सुनसान बजार, अनुगमन बढाउन जनप्रतिनिधीको आग्रह

सुनसान बजार, अनुगमन बढाउन जनप्रतिनिधीको आग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १२, २०७६

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन र निगरानी गर्न मकवानपुरका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । लकडाउनको अवज्ञा भएको र बाहिरबाट आएकाले स्वास्थ्य जाँचबिना नै घरमा जान थालेपछि जनप्रतिनिधिलाई त्यसमा सचेत हुँदै निगरानी राख्न उहाँले आग्रह गर्नुभएको हो ।
कोभिड–१९ को सचेतनाका लागि स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधि वडाध्यक्ष, सदस्यलगायत टोल विकास संस्थालाई आ–आफ्नो स्थानीय तहका वडाका घर÷घरमा पुगेर बाहिरबाट टोलमा अएका तथा विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन गर्न प्रमुख खुलालले अग्रह गर्नुभएको उहाँको प्रेस संयोजक विवश अधिकारीले जानकारी दिनुभयो । 
कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनले हेटौँडा बजार आज दोस्रो दिन पनि सुनसान भएको छ । फाटफुट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । किनमेलका लागि खासगरी साँझ बिहानपख पसल खुल्ने र ग्राहकको भीड लागेको देखिन्छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा सुरक्षका लागि खटिएका छन् । सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेतसमेत गराइएको छ । उता कोरोना भाइरसको प्रकोपबाट सचेत रहन स्थानीय प्रशासन र हेटौँडा उपमाहानगरपालिकाले माइकिङ गरेका छन् । 
 साथै स्थानीय प्रशासनद्वारा हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन कक्ष तथा अस्पतालमा उपचारका लागि व्यवस्था गरेको छ । त्यस्तै हेटौँडामा रहेको उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द छन् । अलपत्र परेका लामो दूरीका सवारी साधनलाई जाने व्यवस्थासमेत गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।