गाउँ गाउँमा सचेतनाका कार्यक्रम

गाउँ गाउँमा सचेतनाका कार्यक्रम

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र १२, २०७६

विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न बैतडीका स्थानीय तहले पनि सतर्कता अपनाएका छन् । सङ्क्रमणबाट बच्न जिल्ला बाहिर तथा अन्य देशबाट फर्किएका नागरिकलाई स्थापना गरिएका हेल्थ डेस्कमा जाँच गर्ने, सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्ने, माइकिङ गरेर सन्देश प्रवाह गर्नेलगायतका कार्य भइरहेका छन् । 
गाउँगाउँमा गएर वडा कार्यालयले जनचेतनामूलक कार्यक्रम गरिरहेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो ।  मेलौली नगरपालिकाले पनि घरदैलोमै गएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोलीले घरदैलोमै गएर जनचेतना जगाउने कार्य गरिरहेको मेलौली नगरपालिका–५ का वडाध्यक्ष बलभद्र दयालले बताउनुभयो ।  
दशरथचन्द नगरपालिकाले पनि वडास्तरबाटै जनचेतनामूलक कार्यक्रम अगाडि बढाएको उपप्रमुख मीना चन्दको भनाइ छ । वडा नं २ का वडाध्यक्ष रनबहादुर बोहराका अनुसार घरदैलोमै गएर सचेतनाका कार्यक्रम सञ्चालन भइरहेका छन् । वडाका सम्पूर्ण जनप्रतिनिधिको टोली घरदैलोमै पुगेर सचेतना फैलाउनाका साथै प्रतिपरिवार दुई वटाका दरले साबुनसमेत वितरण गरिएको छ । हात धुनका लागि उत्प्रेरणा मिलोस् भनेर साबुन वितरण गरिएको वडाध्यक्ष बोहराको भनाइ छ ।   
पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि कोरोना भाइरसविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएका छन् । यसका साथै जिल्ला प्रहरी कार्यालयले पनि माइकिङबाट सचेतनामूलक सन्देश प्रवाह गरिरहेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।