी सबैको भलाइ छ । 


लेखकः स्मार्ट माइक्रो रिसर्चका संस्थापक अभियन्ता तथा  जनसांस्कृतक महासंघ नेपाल केन्द्रीय सदस्य हुनुहुन्छ ।