शोधकर्ता, वैज्ञानिक  र राष्ट्राध्यक्षहरुका आ-आफ्नै पूर्वानुमानः कोरोना सङ्क्रमण नियन्त्रण कहिले ?

शोधकर्ता, वैज्ञानिक  र राष्ट्राध्यक्षहरुका आ-आफ्नै पूर्वानुमानः  कोरोना सङ्क्रमण नियन्त्रण कहिले ?

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  चैत्र १३, २०७६

अहिले विश्व कोरोना भाइरस कोभिड १९ र यसको सङ्क्रमणबाट आतङ्कित भइरहेका छ ।विश्वका धेरैजसो सहरहरू सुनसान भइरहेका छन् र कतिपय देशहरू लकडाउनको अवस्थामा छन् ।

हालसम्मको तथ्याङ्कअनुसार ४ लाख  भन्दा बढी मानिसहरू यसबाट सङ्क्रमित भइसकेका छन् र २० हजारभन्दा बढीको त मृत्यु भइसकेको छ ।

हालसम्मको आँकडाअनुसार इटालीमा ७ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । र, स्पेन तथा इरानमा पनि मृत्युदर बढ्दैछ । सुरुमा चीनको वुआन सहरबाट फैलिएको यो  भाइरस सम्पूर्ण विश्वभर फैलिसकेको छ । चीनमा यश भाइरसको फैलावटलाई नियन्त्रणमा लिइएता पनि युरोपमा महामारीको रूपमा विस्तार भइरहेको छ । युरोपका राष्ट्रहरू इटाली, फ्रान्स, स्पेन, पोर्चुगल, जर्मनी , स्वीजरल्याण्ड, नर्वे, बेलायत हुँदै अमेरिका तथा क्यानडासम्म फैलिसकेको छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुरुमा १ लाख व्यक्तिहरूलाई सङ्क्रमित हुन ६७ दिन लागेको थियो । त्यसपछि थप १ लाख सङ्क्रमित हुन ११ दिनको समयवधी लागेको छ । त्यसपछि थप १ लाख व्यक्ति सङ्क्रमित हुन जम्मा ४ दिन लागेको अवस्था छ । 

यही गतिले सङ्क्रमित हुने हो भने छोटो समयमा नै विश्वभरका करोडौँ मानिसलाई सङ्क्रमित हुने निश्चित प्राय छ । त्यस कारण  विश्व समुदाय, सरकार तथा नागरिकहरू सचेत भई महामारी फैलनुबाट नियन्त्रण गर्न जरुरी भइसकेको छ ।

सामान्यतया कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिहरूमा रुघा खोकीका जस्ता लक्षणहरू देखा पर्दछन् । बढी मात्रामा खोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वास तथा फोक्सोमा समस्या देखिने निमोनियाका लक्षणहरू देखिन सक्छन् । यस महामारीबाट बच्न सर्वप्रथम सुरक्षात्मक रणनीति नै उत्तम हुन्छ र ‘सोसियल डिस्ट्यान्सिङ्ग’ रहनु नै बेस हुन्छ । धेरै जसो राष्ट्रहरूले सङ्क्रमणको शङ्कास्पद व्यक्तिहरूलाई सुरुमा क्वारेन्टाइनमा राख्ने, सङ्क्रमित व्यक्तिलाई आइसुलेसन गर्ने र गम्भीर प्रकृतिका व्यक्तिहरूलाई उच्च सतर्कताका साथ उपचार गर्ने विधि नै अपनाइरहेका छन् ।

वैज्ञानिकहरूका धारण अनुसार आउँदो तीन महिनामा सङ्क्रमणको सङ्ख्या कमी आउन थाले पनि यसको अन्त्य निकै टाढा रहेको बताउँछन् । भाइरस फैलन रोक्नका निम्ति कम्तीमा ६० प्रतिशत मानिसलाई प्रतिरोधी क्षमता बढाउनु पर्ने र यसको निम्ति खोप विकाश गर्नु पर्ने हुन्छ ।  तर, हालको अवस्थामा हेर्दा करिब  १ वर्ष लाग्न पनि सक्छ ।

अहिले धेरै जनाको मनमा प्रश्न उठ्छ । काेरना ‍ भाइरसकने नियन्त्रण कहिले हुन्छ ? तर स्पष्ट जवाफ दिन त परै जाओस अनुमानसम्म कसैले गर्न नसकेको अवस्था छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन बेलायतीहरूलाई आश्वस्त पार्न १२ हप्ताभित्र नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरिरहेका छन् ।  त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अप्रिल महिनाभित्र नियन्त्रण हुने अनुमान गरिरहेका छन् । केही डाक्टर तथा वैज्ञानिकहरू पनि गर्मी मौसममा यसको प्रभाव घट्न सक्ने अनुमान व्यक्त गरिरहेका छन् ।

यसै सिलसिलामा सनयेतसेन विश्वविद्यालय गन्जाउका सोधकर्ताको अध्ययन अनुसार कोभिड १९ को सङ्क्रमण चिसो तापक्रममा बढी फैलने सम्भावना व्यक्त गर्दछन् । त्यस कारण चिसो तापक्रम ५ देखि १६ डिग्री सेल्सियस भएका राष्ट्रहरूले अति नै सावधानी अपनाउनु पर्ने सुझाव दिन्छन् । 

सामान्यतया हाल यी भाइरसका सङ्क्रमण चिसो मौसम भएका राष्ट्रहरू जस्तै चीन, दक्षिण कोरिया, जापान, इटाली, स्पेन, इरान, जर्मनी, फ्रान्स, अमेरिका, क्यानडा जस्ता देशहरूमा बढी रूपमा फैलिरहेको छ । 

अमेरिकाको पनि न्युयोर्क, वासिंङटन तथा कोलेराडो जस्ता उत्तरी अमेरिकी भूभागमा बढी फैलिरहेको छ र कम गतिमा दक्षिणी भूभाग ओरिजिना, फोलाेरिडाया तथा टेक्ससमा फैलिरहेको छ । मेक्सिकोमा पनि क्यानडाको तुलनामा कम रूपमा फैलिरहेको छ ।

तर यो धारण पनि पूर्ण रूपमा सत्य नहुन सक्छ । गर्मी राष्ट्रहरू जस्तै साउदी अरब, कतार, मलेसिया जस्ता देशहरूमा पनि फैलिरहेको छ । एमआइटीका अनुसन्धानकर्ता क्वासिम बकरी र र युसफ को भनाई अनुसार गर्मी मौसममा यसको फैलावट कम भए पनि पूर्ण रूपले नियन्त्रण हुन सक्दैन ।  यस्तै अनुसन्धानकर्ता मिगड्युल र बवाकले स्पेन र प्रर्चुगलमा गरेको अनुसन्धानअनुसार चिसो मौसममा केही हदसम्म भाइरसको फैलने सम्भावना बढी हुन्छ । 

यस्तै हावर्ड विश्वविद्यालयका सोधकर्ताका अनुसार भाइरस फैलनुमा तापक्रम मात्र नभइ आर्दताको पनि ठुलो भूमिका हुन्छ । सामान्यतया चिसो तथा कम आर्दता अथवा सुख्खा मौसममा बढी मात्रामा फैलन सक्छ । 

वैज्ञानिक यस कुरामा सहमत छन् कि ! भाइरस फैलनुमा १. वातावरण २.  मानवजन्य व्यवहार ३.  मानवीय क्षमताको ठुलो भूमिका हुन्छ ।  वातावरण अन्तर्गत यस क्षेत्रको तापक्रम, आर्द्रता, भूगोल आदि कारण हुनसक्छ । त्यससँगसँगै अन्य भाइरसको उपश्थिति पनि कोरोना भाइरसको फैलावटमा असर गर्दछ । 

मानवजन्य व्यवहार अन्तर्गत सामाजिक क्षेत्र तथा चहलपहल, सामाजिक व्यवहार पर्दछन् । जुन क्षेत्रमा कम सामाजिक चहलपहल हुन्छ, त्यस क्षेत्रमा कमै फैलने सम्भावना छ । मानवीय रोग प्रतिरोध क्षमता पनि भाइरसको सङ्क्रमण हुने क्षमतामा ह्रास ल्याउँछ । त्यस्तै एउटै कारणले मात्र भाइरस फैलन सम्भावना रहँदैन । 

कोरोना भाइरस अन्य भाइरस सार्स, मर्स तथा इन्फ्लुएञ्जासँग तुलना गर्दा यसको प्रकृतिसँग तुलना गर्नु पर्ने हुन्छ ।  भनिन्छ कि सार्स भाइरस बिरालोबाट मानिसमा सरेको थियो र यसको प्रभावबाट सन् २००३ तिर विश्वभर केही मानिसको मृत्यु भएको थियो । यो भाइरसबाट हुने मृत्युदर कोरोना भाइरसबाट भन्दा बढी थियो । तर यस्को प्रभाव चाडै नै देखिने हुँदा नियन्त्रण गर्न सकियो । नोभेम्बर तिर देखिएको सार्स भाइरस जुलाइसम्म नियन्त्रणमा आएको थियो । यस भाइरसको भ्याक्सिन र औषधि उपलब्ध भएकाले यसको खतरा केही हदसम्म टरिसकेको थियो । यस्तै प्रकारले उँटबाट मनुष्यमा सरेको मर्स भाइरस अरबी राष्ट्रहरूबाट फैलिएता पनि चाँडै नै नियन्त्रणमा आउन सक्यो । यस्तै प्रकारले एचआइएनएल भाइरस पनि कोरोना भाइरसभन्दा चाडै नै फैलने भएता पनि मृत्युदर अति न्यून तथा यसको औषधि र भ्याक्सिन उपलब्ध भएकोले खासै डरलाग्दो छैन ।

यसरी सरसर्ती हेर्दा कोरोना भाइरस सार्स तथा मर्स भाइरस जस्ता बढी प्राण घातक नभएता पनि जुन गतिले विश्वभर फैलिरहो छ, यसले सबैलाई चिन्तित तथा आतङ्कित बनाइरहेको छ । सबैजसो राष्ट्रहरू सुरक्षात्मक रणनीति अपनाउन बाध्य पारेको छ । कतिपय राष्ट्रहरूले लकडाउनको रणनीति अपनाएका छन् । 

हुन त लकडाउन रणनीति पनि लामो अवधि गर्दा सामाजिक तथा आर्थिक समस्याहरू देखिन सक्दछन् । त्यही पनि सरकार बाध्य भएर यो रणनीति अपनाइ रहेका छन् ।

 भाइरसको महामारीको प्रकोपको अध्ययन गर्दा गर्मी तथा बढीआर्दता भएका समयमा भाइरस फैलने गति कम हुने हुँदा धेरै जना आशावादी छन् कि जुन जुलाई सम्ममा कोरोना भाइरस नियन्त्रण हुन सक्छ । थर यो धारणा पूर्ण रूपले सत्य चाहिँ हैन । 

अहिलेको अवस्थामा सुरक्षात्मक रणनीति नै अपनाउनु पर्ने हुन्छ । यति हुँदाहुँदै पनि विभिन्न वैज्ञानिकहरूका धारण अनुसार आउँदो तीन महिनामा सङ्क्रमणको सङ्ख्या कमी आउन थाले पनि यसको अन्त्य निकै टाढा रहेको बताउँछन् । भाइरस फैलन रोक्नका निम्ति कम्तीमा ६० प्रतिशत मानिसलाई प्रतिरोधी क्षमता बढाउनु पर्ने र यसको निम्ति खोप विकाश गर्नु पर्ने हुन्छ ।  तर, हालको अवस्थामा हेर्दा करिब  १ वर्ष लाग्न पनि सक्छ ।

हालको अवस्थामा सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ  । सङ्क्रमणको दर कम भएको अवस्थामा पनि सामाजिक तथा आर्थिक क्रियाकलापहरू संयम तथा धैर्यपूर्ण गर्नु पर्ने हुन्छ । आशा गरौँ, अन्य भाइरसको प्रकृती अनुसार गर्मी समयमा कोरोना भाइरसको पनि फैलावट कम भएर हामीहरू सामान्य अवस्थामा फर्कन सकौँ । ईश्वरसँग यही प्रार्थना गरौँ ।